जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, February 17, 2011

एसियाको दोश्रो लामो कर्णाली पुल भत्काउने षड्यन्त्रमा लागे तस्कर

प्रकारका हिसाबले हेर्दा कर्णालीको ५ सय मिटर लामो पुल एसियाकै दोश्रो र नेपालकै पहिलो लामो पुल हो । तर अब यो पुल भत्कने खतरा बढेको छ । पुल आफै कमजोर भएकाले होइन । तस्करहरुले पुलको जरो खन्न लागेको  खुलासा भएको छ । कसरी खन्दैछन् तस्करले पुलको जरो ? विशेष रिपोर्ट । व्यवस्थापिका संसद्को प्राकृतिक स्रोत साधन समितिले नदीनालाबाट गिट्टी, बालुवा र ढुंगा निकाल्ने कार्यमा रोक लगाएको छ । तर कैलालीका नदीनाला र चुरे क्षेत्रमा यो
अबैध धन्दा रोकिएको छैन्, बरु बढ्दै गएको छ । ढुंगा बालुवाको अबैध निकासीकै कारण चुरे पहाडमा पहिरोको प्रकोप वर्षेनी बढिरहेको छ । पहिरोकै कारण चुरे क्षेत्रका सयौ परिवार वर्षेनी घरबारविहीन र बिस्थापित हुँदैछन् । प्राकृतिक स्रोत साधन समितिले गरेको आदेशलाई न स्थानीय प्रशासनले वास्ता गरेको छ, न त ढुंगा र बालुवा खानीमा लगानी गर्नेहरुले ।
प्राकृतिक स्रोत–साधनको अबैध दोहनमा लागिरहेकाहरुले धोती लगाइदिएका छन्, प्राकृतिक स्रोत साधन समितिले गरेको आदेशलाई । नेपालका नदीबाट अबैध रुपमा भटाभट भइरहेको ढुङ्गा बालुवा निकासीले नदीको सतह गहिरिँदै गएको छ र प्राकृतिक स्रोत–साधन समाप्त हुँदै गएको छ । एकातिर नदीको गहिराइ बढ्दै जाने, अर्काेतिर नदी गहि¥याइँदा पूर्व पश्चिम राजमार्ग र त्यहाँका पुलमा खतरा बढ्दै जाने । हो, पूर्व पश्चिम राजमार्गको नमुना पुल मानिने कर्णाली पुल र अन्य दर्जनौ पुल खतरामा पर्न थालेका छन् ।  बालुवा, गिट्टी निकालिएकाले पुलमाथि खतराको घण्टी बज्दैछ ।
कर्णाली पुलनजिकै नदीको किनार, धोवेनीखोला, खुटियाजस्ता स्थानबाट प्रतिदिन ५ सयभन्दा बढी ट्रक ढुंगा, गिट्टी, वालुवा निकालिने गरेको स्थानीय वासिन्दा बताउँछन् ।
ढुंगा गिट्टी संकलकहरु भने नदीबाट ढुंगागिट्टी निकाल्न पाईंदैन भन्नेबारे थाहा नभएको प्रतिक्रिया दिन्छन् । उनीहरुले जिल्लाका बिभिन्न नदीनालाबाट चाहेजती ढुङ्गा, गिट्टी र बालुवा निकालिरहेका छन् । कानुन अनुसार पुलको ५ सय मिटरवरिपरि ढुंगा वालुवा उत्खनन गर्नै मिल्दैन । त्यस्तो कानूनी प्रावधानलाई बालुवा र ढुंगाका कारोबारीहरुले  आनन्दसँग तोडिदिएका छन्, मानौ यो कानुन तोड्न नै बनाइएको हो । यस्तो कानुनी प्रावधान थाहा नभएको भन्दै पुलछेउकै ढुङ्गा, गिट्टी र बालुवा निकाल्दै भटाभट भारत निकासी हुँदैछ । तर नेपाली प्रशासन भने सुतेको छ, कानमा पनि तेल हालेर ।
