जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, June 25, 2011

थप दुई सभासद्ले रातो पासपोर्ट बेचेको पुष्टि

एमाले सभासद् नारदमुनी रानाको पुरानो पासपोर्टको म्याद गत १७ सेप्टेम्बरमा सकिएपछि उनले नयाँ पासपोर्ट लिएका थिए । नयाँ पासपोर्ट बोकेका व्यक्ति अहिले अस्टे्रलियामा छन् । रानाले आफ्नो नयाँ पासपोर्ट नलिएको दाबी गरे पनि हस्ताक्षर मिलेको छ ।
शिवपुजन राय यादव नाममा २०४४५ नम्बरको पासपोर्ट बोकेर गत ११ डिसेम्बरमा अस्टे्रलिया पुगेका व्यक्ति अहिलेसम्म उतै रहेको अस्ट्रेलियाली दूतावासले जनाएको छ । तर, सभासद् यादव त्यसयता पनि पटक-पटक संसद् गएका थिए, अहिले भने फरार छन् ।
नयाँ पत्रिका 
काठमाडौं, ९ असार 
थप दुई सभासद्ले रातो पासपोर्ट (कूटनीतिक राहदानी) बेचेको प्रहरीले पुष्टि गरेको छ । प्रधानमन्त्री झलनाथ खनालको दल एमालेका सभासद् नारदमुनी राना र उपप्रधानमन्त्री उपेन्द्र यादवको दल फोरमका शिवपुजन राय यादवले पैसाका लागि पासपोर्ट बेचेका हुन् । 
राना र यादवको पासपोर्ट लिएर उडेका दुई व्यक्ति हाल अस्ट्रेलियामा रहेको नेपाल प्रहरी र काठमाडौंस्थित अस्ट्रेलियन दूतावासले पुष्टि गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विषयमा थप अनुसन्धान गरिरहेको छ । 
सभासद्को पासपोर्ट किनेका दुईजना ११ डिसेम्बर २०१० मा अस्ट्रेलिया पुगेका थिए । इतिहाद एयरको इएक्स २९१ नम्बरको उडानमा उनीहरू अस्ट्रेलिया उडेको प्रहरी अनुसन्धानमा खुलेको छ । 
दरबारमार्गस्थित जया ट्राभल एन्ड टुर्सबाट उनीहरूले टिकट काटेका थिए । यादवको पासपोर्टमा उड्नेको टिकट नम्बर ई-टिकेटी ६०७-२७४९६९४०५६ हो भने रानाको पासपोर्टमा उड्नेको ई-टिकेटी ६०७-२७४९६९४०५७ हो । उनीहरूको टिकट एकैचोटि बुक गरिएकाले सिरियल नम्बरसमेत सँगै छ । 


