जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Sunday, February 13, 2011

अभिभावक बन्न कठिन छ

कुशल अभिभावक बन्नु जटिल कुरा हो। अभिभावक बन्नेबित्तिकै धेरै जिम्मेवारी थपिन्छन् र त्यसलाई अभिभावकले गम्भीरताका साथ पूरा गर्नुपर्छ। अभिभावकको सानो गल्ती वा लापरबाहीले बालबालिकामा ठूलो असर पर्न सक्छ। व्यस्त जीवन अनि अफिस तथा व्यावहारिक तनावहरूबाट बालबालिकालाई मुक्त राख्न सक्नु अभिभावकका लागि ठूलो चुनौती हो। एकल परिवारमा यो समस्या अझ बढी हुन्छ।

सुखी जीवन एवं अधिकारको सुरक्षाका लागि बालबालिकाको जन्मदर्ता गर्नुपर्छ। जन्मदर्ताले शिशुलाई जन्मको कानुनी आधार प्रदान गर्छ। युनाइटेड नेसन्स चिल्ड्रेन्स फन्ड (युनिसेफ) ले प्रकाशन गरेको एक तथ्यांकअनुसार सन् २००७ मा जन्मिएका बालबालिकामध्ये करिब ५
करोड १० लाख बालबालिकाको जन्मदर्ता गरिएको थिएन। त्यसमध्ये अधिकांश दक्षिण एसियाका थिए। जन्मदर्ता तथा जन्मको प्रमाणपत्र (बर्थ सर्टिफिकेट) मा शिशुको परिचय लुकेको हुन्छ, जसलाई सुरक्षित राख्नुपर्छ।

अभिभावकको अर्को जिम्मेवारी हो-आफ्ना नानीहरूलाई विभिन्न रोगविरुद्ध खोप दिने। हाम्रो देशमा पनि खोपका विभिन्न कार्यक्रम संचालन गरिन्छन्। शिशुको जन्मसँगै वा जतिसक्दो चाँडो दिइने खोप बीसीजी हो। यसले नवजात शिशुलाई विभिन्न प्रजातिका क्षयरोगको संक्रमणबाट बचाउँछ। शिशु ६ हप्ता अर्थात् ४५ दिन (डेढ महिना) को भएपछि, १ महिनाको अन्तर गरेर ३ पटक डीपीटी र पोलियो दिइन्छ। यसले भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार एवं पोलियोजस्ता रोगबाट बचाउँछ। हाल यी खोपहरू सँगै हेपाटाइटिस् बी र हिब् अर्थात् हेमेफिलस् ईन्फ्लुन्जाको खोप पनि थपिएको छ। विस्तारित खोप परियोजनाअन्तर्गत दादुराको खोप पनि पर्छ, यो शिशु ९ महिनाको भएपछि दिइन्छ। बजारमा एम.एम.आर. अर्थात् हाडे, दादुरा तथा रुबेला आदि रोगका लागि खोप पाइन्छ। आफ्ना नानीलाई १५ देखि १८ महिनाभित्र एम.एम.आर. खोप दिएको राम्रो हो। हुन त बजारमा टाइफाइडका खोप, रोटाभाइरस् (झाडापखाला) को खोप, हैजा तथा निमोनिया (निमोकोकल) का खोप पनि पाइन्छन् तर तिनको प्रभावकारिता प्रमाणित भैसकेको छैन। अरू खोप नदिए पनि नेपाल सरकारको विस्तारित खोप परियोजनाअन्तर्गतका सम्पूर्ण खोप आफ्ना नानीहरूलाई दिनुपर्छ। कुपोषण भएको, मन्द ज्वरो आएको तथा पखाला चलिरहेको अवस्थामा पनि खोप दिन सकिन्छ।

