जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Sunday, January 16, 2011

गरिब नेपाल र नेपालको गरिबी


श्यामल

नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरिबको महिमामण्डन गरेका छन् भन्ने पनि केहीको विचार छ । एक स्फूग पद्यमा 'गरिब भन्छौ सुखको मभै"m धनी, मिल्दैन संसारभरि कतै पनि' भनेर उनले गरिबले आˆनो शुद्ध परिश्रमका कारण पाउने सुखको तथा सुलोचना महाकाव्यमा 'म आˆनो घरको राजा झुपडी नै भए पनि' भनेर पात्रकै मुखबाट गरिबको आत्मसम्मानको सुखको महिमा गान गरेका छन् । वास्तवमा न उनले गरिबी महान् हो भनेका हुन् न त झुपडीको राजा भएर बस्नु नै महानता हो भनेका हुन् । उनका यी सूक्तिमय भनाइहरूले बरु धनीहरूका वित्थाका घमण्डलाई चुनौती दिन्छन् र गरिबलाई हेप्ने धनी वर्गका प्रवृत्तिमाथि कठोर व्यङ्ग गर्दछन् ।
भनिन्छ, नेपाल विश्वका करिब दुई सय देश -संयुक्त राष्ट्रसङ्घका १९२ देशलगायत) मध्ये अति गरिब मुुलुकको सूचीमा रहेको तीन-चार मुलुकमै पर्छ । धेरैजसोले नेपाललाई सुडान, सोमालिया र इथियोपियाजस्ता अभागी मुलुकसँग दाँज्ने गरेका छन् । यसरी दाँजिनुपर्दा हामी नेपालीको मुटुमा गाँठो पर्छ, हामी द्रवित हुन्छौँ र नेपालमा जन्मनुपरेकोमा निराश हुँदै आपै"mलाई सराप्न पुग्छौँ । यसैले होला अहिले काम गर्न सक्ने दक्ष र शिक्षित युवकयुवती नेपालतिर धारे हात लगाउँदै विदेशतिर लाग्ने गरेका छन् । ती जतिबेला नयाँ नेपाल बनाउने कुरा हुन्छ तब अमेरिका, बेलायत, जापान, र खाडी मुलुकमा कामको खोजमा भौँतारिएका देखिन्छन् । नेपालमा बस्दा प्याज काट्न नजान्ने वा आलु ताछ्न लाज मान्ने, आमाबाबुले मल बोक्दा र हलो जोत्दा १० कोस पर भाग्ने अनि विदेशमा पुगेर अँध्यारा गल्ली र कोठामा त्यहीँ काम गर्ने नेपालीको चरित्रबारे हामी सबैलाई थाहा छ ।
बाजुराका बाजे
आजभन्दा लगभग १२ वर्षअघि म एक कामले नेपालको अति गरिब मानिएको जिल्ला बाजुरा पुगेको थिएँ । कोल्टी विमानस्थल नजिकै केयर नेपालको अफिसमा थिएँ म । केयर नेपालले कोल्टीमा एक स्वास्थ्य शिविर आयोजना गरेको रहेछ । बिहान अलिकति फुर्सतको समय थियो, लक्ष्मी श्रेष्ठ नाम गरेकी केयरकै स्वास्थ्यकर्मीले सो शिविरमा जान मलाई प्रेरित गरिन् । खानेपानीको टङ्कीको दायाँ भागमा रहेको विद्यालय भवनमा सो शिविरको व्यवस्थापन हुँदै थियो ।
सबेरै पुग्दा त्यहाँ एक प्रकारको सुनसान थियो । दुई/तीनजना स्वयम्सेवक स्वास्थ्य परीक्षण गराउन आउने बिरामीहरूलाई व्यवस्थित रूपमा पङ्क्तिबद्ध पार्न डोरी तन्काइरहेका थिए । म, डाक्टरलगायतका स्वास्थ्यकर्मी कहाँ बसेर बिरामी जाँच्ने हुन्, त्यसको प्रबन्ध कस्तो हुँदोरहेछ, औषधि कहाँ वितरण गरिन्छ, जाँचको गोपनीयता कायम गर्ने परिपाटी के छ, पानी उपलब्ध छ वा छैन, सुई निर्मलीकरणका लागि पानी उमाल्ने के कस्तो व्यवस्था गरिएको छ र परीक्षण गर्ने उपकरण छन् वा छैनन्, र छन् भने तिनलाई कस्तो अवस्थामा राखिएको छ भनी हेर्ने चाहनाले विद्यालयको मूलढोकातिर लागेँ । मूलढोकाकै सङ्घारमा भुइँको धूलोमा बिरामी बिरालोभै"m गुडुल्किएको एक वृद्धलाई देखेँ ।
उनी मुस्किलले सास फेरिरहेका थिए । म उसको नजिकै पुगेँ र 'बाजे नमस्ते' भनेँ । उनले 'नमस्ते बाबु' भने । उनको स्वर थरथराएको र अनुहार निभ्न लागेको दियोजस्तो थियो । मैले उनलाई तपाईं किन पल्टिनुभएको भएको बाजे भनेर सोधेँ । उनले भने, "डाग्डरलाई जँचाउन आया हुँ बाबु, कतिबेला आउन्या हुन्," मैले उनलाई साढे नौ दश बजेपछि मात्रै डाक्टर आउलान् भन्ने सूचना दिएँ र सोधेँ, "के भएर जँचाउन आउनुभयो त बाजे ?"
