जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, May 19, 2011

हिरो-हिरोइनको गाडीमोह

अभिनेता भुवन केसी ४७ लाखको किया स्पोर्टस् कार चढ्छन् । अभिनेत्री रेखा थापा २५ लाखको गेट्स, झरना थापा ४९ लाख पर्ने टेरेस चढ्छिन् भने अरुणिमा लम्साल १९ लाखको
 स्विफ्ट हाँक्छिन् । हास्यअभिनेता जितु नेपालले भने सेकेन्डह्यान्डमा आइटेन लिएका छन् ।


भेटिएकाजति कलाकार नेपाली फिल्ममा नाम र दाम नभएको गुनासो पोख्ने गर्छन् । उनीहरू फिल्ममा लाग्नेको भविष्य देख्दैनन् । आफू जेनतेन बाँचेको र एकदिन 'ठूलो माछो मार्ने' सपना देख्छन् । निरन्तर फिल्म खेले पनि आर्थिक रूपमा आफू सधैँ पीडित रहेको दुखेसो हुने गर्छ, उनीहरूको ।



कलाकारले त यस्तो हविगत देखाउँछन् भने प्राविधिकले 'नेपाली फिल्ममा आर्थिक संकटकाल' भएको दाबी गर्नु स्वाभाविकै हो । आफ्नो पेसाप्रति निराशाभाव प्रकट गर्नेहरू प्रशस्तै छन् । तर, पछिल्लो समयमा फिल्म अभिनयबाटै महँगा गाडी चढ्ने कलाकारको जमात पनि बाक्लै छ । नेपाली फिल्म उद्योगमा आफ्नो निजी गाडी नभएका हिरो/हिरोइन भेट्न मुस्किल पर्छ, अचेल । केही समयअघिसम्म मुखमा मास्क लगाएर सडकमा लुखुर-लुखुर हिँड्ने गरेका कतिपय अभिनेता, अभिनेत्री अचेल गाडीमालिक भएका छन् । अनि तीमध्ये कतिलाई बजारमा नयाँ मोडलको गाडी आउनै हुन्न, किनिहाल्छन् । फिल्मले नै धेरैलाई गाडीमालिक बनाएको छ । नेपाली फिल्मले थुप्रै कलाकारलाई गाडी मात्र होइन, धेरै थोक दिएको छ । तैपनि, 'नेपाली फिल्मले मलाई के दियो ?' भन्नेहरू पनि उल्लेख्य मात्रामा छन् ।



नेपाली फिल्म उद्योगमा हिरो/हिरोइनले मात्र होइन सानोतिनो भूमिकामा देखापर्ने केही कलाकर्मी पनि गाडीमालिक भएका छन् । पछिल्लो केही वर्षयता फस्टाएको हास्य टेलिशंृखलाको लहरले गर्दा पहिला 'चाउरे' को 'फिलर' रोलमै सीमित हुनेहरू पनि गाडीमालिक बनेका छन् । बढ्दो म्युजिक भिडियोको लहरले पनि धेरैलाई गाडीमालिक बनाएको छ ।



अभिनेता तथा निर्माता भुवन केसी फिल्म अभिनयमा आउनुअघि नै आफू गाडी चढेर हिँड्ने गरेको बताउँछन् । एउटा गाडी दुई वर्षभन्दा बढी नचढ्ने गरेको दाबी गर्ने भुवनले अहिलेसम्म कतिवटा गाडी फेरे ? त्यो आफैँलाई थाहा नभएको बताउँछन् । 'हिरो बन्नुअघिदेखि नै गाडी चढ्ने गरेको हुँ । म एउटा गाडी दुई वर्षभन्दा बढी चढि्दनँ,' हाल ४७ लाख पर्ने किया स्पोर्टस् चढिरहेका उनले भने, 'बजारमा नयाँ मोडल आउनेबित्तिकै चेन्ज गरिहाल्छु । त्यसैले अहिलेसम्म कतिवटा गाडी चेन्ज गरेँ, याद छैन । अब अर्काे वर्ष नयाँ गाडी लिनुपर्ला ।' भुवन आफूलाई गाडीको मामलामा निकै सोखिन भएको बताउँछन् ।



हाल सर्वाधिक चल्तीकी हिरोइन रेखा थापा पनि 'गाडी मालिक्नी' हुन् । उनले आफैँ गाडी हाँक्न थालेको सात वर्ष भयो । सुरुमा १५ लाखको अल्टो लिएकी रेखाले त्यसपछि फेट पालियो चढिन् । गाडीका मामलामा सोखिन भएको बताउँछिन्, उनी । 'एउटा गाडी दुई/अढाइ वर्ष चलाएपछि नयाँ किन्न मन लाग्छ,' हाल झन्डै २५ लाख रुपैयाँ पर्ने होन्डाईको गेट्स चढिरहेकी उनी भन्छिन्, 'अब टक्सन चढ्न मन लागेको छ । अर्काे वर्षतिर विचार गर्नुपर्ला ।' आफँै गाडी हाँकेर हिँड्दा आफूलाई निकै सहज लाग्ने बताउँछिन्, रेखा । 'मलाई अरूले हाँकेको गाडीमा चढ्न मन लाग्दैन । आफँैले हाँक्ने बानी भइसक्यो,' उनी भन्छिन्, 'लामो दूरीको यात्रा भने गरेकी छैन । काठमाडौं उपत्यकाभित्र भने आफैँ गाडी लिएर जान्छु ।'



रेखाले अचेल चढिरहेको गेट्स कार उनका पति छवि ओझाले हिफाजत हिट भएपछि 'गिफ्ट' किनिदिएका हुन् रे ! 'हिफाजत हिट भयो । त्यसकै उपलक्ष्यमा छविले गिफ्टस्वरूप किनिदिनुभएको हो,' रेखा भन्छिन्, 'अन्दाज हिट भएपछि टक्सनको चाहना व्यक्त गर्नुपर्ला ।' ट्राफिक नियम पूर्णरूपले पालना गर्दै आए पनि गत महिना उनी गौशालामा फुटपाथ पार्किङको कारबाहीमा परिन् । 'दुई दिनअघि त्यहाँ नो पार्किङ थिएन । दुई दिनपछि त्यहीँ गाडी रोेकेको त ट्राफिकले नो पार्किङमा किन पार्किङ गरेको ? भन्दै लाइसेन्स माग्यो । यसो हेरेको त, नो पार्किङ लेखेको रहेछ । गल्ती आफ्नै ठानेर खुरुक्क लाइसेन्स दिएँ ।' लाइसेन्स छुटाउन पनि आफँै बग्गी खाना गएको उनले बताइन्् । उनले एकपटकमै लिखित र ट्रायल पास गरेर लाइसेन्स लिएकी हुन् रे !



अर्की नायिका झरना थापाले गाडी हाँक्न लागेको १४ वर्ष भइसक्यो । सुनीलकुमार थापासँग बिहे गरेको वर्षदेखि आफैँ गाडी चलाएर हिँड्ने गरेको उनी बताउँछिन् । सुरुमा उनले टोयटा कार चढेकी थिइन् । त्यसपछि टेरेडुवा चढिन् । उनलाई पनि वेला-वेलामा गाडी फेरिरहन मन लाग्छ रे ! 'एउटै गाडी कति चढ्नु ?' उनी भन्छिन्, 'त्यसकारण बजारमा आएको नयाँ मोडलको गाडी चढ्ने गरेकी छु ।' उपत्यकामा सुटिङ हँुदा उनी आफैँ गाडी हाँकेर स्पटमा पुग्छिन् । 'आफँै गाडी हाँक्नुको मज्जा नै बेग्लै छ,' उनी भन्छिन्, 'पहिलादेखि नै बानी लाग्यो । त्यसैले सकभर अरूले चलाएको गाडीमा बस्न मन लाग्दैन ।' झरनाले ६ महिनाअघि टेरेस नामको नयाँ गाडी किनेकी छिन् । त्यसअघि एसेन्टको होन्डाई र त्यसभन्दा पनि अघि उनको भिटारा कार थियो । इन्सुरेन्ससहित झन्डै ४९ लाख रुपैयाँ परेको टेरेसपछि अब उनलाई मज्दा हाँक्न मन लागेको छ रे ! 'कारभन्दा जिप मन पर्छ,' झरना भन्छिन्, 'ल्यान्डरोभर चढ्न पाए हुन्थ्यो भन्ने लाग्छ ।' उनी अहिलेसम्म ट्राफिक कारबाहीमा परेकी छैनन् । कुनै अपि्रय घटनामा पनि नपरेको बताउँछिन्, उनी ।



गाडी फेरी-फेरी चढ्नेमा पर्छन्, अर्का अभिनेता धीरेन शाक्य । फिल्मलाइनम आउनुअघिदेखि नै गाडी हाँक्ने गरेको बताउने उनी दुई वर्षदेखि झन्डै ४८ लाख रुपैयाँ पर्ने टोयटा ट्यारिस चढ्छन् । ललितपुरको कुसुन्तीमा घर बनाइरहेका धीरेन पहिलोचोटि ८ लाख पर्ने मारुती कार चढेको बताउँछन् । उनले अहिलेसम्म डेढ दर्जनजति गाडी फेरिसके रे ! 'म गाडी फेरी-फेरी चढ्न मन पराउँछु,' उनी भन्छन्, 'नयाँ मोडल आयो भने किन्न मन लागिहाल्छ ।' अहिलेसम्म ट्राफिक कारबाहीमा नपरेको बताउने उनी सडक दुर्घटनामा भने परेका रहेछन् । 'तीन वर्षअघि मेरो गाडीले हाई-वेमा गाईलाई ठक्कर दिएको थियो । त्यसबाहेक सानातिना घटना त भइरहन्छ । तर, अहिलेसम्म ठूलो दुर्घटना भने भएको छैन ।'



फिल्मलाइनमा गाडी चढ्ने हिरो थुप्रै छन् । विराज भट्ट टक्सन चढ्छन् । निखिल उप्रेती पनि महँगो गाडी चढ्थे । केही वर्षअघिसम्म पैदल हिँड्ने गरेका आर्यन सिग्देल पनि गाडीमालिक भएका छन् । उनले सेकेन्डह्यान्ड कार किनेका छन् । अर्जुन कार्की पनि गाडीवाला बनेका छन् । राजेश हमाल, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठहरू त पहिल्यैदेखि गाडी चढ्थे ।



हास्यकलाकार दीपकराज गिरी, जितु नेपाल र शिवहरि पौडेल पनि गाडीमालिक बनेका छन् । हास्य टेलिशंृृखला जिरे खुर्सानीका निर्देशकमध्येका एक जितुले एक महिनाअघि गाडी फेरेका छन् । उनले आइटेन कार लिएका छन् । त्यसअघि उनी अल्टो चढ्थे । 'गाडी चढ्नु मेरो सोख होइन,' जितु भन्छन्, 'कार्यगत हिसाबले सहज हुने भएकाले गाडी किनेको हुँ । पहिला अल्टो थियो । गत महिना आइटेन लिएको छु, त्यो पनि सेकेन्डह्यान्डमा ।' उनी भने कहिलेकाहीँ ट्राफिक कारबाहीमा पर्ने गरेका छन् । 'गाडी हाँकिरहेका वेला विदेशबाट नउठाइ नहुने महत्त्वपूर्ण फोन आउँछ । गाडी साइड लगाएर कुरा गर्न लाग्दा लाग्दै ट्राफिकको फन्दामा परिन्छ,' आफ्नो गल्ती हुँदा विनाकिचकिच लाइसेन्स दिएकोे बताउँदै उनले भने, 'आफ्नो गल्ती त स्वीकार गर्ने पर्‍यो नि !'



गाडीमालिक्नी थुप्रै हिरोइनमा अरुणिमा लम्साल पनि एक हुन् । उनले गाडी हाँक्न थालेको ४ वर्ष भयो । सुरुमा स्यान्त्रो चढेकी उनी दुई वर्षदेखि मारुतीको स्विफ्ट चलाइरहेकी छिन् । यसबाहेक उनलाई उनका पतिले बर्थ डे गिफ्टस्वरुप २३ लाख पर्ने सेभरोलेट दिएका छन् । आफँै कार हाँकेर सहर शयर गर्दा सहज हुने गरे पनि धुलो, धुवाँ, दुर्गन्ध, ट्राफिक जाम र खाल्डाखुल्डी सडकका कारण भने उनलाई दिक्दार बनाउँछ रे !



'जाम, फोहोर, बिगि्रएको बाटो तथा लापरबाही ड्राइभ गर्नेहरूले गर्दा गाडी चलाउन दिक्क लाग्न थालेको छ,' आफू महिला ड्राइभरको खोजीमा रहेेको बताउँदै उनले भनिन्, 'जुन काममा हिँडेको हो, त्यहाँ पुगुन्जेल मेन्टल्ली डिस्टर्भ भइसक्ने भएकाले महिला ड्राइभरको खोजीमा छु ।' अरुणिमा पनि एकपटकमै ट्रायल पास गरेर लाइसेन्स लिएको बताउँछिन् । 'मैले गाडी र स्कुटरको ट्रायल एकैचोटि दिएकी थिएँ । गाडीमा पास भएँ । स्कुटरमा भने फेल भएँ । त्यसैले मसँग स्कुटरको लाइसेन्स छैन,' उनी आफू अहिलेसम्म ट्राफिक कारबाहीमा नपरेको बताउँछिन् । 'म अहिलेसम्म ट्राफिक कारबाहीमा परेकी छैन । म नियमको पूर्णरूपले पालना गर्छु । तर, कहिले बाइकले त कहिले ठेलागाडाले मेरो गाडीलाई ठक्कर दिएर भागेका छन्,' उनी भन्छिन्, 'मैले गल्ती नगरे पनि आर्थिक रूपमा सजाय भोगेकी छु ।' नायिका तथा निर्मात्री जेनी कुँवर पनि आफँै कार हाँक्छिन् । उनलाई हिरोइन बन्नुपहिलेदेखि नै गाडीमा सवार देखिन्थ्यो ।

 
फिल्म अभिनयबाट गाडी जोड्नेहरू अरू पनि छन् । पछिल्ला दिनमा सुलभ फाइनान्सका कारण सामान्य कमाइ गर्नेले पनि गाडी चढ्नु ठूलो कुुरा मानिन छाडेको छ । फिल्मलाइनमा गाडी व्यापारी पनि छन् । उनीहरूका लागि गाडी चढ्नु कुनै नौलो कुरा होइन । तर, आफ्नो अभिनयकलाबाटै गाडी चढ्नु भने गर्व गर्नलायक कुरा हो ।

No comments:

Post a Comment