 बालबालिकाको पोषणमा अभिभावकले विशेष ध्यान पुर्‍याउनुपर्छ। शिशु ६ महिनाको नभएसम्म उसलाई आमाको दूधबाहेक अरू केही खान दिनु हुँदैन। आमाको दूधमा शिशुलाई चाहिने सम्पूर्ण किसिमका पौष्टिक तत्व पाइन्छन्। शिशु जन्मनासाथ (आधा घन्टाभित्र) आमाको दूध चुसाउनुपर्छ। आधुनिक चिकित्सा पद्धतिले शिशुलाई ६ महिनासम्म गाईको दूध, अन्य कुनै किसिमका दूध, दूधका परिकार मात्र होइन, पानी पनि ख्वाउन रोक लगाएको छ। शिशुलाई स्तनपानबाहेक अन्य खानेकुरा ख्वाउनाले झाडापखाला तथा पेटको गडबडी हुने सम्भावना हुन्छ। दूध एवं दूधका परिकारहरूले शिशुको प्रोटिन रिसेप्टर कोषलाई नै असर गर्छ। अधिकांश आमाले शिशुलाई आफ्नो दूधले नपुगेर गाईको दूध ख्वाएको पाइन्छ। नवजात शिशुले अधिकांश समयमा आमाको दूध खान खोज्छन्। जतिखेर पनि आमाको दूध आउँदैन। त्यसैले आमालाई आफ्नो दूध नपुगेजस्तो लाग्न सक्छ। सामान्यतया नवजात शिशुले २४ घन्टामा ५ पटकभन्दा बढी पिसाब गरिरहेको अवस्थामा उसलाई दूध पुगेको बुझ्नुपर्छ। शिशुलाई आमाको दूध चुस्न रमाइलो लाग्छ, त्यसैले पनि ऊ दूध चुसिरहेको हुन सक्छ। शिशु ६ महिना पुग्नासाथ आमाको दूधसँगै अन्य खानेकुरा दिनुपर्छ। बालबालिकाहरूलाई दिइने खानेकुरा राम्रोसँग पकाएको तथा ताजा र सफा हुनुपर्छ। बालबालिकाहरूलाई दिनभरिमा ३-४ पटक ख्वाउनुपर्छ।

नवजात शिशुहरूको दिसा तथा पिसाबको सफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ। बालबालिका १८ देखि २४ महिनाका भएपछि उनीहरूलाई प्यान वा पटमा बस्न सिकाउनुपर्छ। शिशुको शारीरिक सफाइमा सजग हुनुपर्छ। शिशुको छाला मुलायम हुन्छ। त्यसैले शिशुका लागि प्रयोग गरिएको साबुनमा मोस्चराइजर हुनुका साथै त्यो नपोल्ने किसिमको हुनुपर्छ। बालबालिकाहरूको मुखको सफाइमा कुनै कमी आउन दिनु हुँदैन। मुख तथा दाँतका सर्जन डा.उज्ज्वल कोइरालाका अनुसार शिशुहरूलाई हरेक पटकको स्तनपान वा खानापछि सफा भिजाएको कपडा वा कपासले गिजा तथा जिब्रो पुछिदिनु पर्छ। डा. कोइरालाका अनुसार बालबालिकाहरूको दुईवटा दाँत भएदेखि ६ वर्षसम्म अभिभावकले ब्रस गरिदिनुपर्छ, यसलाई

'एसिस्टेड ब्रसिङ' भनिन्छ।

अधिकांश बुवाहरूलाई आफ्ना सन्तानले टेलिभिजन हेरेको मन पर्दैन तर आमाहरू बालबालिकालाई टेलिभिजनमा भुलाएर घरको कामकाजमा व्यस्त हुन्छन्। बालबालिकाहरूलाई टेलिभिजन हेर्न दिन हुन्छ कि हुँदैन भन्ने जिज्ञासा धेरै अभिभावकमा हुन्छ। अमेरिकन एकेडेमी अफ पेडि्रटिसियन (एएपी) ले दिएको जानकारीअनुसार दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई टेलिभिजन हेर्न दिनु हुँदैन। दुई वर्ष पार गरेका बालबालिकाहरूलाई पनि दुई घन्टाभन्दा बढी टेलिभिजन हेर्न दिनु हुँदैन। बालबालिकाहरूको पहिलो दुई वर्ष महत्वपूर्ण हुन्छ। त्यतिबेला बालबालिकाहरूको मस्तिष्कको विकास हुन्छ। यस्तो अवस्थामा टेलिभिजन तथा विद्युतीय संचारका उपकरणहरूले नकारात्मक असर गर्छ। बालबालिकाहरूलाई टेलिभिजनमा भुलाउनुभन्दा उनीहरूसँग गफ गर्नु, कथा सुनाउनु राम्रो हो।

बालबालिकाहरूको पहिलो स्कुल घर हो। बालबालिकाहरूलाई पढ्न मात्र होइन बोल्ने, हिँड्ने, सुत्ने, उठ्ने सबै कुरा घरमै सिकाइन्छ। आफ्ना बालबालिकालाई उसको तथा अभिभावकको नाम, ठेगाना, फोन नम्बर आदि महत्वपूर्ण कुराहरू जानकारी गराउनुका साथै यसलाई उनीहरूले सम्झिरहने वातावरण बनाउनुपर्छ। बालबालिकालाई प्रहरीसँग डराउनु हुँदैन भन्ने कुरा सिकाउनुपर्छ। प्रहरीले आवश्यक परेको अवस्थामा सहयोग गर्छन् भन्ने जानकारी बालबालिकाहरूमा हुनुपर्छ। 
- नारी

No comments:

Post a Comment