ए कवि !
सुटुक्क रातलाई बोलाएर
आज पनि कविता लेख्न बस्यौ हैन ?
बेदनारूपी महासागरमा स्खलित भएर
आज पनि त्यस्तै कविता लेख्यौ होला
रूपमतीहरुको बलात्कृत कविता,
अरबको तापमानमा सिउँडी भएका बुद्धिमानहरूको कविता,
लोग्ने छुट्याउन नसकेका गर्भिणीहरुको
कविता,
माघे जाडोमा मकै पोल्दै बेच्ने हजुरआमाहरूको कविता,
रिक्सा पेल्दै पिँध सुकाएकाहरूको कविता,
भाँडा माँझ्दै हात कुहाएका कैँयन गौँथलीहरूको कविता,
गरिबी, भोक र द्वन्द्वका सलहले सुकाएकाहरूको कविता ।
विद्वानहरूले तिम्रो कवितामा
विभिन्न वाद र प्रयोगहरु भेट्टाए
साहित्यको खेती गर्दै हिँड्नेहरुले राम्रो खुराक पाए
तिम्रै कविताको चर्चा चल्यो चारैतीर
तिमीले राष्ट्रिय सम्मान र तक्मा पायौ
तर,
बुझेनन् तिनीहरूले तिम्रो कविता
जसलाई बिम्ब, प्रतीक बनाएर लेखेका थियौ,
भावहरुका विश्रृङ्खलताका कारण
अथ्र्याउन सकेनन् तिम्रो अमूर्त कविता,
किन लेखेनौ तिमीले
सरल र सम्प्रेष्य भाषामा कविता ?
ए कवि !
साहित्य युग परिवर्तनको लागि हुनुपर्छ
व्यक्ति परिवर्तनका लागि होइन
No comments:
Post a Comment