जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, September 22, 2010

को बढी महत्त्वपूर्ण, आमा वा पत्नी ?

'भेडा भेडासित, बाख्रा बाख्रासित' भनेझैँ मन र विचार मिलेका व्यक्तिहरू नै आपसमा साथी बन्छन् । यसको अर्थ यो होइन कि, हरेक साथी समान चरित्र र सोचाइका होऊन् । कोही बहिर्मुखी चरित्रका हुन्छन्, कोही तुलनात्मक रूपमा अन्तर्मुखी । कतिपय साथीसँगको सम्बन्ध भावनाप्रधान हुन्छ, कतिसँग विचारसामीप्य हुन्छ । लगभग वर्षदिनअघि विचारप्रधान सम्बन्ध भएका एकजना साथीसँग मेरो गम्भीर बहस भएकोे थियो । बहसको विषय थियोजीवनमा आमाको महत्त्व बढी कि पत्नीको ? संयोगले हामी दुवै अविवाहित थियौँ । हामी आफ्नो विचार लाद्ने भन्दा पनि, पारिवारिक जीवनको यथार्थ विश्लेषणमा केन्दि्रत थियौँ ।

दसैँ नजिकिँदै गरेको आजको समयमा दोहोरो यादको मारमा छु म । मलाई एकातिर ममतामयी आमाको याद ज्यादा आइरहेको छ, अर्कातिर टाढा रहेकी पि्रय जीवनसाथीको सम्झना टड्कारो भइरहेको छ । अध्ययन र करिअरका लागि म आमाबाट प्रत्यक्ष रूपमा टाढा रहेको दशक भएको छ । आत्मनिर्भरता र परिपक्वताका लागि मैले आफ्नो जीवनसाथीलाई कुराएर राखेको पनि आधा दशक भइसकेको छ । दुवैतर्फ मैले आफ्नो कर्तव्य र दायित्व इमानदारीपूर्वक निर्वाह गर्दै आइरहेको छु । आज किन फेरि, मलाई अनायास वर्षदिनअगाडिको साथीसँगको बहस याद आयो, जीवनमा आमाको महत्त्व बढी कि पत्नीको ?
'सर्जकले सृजनालाई माया गर्छ,' बहसकै क्रममा साथीले दार्शनिक पाराले भनेका थिए । उनको यो अभिव्यक्ति आमाभन्दा पत्नीको महत्त्व ज्यादा हुन्छ भन्नेतर्फ लक्षित थियो । आमा र पत्नीबाट उठान भएको हाम्रो बहस बा र छोराछोरीसम्म फैलिसकेको थियो । हाम्रो सामूहिक बुझाइ थियोहरेक बाआमालाई छोराछोरीको अधिक माया हुन्छ । तर, तिनै छोराछोरीले बाआमाभन्दा आफ्ना सन्तानलाई बढी महत्त्व दिन्छन् । तीतो लाग्ने यो मानवीय चरित्र सांसारिक यथार्थ हो, जसलाई स्वाभाविक मान्दै साथीले भनेका थिए, 'सर्जकले सृजनालाई माया गर्छ ।' यहाँ उनले हरेक पुस्तालाई सर्जक र तिनका सन्तानलाई सृजना मानेका थिए ।
गत 'भ्यालेन्टाइन डे'को दिन च्याट हुँदै गर्दा मैले मेरी जीवनसाथीलाई भनेको थिएँ, 'तिमी मर्यादाक्रममा मेरी आमाबराबर नै छ्यौ ।' सोचेँ, आमाबराबर स्थान पाएकामा पक्कै उनी खुसी हुन्छिन् । तर मैले यो सोचिनँ, उनको अपेक्षा सायद मर्यादाक्रममा एक नम्बरमै पुग्ने पो थियो कि ! अहिले म सोचिरहेको छु, मैले आफूलाई जन्म दिने, आजसम्म मेरो संरक्षण गर्ने आमाको बराबर हैसियत पाँच वर्षअगाडि मात्र भेटिएकी जीवनसाथीलाई कसरी दिन सकेँ हुँला भनेर ! मैले आफ्नी जीवनसाथीलाई आमाभन्दा बढ्ता महत्त्व दिएझैँ लाग्यो । चित्त बुझाएँ, 'सर्जकले सृजनालाई माया गर्छ ।'
थाहा छ, प्रेम नापेर गरिँदैन । तर, मैले प्रेम गर्दा मनसँगै मस्तिष्क पनि पर्याप्त खियाएको छु । जति मेरो प्रेम अगाडि बढ्दै गयो, उति मैले जीवनसाथीमा मेरो परिवारप्रतिको दायित्वबोध गराउँदै गएँ । एकदिन मैले भनेको थिएँआफ्नी जीवनसाथीसँग, 'म सब कुरा सहन सक्छु, तर आमाका आँखामा आँसु देख्न सक्तिनँ । यो कुरा याद गर ।' आफूलाई भाग्यमानी ठान्छु म, यसकारण कि मेरी जीवनसाथीले सधैँ मेरो यो मनोभाव बुझिदिइन्, बुझिरहेकी छिन् ।
आफ्नी जीवनसाथीलाई 'तिमी मर्यादाक्रममा मेरी आमाबराबर छ्यौ' भनेर मैले भन्दा उनले मलाई प्रश्न गरेकी थिइन्, 'एकातिर म, अर्कातिर हजुरको परिवार, कसको बढी महत्त्व देख्नुहुन्छ ?' प्रश्न भावोत्तेजक थियो । मैले सहजतासाथ जवाफ दिएँ, 'परिवार मेरो फाउन्डेसन हो, तिमी त्यसमाथिको बिल्डिङ । आफैँ भन, कसको महत्त्व कम, कसको बढी ?' उनको जवाफ थियो, 'फाउन्डेसन नभई बिल्डिङ बन्दैन ।' मलाई खुसी लाग्यो, उनले आफ्नो 'आधार'को महत्त्व बुझिन् ।
पुरुषलाई आमाको स्नेह र आशीर्वाद चाहिएजस्तै पत्नीको साथ र प्यार पनि चाहिन्छ । मातृस्नेह र पत्नीप्रेम पाउनु छोरा र पतिको अधिकार हो । जहाँ अधिकार, त्यहाँ कर्तव्य र दायित्व हुन्छ । आमाको स्याहार गर्नु हाम्रो कर्तव्य भएजस्तै पत्नीको संरक्षण गर्नु दायित्व हो । व्यक्तिबाट सुरु भएको मानवसभ्यता परिवार, समाज, राष्ट्र र अन्तरराष्ट्रसम्म फैलिएको हुन्छ । पारिवारिक जीवनको लामो यात्रामा हामीलाई आमाको निर्देशन जसरी अपरिहार्य छ, त्यसैगरी पत्नीसँगको सहकार्य पनि । यो कुरा आमाको छोरा र पत्नीको पति भई बसेका हरेक पुरुषले बुझ्नु जरुरी छ । पुरुषलाई छोरा र पतिको सन्तुलित दायित्व निर्वाहमा बाँच्न सघाउने मामिलामा हरेक नारीको उत्तिकै महत्त्व हुन आउँछ । नारीले बुझ्नुपर्छ— 'सास भी कभी बहू थी !'

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete