जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, July 4, 2011

धेरै नम्बर आउँदैमा विज्ञान नरोजौँ'

एसएलसी परीक्षामा धेरै नम्बर आएमा साइन्स नै पढ्नुपर्छ भन्ने मान्यता हाम्रो समाजमा अझै पनि हट्न सकेको छैन । रुचि नभएको तर एसएलसीमा धेरै नम्बर आएकै कारण प्लस टुमा साइन्स विषय रोज्दा धोका पाएका धेरै उदाहरण छन् । जानकार भन्छन्, 'नम्बर हेरेर होइन रुचिको विषय छानौँ, धेरै नम्बर आउनेले साइन्स सजिलै पढ्न सक्छ भन्न सकिँदैन ।'पछिल्ला वर्षमा एसएलसीमा पाएको प्राप्तांक र विषय छनोटका सम्बन्धमा फरकपन आएको छ । धेरै नम्बर ल्याउनेले साइन्स र कम ल्याउनेले अन्य विषय पढ्नुपर्छ भन्ने मानसिकता र मान्यतामा समेत परिवर्तन हुँदै आएको छ । अहिले प्राविधिक र व्यावहारिक विषय रुचाउने विद्यार्थीको जमात पनि बढ्दै गएको छ ।
एसएलसी रिजल्ट सार्वजनिक भइसकेको छ । अब कुन विषय पढ्ने भन्ने सम्बन्धमा त धेरैले निर्णय गरिसकेका पनि होलान् । तर, एसएलसी नतिजा आएपछि कुन संकाय र कुन विषय पढ्ने भनी पर्खने विद्यार्थी जमातको पनि कमी छैन । विगतको तथ्यांक हेर्दा उच्चतम् अंक ल्याउनेको रोजाइ प्राविधिक शिक्षा परे पनि व्यावहारिक तथा व्यावसायिक विषयप्रतिको आकर्षण बढ्दो छ ।
सहर-बजारका विद्यार्थीले त एसएलसीको परीक्षा सकेपछि नै के पढ्ने भनेर बि्रजकोर्ससमेत पढिसकेका छन् । यस्ता विद्यार्थीको संख्या कम भए पनि उनीहरूले सामान्यतः कलेजको समेत जोहो गरिसकेका छन् । कुन विषय र कुन कलेजमा पढ्ने भन्ने योजना नबनाएका विद्यार्थीलाई भने छिट्टै निर्णय गर्नुपर्ने वेला आएको छ ।
एसएलसीपछि अध्ययनका लागि उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन पाएका करिब तीन हजार उमावि सञ्चालनमा छन् भने यसै वर्ष पनि केही उमाविले सम्बन्धन पाउँछन् ।
उच्च माध्यमिक शिक्षा परिषद्को सम्बन्धनमा सञ्चालित प्लस टुमा प्रत्येक वर्ष विद्यार्थीको चाप बढ्दो छ । एसएलसीपछि प्लस टु अध्ययन गर्ने विद्यार्थीले कस्तो विषय पढ्नुपर्छ भन्नेमा पुरानो मानसिकता बदलिँदै गएको छ । अहिले व्यवस्थापन र मानविकीका केही विषय र विज्ञानमा बढी आकर्षण रहेको छ । 'पहिले उच्चतम् अंक ल्याउनेले विज्ञान नै पढ्नुपर्छ भन्ने थियो तर अहिले त्यस्तो पाइँदैन,' जेभियर इन्टरनेसनल कलेजका निर्देशक लोकबहादुर भण्डारी भन्छन्, 'उच्चतम् अंक ल्याउनेले आफू स्वावलम्बी बन्न सक्ने विषय रोजाइमा पर्न थालेका छन् ।'
परिषद्को तथ्यांक हेर्दा सबैभन्दा बढी विद्यार्थी शिक्षाशास्त्रमा छन् । तर, यो विद्यार्थीको रोजाइ नभएर बाध्यता भएको परिषद्का पदाधिकारीको भनाइ छ । ग्रामीण क्षेत्रका धेरै उमाविमा शिक्षाशास्त्रको पढाइ हुन्छ । । अरू विषय रोज्न नपाएपछि नजिकैको उमाविमा शिक्षाशास्त्रमै भर्ना भएकाले विद्यार्थी संख्या बढी हुने गरेको परिषद्का अधिकारी बताउँछन् ।
परिषद्को रेकर्ड तथ्यांकअनुसार सबैभन्दा धेरै शिक्षाशास्त्र र व्यवस्थापन संकायमा छन् । त्यसैगरी, संख्याको हिसाबले थोरै विद्यार्थी विज्ञान विषयका हुन् ।
पछिल्लो पुस्ता जो उच्चतम् अंक ल्याएका हुन्छन्, उनीहरूको रोजाइ विज्ञानमा सीमित छैन, व्यावहारिक र रोजगारमूलक विषयमा ध्यानाकषिर्त हुँदै गएको देखिन्छ । परिषद्को तथ्यांक हेर्दा मानविकी संकायका समाजशास्त्र, अंग्रेजी, पत्रकारिता, ग्रामीण विकासजस्ता विषयमा विद्यार्थीको आकर्षण बढ्दो छ । त्यसैगरी, वाणिज्य संकायका होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम, को-अपरेटिभजस्ता विषयमा विद्यार्थीको आकर्षण बढेको छ । भण्डारीका अनुसार साइन्स पढेर धेरै नम्बर ल्याउन नसकेमा काम नपाइने र धेरैजसो शिक्षक हुनुको विकल्प नदेखेर आफंै केही गर्न सक्ने विषय रोजाइमा परेका हुन् ।
