संसारलाई बदल्नुछ भने सुरु आफैंबाट गर्नुपर्छ । हो, मान्छेले संसारलाई बदल्ने सपना देख्छ भने उसले पहिला आफैंलाई बदल्नुपर्छ । डा. योगी विकासानन्द यसै भन्छन् । उनीमात्र होइन, संसारलाई हाँक्ने मान्छेहरू यसै भन्छन् । सपना त धेरै छन् जिन्दगीका तर कुन सपना पूरा गर्ने हो त्यो सपना छान्नुपर्छ । इच्छा-आकांक्षाहरू पनि असंख्य छन्, तर प्रमुख इच्छा के हो, त्यो रोज्नुपर्छ । त्यहीअनुसार
मान्छे अगाडि बढ्न खोज्ने हो भने मान्छेले कहिल्यै असफलता पाउँदैन । ऊ जिन्दगीमा सफलै भएर स्थापित हुन्छ । तपाईं-हामी साना-ठूला अनगिन्ती सपनाहरू देख्छौं, इच्छाहरू पनि अनन्त राख्छौं, तर हामी के गर्छाैं भने सबै सपना पूरा गर्न खोज्छौं । इच्छा पनि सबै पूरा होउन् भन्ने चाहन्छौं । तर हामीले यो किन सोचिरहेका हुँदैनौं, एउटा डोकोमा त्यसले थाम्न सक्नेभन्दा बढी ओजनका सामान हाल्यो भने त्यसले भार थाम्न सक्छ ? सक्दैन, बढी वजन हाल्यो भने त्यो डोको च्यातिन्छ । त्यही च्यातिएको डोको बन्न पुगेको छ मान्छे । किन यस्तो भएको भन्दा ऊ आफ्नै कारणले असफल भएको हो । किनभने उसले जिन्दगीमा धेरै कुराको चाहना गर्यो, सपना पनि धेरै देख्यो, हुन पनि हो, मान्छेलाई धेरै कुराको आवश्यकता पर्छ । त्यसको पूर्ति गर्न खोज्नु पनि मान्छेको एउटा नियति हो । यही नियतिभित्र अल्भिmएर बाँचेका हुन्छन्, अधिकांश मान्छेहरू ।
देख्न त संसारलाई बदल्ने सपना यहाँ धेरै मानिसले देख्छन् र देखिरहेका छन् । यो देख्नुसँग उनीहरूको दोष पनि केही छैन । तर किन उनीहरू सफल भइरहेका छैनन् त ? यही देशकै कुरा गर्ने हो भने ज्ञानेन्द्रले पनि यो देशलाई बदल्ने सपना देखेका थिए । उनले सारा शक्ति खर्चेकै हुन् । तर देश र जनतालाई दमन गरेर उनको देशलाई बदल्ने सपना पूरा हुनुको सट्टा तुहियो । अन्त्यमा राजगद्दीबाटै सदाका लागि मुक्त हुनुपर्यो । अहिले पनि देशलाई बदल्छु भनेर हिँडेकाहरू धेरै छन् । प्रचण्ड, बाबुरामहरूदेखि झलनाथहरूसम्म, रामचन्द्र पौडेल, शेरबहादुर देउवादेखि उपेन्द्र यादव, महन्थ ठाकुर, विजयकुमार गच्छेदारसम्म सबै देशलाई बदल्ने अभियानमा लागेका छन् । अभियानमा त लागे, यो राम्रै हो, तर यिनले आफैंलाई चाहिँ कति बदले ? यदि यिनीहरूले आफूलाई नबदली देशलाई बदल्न तम्सेका हुन् भने त्यो सपना अधुरा हुनेछ । पहिला आफूलाई बदलेर अनि देश र जनतालाई बदल्ने अभियानमा लागे सबैको भलाइ होला कि कसो त ?
जिन्दगीलाई माया गर्ने मान्छेले स्वयम्लाई मात्र माया गर्दैन, स्वयम्लाई माया गर्नेले संसारलाई पनि माया गर्छ । स्वार्थबाट माथि उठ्नसके हामीकहाँ गान्धी, नेहरु, लेनिन, माक्र्स जन्मिन सक्छन् । त्यसो भए त्यो कर्म किन नगर्ने ?
No comments:
Post a Comment