जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, March 12, 2013

असारभित्र दुर्गममा तीव्र गतिको इन्टरनेट , कुनाकन्दरा र भिरपाखामा समेत

विष्णु पोखरेल, काठमाडौं, फागुन
 दुर्गम क्षेत्रका बासिन्दाले चालु आर्थिक वर्षभित्र तीव्र गतिको इन्टरनेट चलाउन पाउने भएका छन्। नेपाल टेलिकमले चालु वर्षभित्रै मुलुकभर तेस्रो पुस्ताको मोबाइल नेटवर्क (३जी) गतिमा चल्ने इन्टरनेट विस्तार गर्न लागेको छ।
टेलिकमले कोड डिभिजन मल्टिपल एक्सेस (सिडिएमए) प्रविधिमा आधारित तेस्रो पुस्ताको सेवा आगामी असारभित्र मुलुकभर पुर्‍याउने भएको हो।

टेलिकमले उपत्यकापछि लुम्बिनी र नारायणी अञ्चलबाट सेवा सुरु गरेको इन्टरनेटमा आधारित सिडिएमए (आइपी सिडिएमए) सेवा आगामी असारसम्म मुलुकभर पुर्‍याउँदै छ। यस्तो सेवा सुरु भएका ठाउँमा उपभोक्ताले ३.१ मेगाबिट प्रतिसेकेन्ड (एमबिपिएस) सम्मको गतिमा इन्टरनेट चलाउन सक्नेछन्।
उच्च गतिको इन्टरनेट उपभोक्ताले मोबाइल सेट वा कम्प्युटरमा चलाउन सक्छन्। कम्प्युटरमा इन्टरनेट चलाउन कतिपय मोबाइल सेटलाई नै माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ। यसैगरी बजारमा पाइने डंगोल (कार्ड राखेर युएसबीमार्फत् कम्प्युटरमा जोड्न मिल्ने उपकरण) बाट पनि कम्प्युटरमा तीव्र गतिको इन्टरनेट चलाउन सकिन्छ।
दुर्गमका उपभोक्ता लक्ष्य गरी यस्तो सेवा विस्तार गरिएको टेलिकमका नाबव प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले बताए। 'दुर्गम क्षेत्रका कुना-कन्दरा र भिरपाखामा समेत पहुँच हुने गरी हामीले यस्तो सेवा विस्तार गरिरहेका छौं,' उनले भने, 'यसरी सबैतिर पहुँच हुने गरी कसैले पनि इन्टरनेट सेवा विस्तार गरेको छैन।'
कम्पनीले सेवा विस्तार गरिरहेको आइपी सिडिएमए सेवामा ग्राहकले भ्वाइससँगै इभोलुसन डाटा अप्टिमाइज्ड वा वन्ली (इभिडिओ) सेवा प्रयोग गर्न सक्छन्। लुम्बिनी र नारायणी अञ्चल एवं उपत्यकाभित्र सेवा विस्तार गरिसकेको टेलिकमले दुई साताभित्र अन्य क्षेत्रमा पनि सेवा सुरु गर्दै छ।
'दुई साताभित्र हामीले बाग्मती, गण्डकी, धवलागिरी, भेरी, सेती र महाकालीमा सेवा सुरु गर्दै छौं,' भट्टराईले भने, 'पूर्व सुनसरी, मोरङ र झापामा पनि सँगै सेवा विस्तार हुन्छ।' टेलिकमले चीनको हुवावे कम्पनीसँग किनेको प्रविधि मुलुकभर विस्तार गर्न लागेको हो। कम्पनीले कूल २० लाख आइपी सिडिएमए लाइन विस्तार गर्ने भएको छ।
