जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, February 8, 2011

बिहेको भोलिपल्टै दुलहा-दुलहीको मृत्यु

काठमाडौं, २४ माघ
बिहे गरेको भोलिपल्ट आयोजित भोजबाट र्फकंदै गर्दा कार दुर्घटनामा दुलहा-दुलहीको आइतबार राति मृत्यु भएको छ । मनमैंजुका राजेश पन्थी र उनकी श्रीमती निर्मलाले बसुन्धरामा कार दुर्घटनामा ज्यान गुमाएका हुन् ।
विहे भोज सकेर बाँसबारीबाट घर र्फकंदै गर्दा अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाएर उनीहरु चढेको कार पल्टिएको प्रहरीले जनाएको छ । पन्थी दम्पतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त
महाराजगन्जका डिएसपी दीपक थापाले बताए ।

कारमा सवार राजेशका बाबु कृष्ण र आमा पार्वती भने बाँचेका छन् । शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत उनीहरूको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

३० वर्षीय राजेश र २८ वर्षीया निर्मला शनिबार मात्र विहे भएको थियो । परिवारकै तर्फबाट बाँसबारीको आँटी पार्टी प्यालेसमा आयोजना गरिएको भोजबाट बिदा भई आमाबुबालाई लिएर उनीहरू घर र्फकंदै थिए । महाराजगन्ज चोकको ओरालोबाट बसुन्धरातर्फ जाँदै गरेको कार बायाँतर्फ रहेको बिजुलीको पोलमा ठोक्किएर पल्टेको थियो । दुर्घटना भएकै स्थाननजिक प्रहरीको सिआरभी टोली रहेकाले घटनास्थलमा तत्काल प्रहरी पुगे पनि आवश्यक सामग्रीको अभावमा उद्धारमा केही ढिलाइ भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त कारको सिसा फोरेर प्रहरीले उनीहरूको उद्धार गरेको थियो ।


प्रत्यक्षदर्शी एक प्रहरीले तीव्र गतिमा चलाइएको कारलाई चालकले नियन्त्रणमा लिन नसक्दा एक्कासि मोडिएर बिजुलीको पोलमा ठोक्किएको बताए । उनका अनुसार बा.७च७१४६ नम्बरको स्यान्ट्रो कार पोलमा ठक्कर खाई उत्तानो परेको थियो । ठक्करबाट कारको अघिल्लो भाग पूरै कुच्चिएकाले अगाडि सिटमा बसेका राजेश र निर्मलाको चेपिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पछिल्लो सिटमा रहेका बाबुआमालाई भने गहिरो चोट लागेको छ ।
पेसाले राजेश कम्प्युटर इन्जिनियर हुन् भने निर्मला नर्स । बेलायतमा नर्सिङ अध्ययन गरिरहेकी तनहुँ घर भएकी निर्मला बिहेकै लागि नेपाल आएको परिवारले जनाएको छ । उनीहरूबीच मागीविवाह भएको हो ।
गुल्मी घर भएका राजेशले हालै मात्र कारको सवारीचालक अनुमतिपत्र लिएका थिए । कार चलाउन निपुण भइनसकेकाले र्फकने क्रममा उनलाई कार नचलाउन आग्रह गरेको भोजमा सहभागी आफन्तले बताए । मृतक दम्पतीको सोमबार दाहसंस्कार गरिएको छ ।

No comments:

Post a Comment