नदीबाट ढुंगागिट्टी झिक्नाले कर्णाली पुलसमेत उच्च खतरामा परेको छ । कर्णाली पुलबाटकै केही मिटर वारिपरीबाट ढुंगागिट्टी निकाल्नाले पुलको आयु छोटिंदै गएको छ ।
नदीको सतह गहिरिएपछि पुल मुनी रहेका १५ र १६ नम्बरका २ वटा ब्लक बगेका छन् ।
कर्णाली पुलको सुरक्षामा खटीएका कर्णाली पुल रक्षक स्थानिय परशुराम कंडेलका अनुसार पुल मुनी रहेका ब्लकहरु मध्ये ब्लक नम्बर १५ र १६ ब्लक बगेका छन । पुलका लहराहरु समेत हल्लिन थालेका छन ।
ढुंगागिट्टी झिक्नाले कर्णाली पुल मात्रै होईन पुर्वपश्चिम राजमार्गमा कर्णाली वार कैलालीका आधादर्जन पुल पुरै जोखिममा रहेका छन् । शिवंगगा पुल भत्किसकेको छ भने खुटियापुल, कान्द्रापुल, मसुरिया लगायतका पुल खतरामा रहेको छ । चुरेको क्षती र अनियन्त्रित वालुवा, गिठ्टी उत्खननले नदीले पुललाई हान्ने र नदीले धार बदलेर पुल एकातिर नदी अर्कोतिर हुन थालेको छ ।
कैलालीका बिभिन्न नदी तथा पहाड फेदीबाट दैनक एक हजार भन्दा बढी ट्रक र ट्रेक्टरबाट ढुंगागिट्टी र बालुवा निकासी हुन्छ । यसै गरी चुरेको फेदमै रहेको वलियाको धोवेनीखोलावाट दिनहु ५० ,६०  ट्रक वालुवा निकाल्ने गरिएको छ ।
खुटीया नदीवाट दिनको २ , ३ सय ट्रक ग्ठिटी वालुवा लग्ने गरिएको स्थानीय वासिन्दाले बताएका छन । ब्यापक रुपमा गिठ्टी, वालुवा उत्खनन् गर्नमा सरकारी निकाय, राजनीतिक दलका कार्यकर्तालगायतको संलग्नता रहेको स्थानीयको आरोप छ ।
दिनको ५ सयभन्दा बढी ट्रक ढुंगा, वालुवा बर्दियाको राजापुरको कोठियाघाट र कैलालीको लालवोझी हुदै भारततिर लगिने गरेको लम्कीका स्थानीय वासिन्दा बताउंछन् ।  राजनीतिक दल, सरकारी निकायको सहयोगबाटै खुल्लमं खुला अबैध रुपमा ढुंगा, गिठ्टी, वालुवा उत्खनन् भइरहेको स्थानियहरु बताउछन् । बिभिन्न ठाउँमा भइरहेको उत्खननले चुरेक्षेत्रमा क्षति भइरहेको छ भने कर्णालीको नमुना पुललगायत राजमार्गका पुल खतरामा परेका छन् ।
गिठ्टी, वालुवा र ढुंगा उत्खनन् गर्नेले एक पैसा पनि राजस्व बुझाउने गरेका छैनन् । जिल्ला बिकास समिति राजस्व शाखाका अधिकृत देबराज भट्टले कसैलाई राजस्व उठाउन नदिएका कारण एक तर्फ जिविसले घाटा बेहोर्नुपरेको छ भने अर्को तर्फ रोयल्टीको नाममा बिभिन्न संस्थाले गैरकानुनी रुपमा आर्थिक संकलन गर्दै आएको गुनासो छ ।
प्राकृतिक स्रोत साधन समितिले नदीनाला चुरे र पुलछेउछाउबाट वालुवा, गिठ्टी र ढुंगा निकाल्न प्रतिबन्ध लगाएको थियो । तर, आवश्यक परेमा बिज्ञद्वारा बतावरणिय प्रभाव परिक्षण गरेपछि मात्र निश्चित स्थानवाट बालुवा गिठ्टी संकलन गर्ने भनिए पनि कैलालीमा मापदण्ड विपरित जताततै नदीनाला चुरे र पुलछेउछाउबाट वालुवा, गिठ्टी र ढुंगा निकाल्ने काम भइरहेको छ ।

No comments:

Post a Comment