टेलिकमले २० लाखमध्ये पहिलो चरणमा ३ लाख लाइन विस्तार गर्दै छ। यसका लागि कम्पनीले आवश्यक रिमोभेबल युजर आइडेन्टिटी मोडुल (रिम) कार्ड ल्याइसकेको छ। आगामी असारसम्म ७ लाख लाइन विस्तार गर्ने लक्ष्य छ।
टेलिकमले आइपी सिडिएमए सेवा लिने ग्राहकलाई बन्डलिङ गरेर मोबाइल सेटसहित रिमकार्ड उपलब्ध गराउने योजनासमेत ल्याएको छ। ग्राहकले आवश्यकता र चाहनाअनुसार बन्डलिङ सेटसहित वा छुट्टै रिमकार्डमात्र पनि खरिद गर्न सक्नेछन्।
ग्राहकले अल्काटेल वा सामसङ मोबाइल सेटसहित यस्तो सेवा १३ देखि १५ हजार रुपैयाँमा लिन सक्नेछन्। बन्डलिङमा सेटसहित किन्ने ग्राहकले एक वर्षसम्म प्रतिमहिना २ सय रुपैयाँबराबरको डाटा सेवा निःशुल्क पाउनेछन्। यस्तो रिमकार्डमार्फत् ग्राहकले न्यूनतम पनि १५३.६ किलोबिट प्रतिसेकेन्ड (केबिपिएस) गतिको इन्टरनेट चलाउन सक्नेछन्।
कम्पनीले तेस्रो पुस्ताको सिडिएमए प्रविधिमा आधारित यो सेवालाई 'स्काई प्रो' नाममा ब्रान्डिङ गरेको छ। पुरानो दोस्रो पुस्ताको सिडिएमए स्काई फोनलाई स्तरोन्नति गरी यो सेवा सुरु गरेको हो। पुरानो पुस्ताबाट नयाँ पुस्तमा परिवर्तन गर्नेक्रममा टेलिकमले आफ्ना पूर्वाधार सुधार गरिरहेको छ। त्यसपछि मुलुकभर यो सेवा विस्तार हुनेछ।
भट्टराईले सस्तो मूल्यमा दुर्गममा इन्टरनेट पुर्याधउने लक्ष्यका साथ यस्तो सेवा विस्तार गरिरहेको बताए। हालको मूल्य महँगो भएको गुनासो आएकाले चाँडै यसलाई अझै सस्तो बनाइने उनले जानकारी दिए। ग्राहकले हाल २ सय रुपैयाँमा रिमकार्ड खरिद गर्न सक्नेछन्। आइपी सिडिएमएमा इभिडियो इन्टरनेट चलाउन हाल प्रति १ सय किलोबिट डाटाका लागि १० पैसा तिर्नुपर्छ। हाल सिडिएमए प्रविधिमा आधारित विभिन्न टेलिफोन र इन्टरनेट सेवाका ग्राहकको संख्या ११ लाख रहेको टेलिकमले जनाएको छ। दुर्गममा यो सेवा पुगेपछि ग्राहक बढ्ने टेलिकमको अपेक्षा छ।

मोबाइल सेट परीक्षण हुने
टेलिकमले आइपी सिडिएमएमा आधारित स्काईप्रो रिमकार्डमार्फत् इन्टरनेट चल्ने-नचल्ने जानकारी लिन विभिन्न ब्रान्डका सेटको परीक्षण गर्ने भएको छ।
'सिडिएमए नेटवर्क चल्ने भनेर विभिन्न सेट बजारमा आएका छन्,' भट्टराईले भने, 'भ्वाइस चले पनि सबैमा डाटा चल्दैन।' डाटा नचल्दा ग्राहक ठगिने भएकाले टेलिकमले बजारमा पाइने विभिन्न ब्रान्डका सेटको परीक्षण गर्ने तयारी गरेको छ।
परीक्षणपछि इभिडियो चल्ने सेटको सूची तयारी पारेर सार्वजनिक सूचना जारी गर्ने टेलिकमको तयारी छ। 'यसले ग्राहकलाई डाटा चल्ने सेट किन्न प्रेरित गर्नेछ,' उनले भने।

No comments:

Post a Comment