जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, June 4, 2011

समयसँगै महिलाहरू पनि परिवर्तित

परिवर्तन नियमित प्रक्रिया हो। एक्काइसौं शताब्दीको आगमनसँगै हामी वरपरका थुप्रै कुरा परिवर्तन भएका छन्। समयसँगै परिवर्तन हुन नसके आफ्नो अस्तित्वमै प्रश्नचिन्ह लाग्नसक्छ। यही मेसोमा महिलाहरू पनि आफूलाई परिवर्तन गर्दैछन्। परिवर्तित समाजमा महिलाहरूले आफूलाई पत्नी, आमा, दिदी, बहिनी, साथी तथा प्रेयसीका रूपमा हेर्नुका साथै केही नयाँ कुरा पनि महसुस गरिरहेको पाइन्छ। आफ्नो
परम्परामा परिवर्तन गरेर उनीहरू कामकाजी हुन थालेका छन्। उनीहरू एकसाथ घर तथा अफिसको जिम्मेवारी पूरा गरिरहेका छन्। घरको व्यवस्थापनसँगै उनीहरू कार्यालय पुगेर आफ्नो काम जिम्मेवारीका साथ पूरा गर्छन्।

निजी बंैकमा कार्यरत रमा अधिकारी बिहान ४ बजे उठ्छिन्। नित्यकार्य सकेर उनी ६ देखि ८ बजेसम्म घरको काममा व्यस्त हुन्छिन्। बिहानको चिया-नास्ता, नानीहरूलाई स्कुलका लागि तयार गर्नु, घरका अन्य सदस्यको आवश्यक कुराको बन्दोबस्त गर्नु, श्रीमान्लाई सघाउनु तथा स्वयं आफूलाई पनि तयार गर्दागर्दै उनलाई अफिस जान हतार हुन्छ। त्यसपछि उनको अर्को ट्युटी प्रारम्भ हुन्छ। दिनभरि अफिसको व्यस्ततासँगै साँझ पर्छ। उनी घर र्फकने क्रममा घरेलु सामग्री खरिद गर्छिन्।

अर्की कामकाजी महिला रुविना श्रेष्ठ भन्छिन्, 'घर फर्किएपछि पनि कामकाजी महिलाको काम सकिँदैन।' रुविनाका अनुसार अफिसबाट फर्किएपछि महिलाहरू छोराछोरीको अध्ययनमा आवश्यक सहयोग गर्छन्। घरलाई व्यवस्थित राख्नु, खाना बनाउनु आदि महिलाका थप काम हुन्। यी सबै काम गर्दा कतिखेर सुत्ने समय भैसक्छ, थाहा हुँदैन। 'कहिलेकाहीँ यो रुटिनबाट दिक्क पनि भइन्छ।' रुविना भन्छिन्, 'यद्यपि यी सबै आफ्नो जिम्मेवारी भएको तथा यसलाई निभाउन आफू सक्षम भएकोमा खुसी पनि लाग्छ।'

केही समयअघि महिलालाई मातृत्वको ऐनाभित्र हेरिन्थ्यो। आज उनको व्यक्तित्वको अन्य पक्ष पनि उजागर भएको छ। हिँजोआज महिलाहरू घर सम्हाल्ने हाउस वाइफ नभएर सम्पूर्ण कामलाई कुशलतापूर्वक सम्पन्न गर्न सक्ने बहुमुखी प्रतिभाका रूपमा चिनिन थालेका छन्। आफ्नो परम्परालाई जोगाउँदै आधुनिक सोचका साथ अघि बढेका महिलाहरू प्रशंसाका पात्र बनेका छन्। प्रत्येक क्षेत्रमा उनीहरूको बहुमुखी प्रतिभा देखिन थालेको छ।

फेसनमा महिलाहरूले आफ्नो व्यक्तिगत शैलीको विकास गरेका छन्। हिँजोआजका महिलाहरू त्यस्तो शैली अंगाल्न चाहन्छन्, जसबाट आफ्नोपन देखियोस्। पहिले ब्लाउज साधारण खालको थियो, आज त्यो बोल्ड पनि बनेको देखिन्छ। नाक-कान, पियर्सिङ गरेर खुसी हुने महिला आज नाभि पियर्सिङ गर्न लालायित देखिन्छन्। सुन्दर मेहन्दी लगाउन रुचाउनुका साथै आजका महिलाहरू मोर्डन ट्रयाटतर्फ पनि आकषिर्त हुन थालेका छन्। सलबार-सुट लगाउन हिच्किचाउने महिला आज मिनी माइक्रोमा आत्मविश्वासी देखिन थालेका छन्।

महिलाहरूको पहिरन कतिसम्म माझिएको छ भने जिन्स र स्पेगेटी टपमा पनि उनीहरूले १८ देखि २४ इन्च लामो मंगलसूत्र लगाएको देख्न सकिन्छ। अब स्मार्टनेसको अर्थ वेस्टर्नमाथि परम्पराको लेवल हुन पुगेको छ। यसको अर्थ महिलाहरूले फ्युजन शैलीको विकास गरेका छन्। फास्ट फेसन फास्ट फुडजस्तै भएको छ। त्यसैले महिलाहरूको पहिरन शैली चाँडै परिवर्तन हुने गरेको छ। जसरी मानिस दैनिकरूपमा खाना परिवर्तन गर्न चाहन्छन् त्यसैगरी महिलाहरू पनि आफ्नो पहिरनमा परिवर्तन चाहन्छन्।

दाल-चामलको मूल्यका बारेमा मात्र चासो राख्ने महिलाहरू आज टेलिसपिङदेखि इसपिङसम्मको नयाँ फर्मुलालाई अंगाल्न थालेका छन्। आफ्नो वरपर विभिन्न स्तरमा विद्यमान सामाजिक विकृतिका सम्बन्धमा पनि उनीहरू जागरुक देखिन्छन्। यसका साथै परिस्थितिको सामना गर्न पनि उनीहरू सक्षम हुँदै गएका छन्। आफ्ना कमी, कमजोरी, डर तथा असफलताको दबाबमा आएर हडबडाउन छाड्नु आजका महिलाको विशेषता हुन थालेको छ। पहिले भाग्यलाई दोष दिने महिलाहरू अहिले समय आफ्नो प्रतिकूल भएको विश्लेषण गर्दै समयलाई अनुकूल बनाउने प्रयास गर्न थालेका छन्। यसबाट नयाँ पुस्ताले समयलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको बुझ्न गाह्रो छैन। आजका महिला आत्मविश्वासी, आत्मनिर्भर तथा आत्मबलले भरिपूर्ण देखिन थालेका छन्।

No comments:

Post a Comment