जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, December 4, 2010

अनाथकी आमा

इटहरीको निःसहाय बालबालिका सेवा आश्रमकी गीता गौतम सधैँ व्यस्त हुन्छिन् । उनी अहिले ३३ जना बालबालिकाको आमा हुन् । उमेरले ६० काटेकी उनको मातृत्वमा हुर्किएका एक सय ५० जना निःसहाय बालबालिका अहिले देश-विदेशमा नयाँ जीवन बिताइरहेका छन् ।
सहाराविहीन बालबालिकाको संरक्षणमा ३० वर्षदेखि आमा बन्दै आएकी अविवाहित गीता आफैँ अनाथ हुन् । धनकुटाबाट भारतको बम्बईमा काम गर्न गएका उनका बाबुको पानीजहाजमा दुर्घटना भएको थियो । बाबुको मृत्युपछि आमाको डाँकाको आक्रमणबाट मृत्यु भयो ।
पाँच वर्षकी हुँदा अनाथ बनेकी गीता बम्बईकै जलान्धरस्थित गान्धी मनित आश्रममा हुर्किएकी हुन् । सो आश्रमबाट कलाकार बनेर इन्डोनेसिया र श्रीलंका जाने अवसर पाएकी उनी ०३६ सालमा नेपाल आएकी हुन् । विभिन्न जिल्ला घुमेर इटहरीमा उनले ०३९ सालमा डेढ कठ्ठा जग्गा खरिद गरेकी थिइन् । त्यही जग्गामा आफ्नो कमाइमा ०४० सालमा एउटा छाप्रो हालेर अनाथाश्रम स्थापना गरेकी हुन् ।
०४४ सालमा आश्रम दर्ता गरेर करिब डेढ सय बालबालिकालाई हुर्काइसकेको बताउँदै गीताले भनिन्, 'धैरैले राम्रो पढेर काठमाडांै र भारतमा जागिर खाइरहेका छन् । तीनवटी छोरीले स्टाफ नर्स पास गरेका छन् ।' उनले आश्रममा हुर्किएका अनाथहरूको बिहेसमेत गरिदिएकी छिन् । '१२ वटी छोरी ५ छोराको विवाह पनि गरिदिएँ ।'
अनाथ बालबालिकाको सेवाका लागि गीतालाई जिल्लावासीले पनि सघाएका छन् । 'जिल्लावासीले जेजस्तो सक्छन्, त्यहीअनुसार सहयोग दिइरहेका छन्,' उनले भनिन्, 'पहिलेको जस्तो आश्रम सञ्चालन र बच्चा पढाउन समस्या छैन ।'
आफैँ अनाथ गीताले राष्ट्र नै आमा भएको बताइन् । 'आकाशलाई छानो मान्ने हामीलाई यही प्यारो छ,' अनाथ बालबालिकाको सेवा गर्नु नै जीवनको आनन्द रहेको ठान्ने उनले सुनाइन्, 'सबैभन्दा ठूलो आनन्द बच्चाहरूको पेट भर्नु, पढाउनु र ओभानोमा सुताउन पाउनु हो ।' समाज सेवालाई धर्म मानेकी उनी धनी र गरिबबीचको विभेद चिर्नुपर्ने बताउँछिन् । महिला पनि पुरुषसमान भएको गीताको भनाइ छ । तर, कागज र भाषणमा मात्र महिला समान हुन् भनेर नपुग्ने उनले बताइन् । 'व्यवहारमै पुरुषसरह राज्यको हरेक अंगमा महिला सहभागिता हुनुपर्छ,' उनले भनिन् । तर, महिला र पुरुष समान रूपमा एक भएर अगाडि बढ्ने हो भने मुलुकको विकास सम्भव हुने उनको तर्क छ । 'एकता भएपछि मात्र बल हुन्छ,' उनले थपिन् ।

1 comment: