जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, August 23, 2010

लाज ठूलो कि रोग

'म सँग हिँड्ने भए हिँड् नत्र घर आउनु पर्दैन ।' अन्दाजी ४० वर्षको मानिसले करिब ३३ वर्षकी महिलालाई हातमा समातेर तानेको हेर्नेको भिड नै लाग्यो जिल्ला अस्पताल
स्याङजामा । केही महिला कराए, 'उपचार पनि गर्न नदिएर मार्न आँटेको ।' ती महिलाहरूको प्रश्नमा लोग्नेमानिस बोले, 'मेरा खेताला तिमीहरूले तिर्दिन्छौ ?' उनले त्यसपछि लगातार कराए, 'अझै १० र १२ वटा खेताला तिर्नु छ, काम कसले गर्दिन्छ ।'

उनी आङ खस्ने रोग भएकी श्रीमतीलाई अप्रेसन गर्न नदिन अस्पतालमै लिन आएका रहेछन् । कारण अप्रेसनपछि उनका घरमा काम गर्ने मानिस हुँदैनन् । उनलाई रोगले कैयौं वर्षसम्म थलिएकी श्रीमतीको भन्दा बढी पीर खेताला तिर्नको थियो । अस्पतालमा उपचारमा आएका सबै महिलाले मात्र होइन डाक्टरले पनि सम्झाए । कसैको केही नलागेपछि महिलाहरूले श्रीमतीलाई अप्रेसन गर्न नदिए कालो मोसो लगाएर बजार डुलाउँछौं भनेर धम्कीको भाषै प्रयोग गरे । त्यसपछि ती महिलाको अप्रेसन त भयो तर उनले घरमा कस्तो स्याहार पाइन् होला शंका छ । आफ्नै श्रीमतीको उपचार गर्नका लागि अरूले कालो मोसो लगाउने धम्की दिनुपर्छ भने हामी कुन अवस्थामा छौ ? स्याङजा पुतलीबजारकै यी बासिन्दाको त यो हविगत छ भने अनकन्टार ग्रामीण भेगका बासिन्दाको अवस्था के होला जो अस्पतालको पहुँचभन्दा निकै टाढा छन् ।

जिल्ला अस्पतालमा निःशुल्क उपचार गर्न पाउँदा समेत सबैले श्रीमान्लाई धम्क्याउनुपर्‍यो भने नदेखिएका अरू समस्या त कति छन् कति तर सबभन्दा बढी देखिएकै समस्या हो लाज । कोही उपचार नपाएर थलिएका छन् त कोही रोग लुकाएर । जिल्ला अस्पतालमा चलेको एउटै शिविरमा १ सय ४७ जनाले अप्रेसन गरे । तीमध्ये अधिकांशका श्रीमान् धनाढ्य र छोराछोरी नाम चलेका बुद्धिजीवी थिए । तिनीहरूले आफूलाई कम्तीमा ३ वर्षदेखि १५ वर्षसम्म पुरानो रोग भएको बताए । उनीहरूले बढी लाजको कारण घरमा नभनेको बताए । छोराछोरीलाई त परै जाओस् यी महिलाको समस्या स्वयं आफ्नै श्रीमान्लाई पत्तो थिएन । यसकारण के बुझ्न सकिन्छ भने आफ्नी श्रीमतीको समस्याप्रति श्रीमान् नै हेलचेक््रयाइँ गर्छन् या चासै राख्दैनन् । दोष श्रीमान्को मात्र होइन श्रीमती पनि यसमा सचेत छैनन् ।

अप्रेसन गर्न आएकामध्ये पनि नजिक शिविर भएका कारण घरका मानिसलाई नभनी जान पाएकाले रोग भएको खुलासा भएको थियो । अप्रेसन गरेर बेडमा सुतेपछि मात्र आफन्तले चाल पाएका थिए । शिविरमा आउने ९५ प्रतिशतले लाजको कारण रोग लुकाएर पहिला उपचार नगराएको बताए । १५ वर्षदेखि रोग लागे पनि लाजका कारण अहिलेसम्म भन्न नसकेको अर्जुनचौपारीकी भागिरथी जिसीले बताइन् । उनले भनिन्, 'कोसँग भन्नु यस्तो कुरा लाज हुन्छ ।' जिल्लामै शिविर चलेको थाहा पाएपछि एकछिन बजार जान्छु भनेर आएकी' उनले अप्रेसन गर्ने पक्का भएपछि घरमा खबर गरेकी थिइन् ।

आर्थिक अभाव, अप्रेसन गर्ने अस्पताल टाढा भएका कारण पनि महिलाले यो सुविधा पाएका छैनन् । विनायक अस्पतालका सर्जन डाक्टर धमेन्द्र सिंह भन्छन्, 'बढीले त लाज मानेर रोग लुकाएका छन्, त्यसैले कति त आङ खस्ने समस्या बढेर क्यान्सर भएको पत्ता लागेको छ ।' डाक्टर सिंहका अनुसार नेपालमा १५ लाख महिलाले आङ खसेर अप्रेसन गरेका छन् । यसमा अझै उपचार गराउन नआउनेको संख्या बढी रहेको सिंहको अनुमान छ ।

पहाडी जिल्लामा उकालोओरालोमा ठूलो भारी बोकेर हिँड्नुपर्ने, सानै उमेरमा विवाह हुने र सुत्केरीमा काम गर्ने कारण पनि यो समस्या बढी भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर तारानाथ शर्माले बताए । उनले भने, 'योबाहेक आर्थिक कारण पनि प्रमुख हो ।' आर्थिक अवस्था कमजोर हुँदा अप्रेसनपछि भिटामिन बढी खानुपर्ने, गाह्रो काम गर्न नहुने र अप्रेसन गर्ने रकम नहँुदा धेरैले उपचार गर्न पाएका छैनन् । यी समस्या त छँदै छन् तर लाजकै कारण उपचार नगर्ने र आफ्ना श्रीमतीको रोगप्रति हेलचेक्य्राइ गर्ने संस्कार हामीले कहिलेसम्म हुर्काइराख्ने ?

No comments:

Post a Comment