जया ट्राभल्सबाट प्राप्त सभासद्द्वयको पासपोर्टको फोटोकपीमा अन्य व्यक्तिकै फोटो टाँसिएको प्रस्ट चिनिन्छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले पासपोर्टमा फेरिएको तस्बिर नै पासपोर्ट दुरुपयोगको प्रमाण भएको बताउँछन् । त्यसैगरी, अस्ट्रेलियन दूतावासले सिआइबीलाई पठाएको चिठी पनि राहदानी दुरुपयोगको अर्काे प्रमाण हो । अस्ट्रेलियन दूतावासले ११ डिसेम्बर २०१० मा सभासद् यादवको २०४४५ नम्बरको पासपोर्ट लिएका व्यक्ति अस्ट्रेलिया उडेको र हालसम्म उनी उतै रहेको बताएको छ । जबकि ११ डिसेम्बरपछि यादव पटक-पटक संसद् तथा संविधानसभाको बैठकमा सहभागी भएको भेटिएको छ ।
'यसले सभासद् यादवको पासपोर्टमा उडेका व्यक्ति हालसम्म अस्ट्रेलियामा नै रहेको प्रस्ट हुन्छ,' सिआइबी स्रोतले बतायो । प्रहरीले सभासद् यादवमाथि अनुसन्धान सुरु गरेदेखि नै उनी फरार छन् । उनी सर्लाही-५ बाट निर्वाचित सभासद् हुन् ।
एमाले सभासद् रानाको पासपोर्ट पनि दुरुपयोग भएको प्रहरीले पुष्टि गरी उनलाई पक्राउ गर्ने तयारी गरिरहेको छ । सभासद् यादवको ०२२४४ नम्बरको रातो पासपोर्ट लिएर उडेका व्यक्ति पनि हाल अस्ट्रेलियामा छन् । सभासद् रानाले भने आफ्नो रातो पासपोर्ट आफूसँगै रहेको दाबी गर्दै आफ्नो नक्कली हस्ताक्षरमा अरू कसैले परराष्ट्र मन्त्रालयबाट नयाँ पासपोर्ट लिएर दुरुपयोग गरेको बताएका छन् । 
सभासद् रानाको पुरानो रातो पासपोर्टको म्याद १७ सेप्टेम्बर २०१० मा सकिएको थियो । त्यसपछि, उनले परराष्ट्र मन्त्रालयबाट नयाँ पासपोर्ट लिएका थिए । जुन पासपोर्ट आफूले लिँदै नलिएको उनले दाबी गर्दै आएका छन् ।
प्रहरीले उनको पुरानो पासपोर्ट लिएर हस्ताक्षरको 'फरेन्सिक' परीक्षण गरिरहेको छ । परीक्षणमा सभासद् रानाको पुरानो र नयाँ हस्ताक्षर लगभग मिलेको प्रहरी स्रोतले बतायो । राना एमालेको समानुपातिकतर्फबाट कैलालीका सभासद् हुन् । 
यसअघि, प्रहरीले फोरमका बिपी यादव र नेपाल जनता दलकी सभासद् गायत्री साहले पासपोर्ट दुरुपयोग गरेको पुष्टि भएपछि पक्राउ गरी मुद्दा चलाएको छ । प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएका छुट्टाछुट्टै मुद्दामा सभासद्द्वय धरौटीमा रिहा भएका छन् । सिआइबीका प्रहरी नायव उपरीक्षक प्रवीण पोखरेलले रातो पासपोर्ट दुरुपयोगको अन्सन्धान गर्दै आएका छन् । 
प्रहरी स्रोतका अनुसार सभासद्द्वय यादव र साहको पासपोर्टमा विदेश उडाउने गिरोहले नै सभासद् शिवपुजन र नारदमनीको पासपोर्स भाडामा लिएर फोटो परिवर्तन गरी अन्य व्यक्तिलाई अस्ट्रेलिया उडाएको हो । पहिलेजस्तै 'थर्ड कन्भेन्सन अफ डायल्सिडेनिजम' नामक कार्यक्रममा भाग लिन भनेर सभासद्को नाममा अस्ट्रेलियन दूतावासमा भिसाका लागि आवेदन गरिएको थियो । जबकि उक्त निमन्त्रणासमेत नक्कली भएको प्रहरी अनुसन्धानमा पाइएको छ । रातो पासपोर्ट खरिद-बिक्री गर्ने गिरोहले नै अस्ट्रेलियाबाट नक्कली निमन्त्रणा मगाएको थियो । 
उता, यसअघि पक्राउ परेका सभासद्जस्तै राना र यादवको पासपोर्ट दुरुपयोगमा पनि एयरपोर्ट अध्यागमनका कर्मचारीको प्रस्ट मिलेमतो देखिएको छ । एयरपोर्ट अध्यागमनका तत्कालीन प्रमुख खडानन्द ढकालसहितका कर्मचारीलाई पहिलेको पासपोर्टकाण्डमा दोषी रहेको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरूलाई नयाँ पासपोर्टकाण्डमा पनि मुद्दा चलाइने प्रहरीले जनाएको छ । 
पहिलेजस्तै सभासद्द्वय यादव र रानाको पासपोर्ट दुरुपयोग गिरोहका नाइके भने सर्लाहीका सन्तोष उप्रेती नै भएको पनि खुलेको छ । उक्त गिरोहका पाँच व्यक्ति पक्राउ परे पनि उप्रेती फरार छन् । अस्ट्रेलियाको भिसामा फोटो नटाँसिने भएकाले सभासद्को पासपोर्टमा उनीहरूले अस्ट्रेलिया पठाउँदै आएका हुन् । अस्ट्रेलिया र क्यानडाको भिसामा बाहेक अन्य देशको भिसामा नै फोटो हुन्छ । जसकारण ती पासपोर्ट दुरुपयोग गर्न सकिँदैन । 
सभासद् बिपी यादवको पासपोर्टमा उड्ने पुथ्वी छन्त्यालसहित प्रमुख अभियुक्त उप्रेतीका साला डिएन धिताल, भिक्टोरिया कन्सल्टेन्सीका सञ्चालक गोपाल बानियाँ, लमजुङका दिलबहाद्र घर्ती र म्याग्दीका मनोज कार्की छन् । सभासद् साहको पासपोर्टमा उड्ने सीता छन्त्याल भने अझै फरार छिन् । 
सिआइबीका प्रमुख डिआइजी राजेन्द्रसिंह भण्डारीले थप सभासद्ले कूटनीतिक राहदानी दुरुपयोग गरेको प्रमाण भेटिएको बताउँदै घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेपछि सभासद्लाई पक्राउ गरिने बताए ।

No comments:

Post a Comment