जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, January 7, 2011

भ्रष्टाचार

-शेखर ढुंगेल- 
‘ संसारमा सबैभन्दा गरीब त्यो हो जसले लालचलाई कहिल्यै त्याग्न सक्दैन, चाहे त्यो मानपदवी नै किन नहोस्, ऊ जत्तिको भ्रस्ट अरु हुन पनि सक्दैन’ – एक सन्त
भ्रस्टाचार एउटा सामाजिक महारोग हो। यसलाई कम नगरेसम्म जस्तोसुकै व्यवस्था आए पनि र जोसुकैको नेतृत्व भए पनि देश अगाडि बढ्नैद। नेपालमा अहिले भ्रस्टाचार कै कारण प्रहरी, प्रशासन, न्यायालय, संवैधानिक निकायसमेत अर्थहीन जस्तो देखिएका छन्। यसले जनतामा
चरम नैरास्य छाएको छ, जुन भविष्यका लागि खतरनाक हुनसक्छ। जसले जे गरे पनि हुन्छ भन्ने भावना जनतामा आयो भने सम्हाल्न गाह्रो हुन्छ।
डरलाग्दो र अनियन्त्रित भ्रस्टाचारको दलदलमा फसेको छ अहिले नेपाल। यसले प्रजातन्त्रको स्थायित्वलाई समेत चुनौति दिएको छ। यस्तो अनियन्त्रित स्वरुपको भ्रष्टाचारका लागि हो भने चाहिएन हामीलाई गणतन्त्र, चाहिएन हामीलाई लोकतन्त्र भन्ने आवाज उठ्न थालिसक्यो।
वर्तमान संक्रमणकालमात्र होइन नेपालमा भ्रस्टाचार अनियन्त्रित भएको २०४८ देखि नै हो। भ्रस्टाचारका मुद्धा हेर्ने निकाय र न्यायालयसमेत भ्रस्टाचारीलाई उन्मुक्ति दिन नै प्रोत्साहित भएको आजसम्म दर्ता भएका भ्रस्टाचार सम्बन्धी मुद्दा र फैसलालाई अध्ययन गर्दा स्पस्ट हुन्छ। भ्रस्टाचारको परिभाषामा अख्तियार दुरुपयोग गरी लिनु दिनु भएको प्रमाणमात्रै पर्दैन, पदासिन व्यक्तित्वको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव र दबाबले गर्ने कामसमेत पर्दछ भनी स्पस्ट तोकेको अवस्थामा जनता, सञ्चार माध्यम अनि न्यायालयले प्रत्यक्ष देखेको अस्वाभाविक आयलाई नजरअन्दाज गर्दै अपुस्ट प्रमाण भन्दै उन्मुक्ति दिँदै आएको देखिएको छ।
हाम्रो जस्तो सानो देशमा वर्षेनी १६ अरब रुपैयाँ बराबरको रकम एनजीओ र आइएनजीओले भित्र्याइरहेको खबर छापिन्छ। तर कहाँ जान्छ त्यो रकम ? जबकि गरीबी, भोकमरी, रोगी, असहायहरुको संख्या बढ्दो नै छ। एक संस्थाको प्रतिवेदन अनुसार त्यसरी आएको रकमको १० % पनि काम हुन्न। सो रकम सुबिधा सम्पन्न कार्यालय, भाडा, सवारी साधन, पार्टी, मसलन्द र तलब मै सकिन्छ। नियन्त्रण र रेखदेख गर्ने अनि पारदर्शी गराउने कुनै प्रभावशाली संयन्त्र नेपालमा छैन।
नेपालको भ्रस्टाचार देखेर भुटानका एक प्रभावशाली नेताले भनेको कुरो सम्झना हुन्छ “हामीलाई प्रजातन्त्र त चाहिन्छ तर कतै नेपालको जस्तो भ्रस्टाचार भित्रेला भन्ने डर छ”। दशकअगाडि नै हाम्रा नेतालाई हानेको व्यंग्यवाणले उनीहरुलाई चसक्क पनि पारेन।
भ्रस्टाचार नियन्त्रणमा जुनसुकै देशमा प्रमुख भूमिका सञ्चार माध्यम, सम्बन्धित विभाग र न्यायालयले खेलेको हुन्छ। तर दुःख साथ भन्नु पर्छ यो तीनै क्षेत्रमा भ्रस्टाचारीको कालो छायाले प्रभावित पारेको छ। त्यसैले देशका मन्त्री, नेताहरु औँला ठड्याएर पत्रकारलाई धम्क्याउने गर्छन्। कारण हो “सर्पको खुट्टा सर्पले मात्र देख्छ रे। अर्थात् मिडिया क्षेत्रको भ्रस्टाचारबाट नेताहरु अनभिज्ञ छैनन्। त्यसैले नेता, मन्त्रीहरु, प्रशासकहरु मिडियासित डराउँदैनन्।
राज्यले स्थापना गरेको अख्तियार दुरुपयोग रोक्ने आयोग स्वयम अख्तियार र पदीय मर्यादा दुरुपयोग गरी बसेको छ जागिरको मायाले। यो आयोग स्वतन्त्र छैन। बुद्धि, विवेक, अधिकार नियुक्तिकर्ताकोमा बन्धकी राखी ‘गर भने गर्ने, नगर भने नगर्ने’ मानसिकता बोकी राजस्व चपाउँदै उग्राएर बसेको छ।
समग्रमा भन्नु पर्दा “भ्रस्टाचारको मूल स्रोत अर्थात् मुहान राजनैतिक नेतृत्व नै हुन्। नेतृत्व इमान्दार भएमात्र प्रशासनिक, प्रहरी, न्यायिक क्षेत्र अनि संघसंस्थाका नेतृत्व पनि इमान्दार बन्ने छन्। राजनैतिक दल र नेतृत्वले नै सम्पूर्ण राज्य संयन्त्रलाई धमिलो बनाएका छन्। जुनसुकै राजनैतिक दलबाट पनि इमान्दार निस्पक्ष सोचका नेतालाई पाखा लगाइएको छ। भ्रस्टहरुको पार्टीमा हालीमुहाली चलेको स्पस्ट देखिन्छ।
कसरी होला त नेपालमा भ्रस्टाचारको शल्यक्रिया ? कसरी उपचार होला यो सामाजिक रोगको ?
यसै प्रसंगमा पंचायत कालको अन्ततिर (४३/४४ साल) तत्कालीन सरकारले भ्रस्ट र माफियाहरुको सफाई अभियान गरेको थियो। त्यो क्रममा तत्कालीन जर्नेलदेखि पूर्व प्रहरी प्रमुखसमेत जेल पुगे, अधिराजकुमारले देश नै छोडेर हिँडे। यसै क्रममा सेनाले पक्राउ गरी बयान लिँदा तत्कालीन बागमती अंचल प्रहरी प्रमुख अच्युत चालिसेले भनेका थिए- “प्रहरीमा इमान्दार खोज्ने भए भर्खर तालिम सकेर आएको असईलाई आईजी बनाउनु पर्छ। को चोखो छ ?”
अहिलेको अवस्था त्योभन्दा झनै गम्भीर छ। कुनै पनि राजनैतिक दलमा भ्रस्टाचार र कुनै न कुनै अपराधमा नमुछिएको मानिस नै पाउन गाह्रो छ। पाई हाले पनि भ्रस्टहरुले अगाडि बढ्न दिन्नन्। अब कसरी मुक्ति पाउँछ देशले भ्रस्टाचार र दण्डहीनताबाट? भ्रष्टाचार नियन्त्रणका लागि तपाईँ हामीले आफ्नो स्थानबाट के गर्न सक्छौँ ?

No comments:

Post a Comment