किन नयाँ र व्यावहारिक विषयमा आकर्षण बढ्दो छ त ? आरडी, सोसियोलोजीजस्ता विषय पढेमा तत्काल एनजिओ/आइएनजिओमा काम पाइन्छ र होटल म्यानेजमेन्ट पढेकाले विदेशमा समेत अध्ययनका लागि जान सहज रूपमा पाउने हुनाले आकर्षण बढेको हो ।
एसएलसीमा राम्रो नम्बर लिएर प्लस टुमा साइन्समा भर्ना भएका विद्यार्थी पनि धेरै अनुत्तीर्ण भएका छन् । एसएलसीको नम्बरकै आधारमा विषय रोज्नुहँुदैन, धेरै नम्बर ल्याएकै आधारमा साइन्स पढ्ने पनि फेल भएका छन्, कम नम्बर ल्याएकाले पनि राम्रो गरेका उदाहरण प्रसस्त छन् ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी एसएलसीपछि विद्यार्थीको इच्छाविपरीतका निर्णय भए भने दुर्घटना हुने बताउँछन् । 'विगतमा बोर्डफस्र्ट भएको व्यक्तिले साइन्स पढेर फेल भएको घटना ताजै छ,' अध्यक्ष्ा भण्डारी भन्छन्, 'बाबुआमा र छोराछोरीका बीचमा 'जेनेरेसन ग्याप' हुन्छ । आजभोलिका विद्यार्थी बाबुआमाभन्दा एड्भान्स हुन्छन् ।' उनले जोड दिए, 'धेरै कुराको निर्णय उनमै भर पर्छ ।'
नेपालमा डाक्टर-इन्जिनियरको मात्र खाँचो छैन, राम्रो समाजसेवीदेखि सबै खालका मानिसको खाँचो भएकाले जुनसुकै विषय पनि उत्तिकै महत्त्वपूर्ण भएको भण्डारीको तर्क छ । 'ग्लामर विज्ञापनमा छ, तर विद्यार्थीले वास्तविकतामा आधारित भएर विषय र शिक्षण संस्था छान्नुपर्छ,' भण्डारीले थपे, 'भविष्य विद्यार्थीको भएकाले विषय छनोट पनि बाबुआमाको दबाबभन्दा माथि हुनुपर्छ ।' यसको तात्पर्य बाबुआमाको कुरै सुन्नुहुँदैन भन्ने होइन तर यस अवस्थामा बाबुआमा र छोराछोरीबीच सुमधुर समन्वयको खाँचो भएको उनले औंल्याए । उचित तालमेल भएपछि उपलब्धि राम्रो हुन्छ भन्दै उनले विद्यार्थीले साथीको लहडमा होइन, बुझेर निर्णय गरी अघि बढ्नुपर्ने सुझाब दिए ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला विषय छनोटमा सामान्यतः अवधारणा बुभ\mन वा घोक्न सक्ने विद्यार्थी, जस्तो हिसाबका वा विज्ञानका सूत्र घोक्न निरश नमान्ने विद्यार्थीले विज्ञान नै पढ्न उचित हुने बताउँछन् । विज्ञान पढ्दा जता पनि जान पाइन्छ । कृषि, चिकित्सा, इन्जिनियरिङ जता दौडे पनि हुन्छ । तर्क गर्ने तागत, नेतृत्व गर्ने आँट, समाजसँग घुलमिल हुने कला भएका विद्यार्थी समाजसँग प्रत्यक्ष जोडिने विषयतिर लाग्नुपर्ने सुझाब पनि डा. कोइरालाको छ । यसरी समाजसँग बढी घुलमिल हुन चाहने विद्यार्थीले उनीहरूलाई मिल्दोजुल्दो हुने र रुचिको सम्मान हुने समाजशास्त्रीय विषय पढ्दा राम्रो हुने उनले बताए । कोही विद्यार्थी एक रुपैयाँ पाए अर्को एक थपेर दुई बनाउँछु भन्ने स्वभावका हुन्छन्, उनीहरूसँग पैसा संग्रह गर्न सक्ने र व्यवस्थापन गर्न सक्ने क्षमता हुन्छ । त्यस्ता विद्यार्थीले व्यवस्थापन विषय पढ्नु उचित हुने डा. कोइरालाको ठम्याइ छ । त्यसैगरी कोइरालाले जो आफैं कमाएर पढ्नुपर्ने, खानुपर्ने र परिवारमा पनि सहयोग गर्नुपर्ने हुन्छ त्यस्ता विद्यार्थीले साइकल मर्मतलगायतका प्राविधिक सीप सिक्ने र बाँच्ने उपाय निकाल्दै फुर्सदका समयमा मानविकीका विषय पढ्दा राम्रो हुने बताउँछन् ।

No comments:

Post a Comment