जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, November 11, 2011

लिभिङ टुगेदर'को बढ्दो प्रभाव

कुनै एउटा समय थियो, विवाह गरेपछि मात्र श्रीमानले श्रीमतीको अनुहार देख्ने अनि श्रीमतीले श्रीमानको । हाम्रा हजुरआमाहरूले अझै पनि यस्तै कुरा सुनाउने गर्छन्, तर अहिले समय बदलिएको छ । 'लिभिङ टुगेदर' रहने अर्थात् बिहे नगरी केटाकेटी सँगै बस्ने परम्परा । 'लिभिङ टुगेदर'मा रहँदा औपचारिक रूपमा विवाह गरिँदैन । तर यस सम्बन्धमा पुरुष र महिला सँगै बस्छन्, अनि विवाहपछि गरिने सम्पूर्ण काम यस सम्बन्धमा स्वीकार्य हुन्छ । यद्यपि विवाह नगरी सँगै बस्ने परम्परा लिभिङ टुगेदरलाई हाम्रो समाजले मान्यता दिइसकेको भने छैन ।पोखरा निवासी ३६ वर्षीय गंगामाया (नाम परिवतन) का श्रीमान कतारमा काम गर्छन् । गंगामाया अहिले काठमाडौंको सामाखुसीमा डेरा गरी बसेकी छिन् । उनी काठमाडौं आएको ५ वर्षजति भयो । यहाँ आउने बित्तिकै उनले साथी विनितासँग सम्र्पक

गरिन् । विनिताका श्रीमानले उनलाई डेरा खोज्न निकै सहयोग पुर्‍याए र उनैले खोजिदिएको डेरामा गंगामाया बस्न थालिन् । समय बित्दै जाँदा गंगामायाको सम्बन्ध हितैषी विनितासँग भन्दा पनि उनका पति भरतसँग बढ्ता हुन थाल्यो । यता भरतका श्रीमतीसहित तीन छोरी छन् । अहिले भरतले आफ्नो परिवारलाई भन्दा बढ्ता समय गंगामायालाई दिनथालेका छन् । भरत र गंगामाया दुवै सँगै बस्ने गरेको अर्थात् लिभिङ टुगेदरमा रहेको कसैलाई  भन्न चाहँदैनन् । गंगामायाका श्रीमानले कतारबाट पठाएको रुपैयाँ बुझ्न भरत नै मनी एक्सचेन्जमा पुग्ने गर्छन् । कतारबाट पठाएको रुपैयाँले भरतले गर्नुसम्म मोज त गरेकै छन्, गंगामायालाई झूटो प्रेमको जालोमा पारेर उनका श्रीमानले पठाएको रुपैयाँमाथि उसले नै सम्पूर्ण रूपमा अधिकार जमाउने गरेका छन् ।
यस्तै अर्को जोडी हो, काठमाडौकै विनय र प्रणिता । उनीहरूको प्रेम विवाह भएको ४ वर्ष पुग्यो । अन्तरजातीय विवाह भएको हुँदा दुवैको परिवारले उनीहरूलाई घरपरिवारमा स्वीकारेनन् । त्यसैले उनीहरू काठमाडौंमा फल्याट लिएर बस्ने निधो गरे । तर महँगीका कारण दुईजनाको कमाइले पनि उनीहरूलाई खर्च धान्न निकै धौधौ पर्‍यो । दुवैजनाले अमेरिका जानका लागी कोसिस गरे, तर विनयको मात्र भिसा मिलेकाले पहिले विनय जाने त्यसपछि मात्र प्रणिता जाने निर्णयमा विनय अमेरिका गएको पनि २ वर्ष भइसक्यो । विनय अमेरिका गएपछि यता प्रणिता एक्लै भइन् । विस्तारै प्रणिताको सम्बन्ध विनयकै साथी राजसँग बढ्न थाल्यो । राज अविवाहित युवक हो । सँगै बस्नका निम्ति प्रणिताले गरेको अनुरोधलाई उसले पनि सहजै स्वीकार्‍यो । त्यसपछि उनीहरू सँगै बस्न थाले । एक दिनको कुरा हो, राज र प्रणिता मोटरसाइकलमा धुलिखेल घुम्न हिँडेछन् । धुलिखेलबाट र्फकने क्रममा मोटरसाइकल दुर्घटनामा परी दुवैजना नराम्ररी घाइते भए । राजको भाँचिएको खुट्टा अहिले ठीक भइसकेको छ, तर प्रणिताको कम्मरको ढाँड फुस्किएकाले अझै हिँडडुल गर्न सक्दिनन् । प्रणिताको घरका मान्छेले यी सब कुरा थाहा पाएपछि वास्तै राखेनन् । श्रीमती र भविष्यका लागि कमाउन विदेश गएका श्रीमान विनयलाई यी सब कुराको जानकारी दिइएको छैन । उनले यी सबै कुरा सुनेपछि प्रणितालाई स्वीकार्लान् या नस्वीकार्लान्, त्यो आफ्नै ठाउँमा छ । तर औपचारिक विवाह नगरी सँगै बस्ने परम्परा लिभिङ टुगेदरलाई हाम्रो समाजले मान्यता नदिएकाले यस्ता घटना हुँदा के गर्ने ज्यादै जटिल बन्ने गरेको छ । हाम्रो समाजमा यस्ता जोडीको संख्या बढ्दै गए पनि समाजको डरले उनीहरू आफ्नो निजी मामिला लिभिङ टुगेदर सार्वजनिक गर्न चाहँदैनन् । तर यसरी एकैसाथ बस्नेहरूमा अर्थात् लिभिङ टुगेदर रहनेहरूमा अविवाहित युवायुवती, विवाहित पुरुष र अविवाहित महिला, अविवाहित पुरुष र विवाहित महिला, एकल महिला तथा पुरुष र दुवै विवाहित तर श्रीमान या श्रीमती आफूसँग नरहेकाहरू नै पाइन्छ । विश्वमा लिभिङ टुगेदरको स्थितिलाई हेर्ने हो भने बेलायतमा २५ प्रतिशत बच्चा, लिभिङ टुगेदर सम्बन्धबाट जन्मेका पाइन्छन् । यसैगरी डेनमार्क, नर्वे र स्वीडेनमा ५० प्रतिशत बच्चा अविवाहित जोडीबाट जन्मेका छन् । प|mान्समा १७.५ प्रतिशत र अष्ट्रेलियामा २२ प्रतिशत जोडी लिभिङ टुगेदर रिलेसनसिपमा रहेका छन् । छिमेकी मुलुक भारतमा भने लिभिङ टुगेदर सम्बन्धलाई सामाजिक मान्यता दिइएको
छैन । तर बढ्दो सहरीकरण र पश्चिमी प्रभावले यसप्रकारको सम्बन्ध मौलाउँदै गएको छ । जे होस्, नयाँ पुस्ताको बदलिँदो जीवनशैली लिभिङ टुगेदरमा रहँदा आर्थिक रूपमा दुवैलाई फाइदा पुग्ने तथा कम खर्चमा जिउन सजिलो हुने मान्यताले केही युवायुवती यसतर्फ आकषिर्त भएको पाइन्छ । तर हाम्रोजस्तो मुलुकमा यस्तो सम्बन्धबाट महिला नै प्रताडित हुने गरेका छन्, किनभने सबभन्दा पहिले महिलाको चरित्रमाथि नै समाजले प्रश्नचिह्न उठाउने गरेको पाइन्छ । त्यतिमात्र नभई यसप्रकारको सम्बन्धबाट जन्मने बच्चाको पहिचानको समस्या हुन्छ । यसबाहेक बच्चा, पैतृक सम्पत्ति लगायतका अधिकारबाट बञ्चित रहने समस्या हुन्छ, किनभने घरेलु हिंसा- कसुर र सजाय ऐन, २०६६ मा घरेलु हिंसा भनी किटान गरिएको नाताभित्रको सम्बन्धमा लिभिङ टुगेदर सम्बन्ध राख्ने व्यक्तिका लागि यो ऐन आकषिर्त हुन नसकेको अवस्था छ । त्यसैगरी लोग्ने-स्वास्नीको महलको ४ नम्बरको व्यवस्थाअनुसार पनि नाता कायम नभएसम्म अंश लगायतका अधिकार पाउन नसक्ने अवस्था छ । लोग्ने-स्वास्नीको महलको ५ -क) नम्बरमा 'कसैसँग आफ्नो नाता सम्बन्ध कायम गराइमाग्न नालिस गर्न हुन्छ, नाबालक भए अरू हकवालाले समेत त्यस्तो नाबालकको नाता सम्बन्ध कायम गराइमाग्न नालिस गर्न हुन्छ' भन्नेसमेत उल्लेख भएको पाइन्छ । यसरी हेर्दा लिभिङ टुगेदर सम्बन्ध राख्नेहरूको हितमा कानुन नरहेको भए पनि पछिल्लो समय केही युवाले लिभिङ टुगेदरलाई सहज ढंगमा ग्रहण गर्नुपर्ने र वैधानिकता प्रदान गर्नुपर्ने मान्यता राख्न थालेका छन् । तर अर्काथरी भने यस किसिमको सम्बन्ध राम्रो नभएको र यस्तो सम्बन्धले दाग लगाउने धारणा राख्छन् । लिभिङ टुगेदर नितान्त व्यक्तिगत र निजी मामला हो । कोही व्यक्ति स्वेच्छाले सँगै बस्न चाहन्छन् भने कसैलाई केही भन्ने र रोक्ने अधिकार त हुँदैन । तर कसैसँग सँगै बाँच्ने-जिउने अनि मर्ने प्रण गरिसकेकाहरूले भने आफ्नो श्रीमान या श्रीमतीलाई छलेर क्षणिक फाइदाका लागि अर्काको श्रीमान या श्रीमतीसँग लिभिङ टुगेदरमा रहनु भनेको  विश्वासघात गर्नु हो ।

No comments:

Post a Comment