"खै के भयो बाबु, मर्न आँटेँ ।" यति भनेर उनी फेरि भुइँमा बजारिए । उनी निकै कमजोर र उभिन नसक्ने अवस्थामा थिए । एकपटक मतिर हेरेर उनले आँखा खोले । तिनका आँखा असाध्यै फुस्रा र पहेँला थिए । मैले उनलाई क्रोनिक जन्डिस अर्थात् नराम्रो अवस्थामा पुगेको कमलपित्तको सङ्क्रमण भएछ भन्ने अनुमान गरेँ ।
"कति वर्ष पुग्नुभयो बाजे ?" मैले उनलाई सोधेँ ।
"चौतीस पुगँे बाबु ।"
यति भनेर उनले आँखा चिम्ले । जतिबेला उनले मलाई छोराको पङ्क्तिमा राखेका थिए, त्यतिबेला म उनीभन्दा झण्डै डेढी जेठो थिएँ । गरिबीले उनको स्वास्थ्य, उनको मनश्चेतना र उनको जीवनको ज्योतिलाई पल-प्रतिपल नराम्ररी चपाइरहेको थियो र ती ३४ वर्षे लक्का जवान ८० वर्षको जीर्ण शरीरको वृद्ध जस्तो लागिरहेका थिए ।
बाजुराका ती अभागी युवकको दशा नेपालको गरिबीको एक दृष्टान्त मात्र हो । नेपालका उच्च हिमाली, र मध्यपहाडी गाउँ तथा तराई मैदानका देहाती वस्तीमा यस्ता गरिब स्त्री पुरुष र तिनका परिवारको सङ्ख्या निकै बढी छ, जो सानै उमेरमा छिप्पिएका छन्, युवा वयमै बुढिएका छन् र काम गर्ने आशक्ति हुँदाहुँदै थला परेका छन् । भोक, रोेग, अज्ञान र आर्थिक दरिद्रताले तिनलाई असमयमै कालकवलित तुल्याएको छ । महिला र त्यसमाथि दलित पनि हुन् भने तिनका समस्या चौगुना छन्, छुन नहुनेदेखि बोक्सीसम्म, कुपोषणदेखि झाडापखालासम्म, रतन्धोदेखि आङ खस्नेसम्म, अवाञ्छित बालबच्चा जन्माउने हुर्काउनेदेखि घरेलु हिंसाको मारसम्म तिनैले खपेका हुन्छन् । तिनले आफूमाथि आश्रति बुढा बाबुआमा र ससाना बालबालिकालाई कठोर जीवन भोग्न बाध्य पार्दै मर्नु परेको छ । र, गरिबीले तिनलाई प्रकृतिले दिएको पूर्ण आयुसम्म कहिल्यै भोग्न दिदैन ।
दैलेखको कुहिएको चामल
एक/दुई वर्षअघि मध्यपश्चिमको एक सुन्दर र कुनैबेला खाद्यान्नमा आत्मनिर्भर जिल्ला दैेलेखमा खाद्यान्न अभावमा भोको गरिबवर्गले सडेको चामल खाएको समाचार आएको थियो । त्यस सनसनीपूर्ण समाचारले हाम्रो राज्यको खाद्य सुरक्षा नीति कति खोक्रो र बेइमान छ भन्ने अब्बल उदाहरण दिएको थियो । मलाई थाहा छ, दैलेख न्यूनतम रूपमा खाद्य असुरक्षाको मारमा पर्नुपर्ने जिल्ला होइन । त्यहाँको जमिनको उब्जनीले त्यहाँको जनसङ्ख्यालाई पर्याप्त मात्रामा ख्वाउन पुग्छ तर बढ्दो जनसङ्ख्याकै दुहाई दिने हो भने पनि, परम्परागत रूपमा गरिआएकै कृषि प्रणालीलाई नीति तथा प्रविधिगत टेवा पुर्‍याउने हो भने बाहिरबाट खाद्यान्न्न आपूर्ति गरिराख्नु जरुरी छैन । एक छाक रोटी वा मकैको भात, एक छाक खेतको र पाखोको घैया धान, फापर, जौं, जुनेलो, कोदो आदिबाट भरपेट खाइरहेको दैलेखको जनसङ्ख्या कसरी कुहिएको चामल खान पुग्यो ? बाहिरबाट चामल ढुवानी गराएर ठेकेदारलाई मुनाफा गराउने र त्यसको प्रतिशत राज्यका कृषि तथा आपूर्ति आदि विभागका मानिसको नियतको परिणाम होइन कसरी भन्ने ?
वास्तवमा नेपाल गरिब हुनुको कुनै नैसर्गिक कारण छैन । हाम्रो राज्यको जनपक्षीय संरचना र मूल्यको अभावका कारण मात्र नेपाल गरिब भएको छ । गरिबी निवारण राज्यको स्रोत साधनमाथि हालीमुहाली गरिरहेको अभिजात वर्गका लागि थप आम्दानीको स्रोत भएको छ तर जनताले आफ्नो स्रोतमाथिको पहुँच र नियन्त्रण राख्ने अधिकारको उपभोग गर्न पाएको छैन । यिनै केही स्पष्ट कारण हुन् जसअन्तर्गत जनतामा व्यापक गरिबी छ । 


गरिबी के हो ?
गरिबी के हो ? यस प्रश्नको उत्तर खोज्ने धेरै प्रयास भएका छन् । सामान्यतया गरिबी भन्नाले पैसा वा वस्तु थोरै हुनु वा नहुनुको अवस्था हो । मानिसलाई सम्मानपूर्ण प्राकृतिक आयु बाँच्नका लागि आवश्यक पर्ने खाना, पोषण, लत्ताकपडा, आवास, औषधिमूलो, ज्ञान र सीप चाहिन्छन् । त्यस्ता सेवा र वस्तु हुँदै नहुनु वा तिनको अभाव हुनु वा तिनलाई प्राप्त गर्न चाहिने स्रोत वा पैसा नहुनु वा कम हुनु नै गरिबी हो । गरिब हुनु अपराध होइन र गरिबी कुनै पुज्य वस्तु पनि होइन । धनी हुँदैमा न कोही महान हुन्छ न त गरिब हुँदैमा कोही निन्दित र हेयको पात्र हुनुपर्छ तर मानव समाजमा यस्ता विपरीत र विसङ्गतिपूर्ण प्रवृत्ति विद्यमान छन् ।
सबैभन्दा ठूलो गरिबी
सबैभन्दा ठूलो गरिबी मानिसको स्वतन्त्रता नहुनु हो । यस्तो पराधीन अवस्थामा आवश्यक सेवा र वस्तु तथा ती पाउने स्रोतमाथि उसको पहुँच तथा नियन्त्रण रहँदैन । आफ्नो जीवनबारे स्वतन्त्र किसिमले निर्णय लिन नपाउने अवस्था मानिसका लागि अति कष्टकर हुन्छ । प्रशस्त खान लाउन पाउँदैमा कोही धनी हुँदैन । त्यसैले सम्मानपूर्ण जीवन बाँच्नका लागि संसारमा ठूलाठूला युद्ध र आन्दोलन भएका छन् । संसारमा जेजति मत मतान्तर, विवाद, आन्दोलन, युद्ध, भएका छन् ती सबै स्रोतको उपभोग गर्ने क्रममा हुने र नहुनेका बीच भएका हुन् ।
अलिकति खुसीको कुरा के हो भने हामी नेपाली प्रत्यक्ष रूपमा कहिल्यै पनि पराधीन रहेनौं तर एक गरिब मानिस वा गरिब मुलुक कसरी स्वतन्त्र हुन सक्छ ? पछिल्लोपटक हाम्रो राजनीतिमा देखिएको विदेशी चलखेल र त्यसलाई हार्दिकतापूर्वक नेपालमा निम्त्याइरहेका हाम्रा नेताहरूका भर्नाबाट नेपाल पूर्ण स्वतन्त्र राष्ट्र बन्न बाँकी नै रहेको बुझिन्छ । स्वतन्त्र चिन्तन र देशीय राजनीतिले मात्रै नेपाललाई दाताहरूको परोक्ष उपनिवेश बन्नबाट जोगाउन सक्छ ।
असल राजनीतिले निश्चित भूखण्डभित्र स्रोतको न्यायपूर्ण उपभोग र वितरणको व्यवस्था मिलाएको हुन्छ । यसका लागि जनताप्रति उत्तरदायी शासन व्यवस्था, उपयुक्त नीतिगत निर्णय र तिनको कार्यान्वयन गर्ने उपयुक्त संरचना चाहिन्छ तर यो रातारात प्राप्त हुँदैन । यसमा जनताले आफ्ना प्रतिनिधिका रूपमा कस्ता मानिसलाई अघि सार्छन् भन्ने कुरा धेरै महìवपूर्ण हुन्छ । नेपालमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनबाट अझै पनि व्यावहारिक रूपमा जनता सार्वभौमसत्ता सम्पन्न हुन बाँकी छ भन्ने कुरा जनादेशले तोकेको अवधिभित्र संविधान बन्न नसक्नुबाट बुझिन्छ । यसको अर्थ हो नेपालको आर्थिक सामाजिक रूपान्तरण हुन नसक्नु । कुनै स्पष्ट कारणविना वस्तु र सेवा महँगो बन्दै जानु, बजार अराजक हुँदै जानु र राज्यका स्रोतमाथि थोरै मानिसको बर्चस्व हुनु र व्यापक नपाली समाजमा गरिबी कायमै हुनु ।

No comments:

Post a Comment