जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, July 7, 2011

धरान, सिन्धुली र सराङकोटमा केबुलकार योजना

विष्णु पोखरेल, काठमाडौं, असार २३ - निजी क्षेत्रका छुट्टा-छुट्टै कम्पनीले राजधानी सहित मुलुकका विभिन्न चार स्थानमा केबुलकार सञ्चालन गर्ने अनुमति पाएका छन्। केबुलकार सञ्चालन गर्न प्रस्ताव गर्ने काठमाडौं फन पार्क प्रालि, सिद्धबाबा दर्शन केबुलकार प्रालि, फिस्टेल भ्यु केबुलकार प्रालि र जय धरान केबुलकार प्रालिले उद्योग सञ्चालन अनुमति पाएका हुन्। उद्योग विभागले राजधानीमै केबुलकार सञ्चालन गर्ने प्रस्ताव पेस
गरेको काठमाडौं फन पार्कलाई २०६६ चैत २८ मा अनुमति दिएको थियो। सिद्धबाबाले सिन्धुलीको कमलामाई नगरपालिका-९ देखि सिद्धबाबा मन्दिरसम्म केबुलकार सञ्चालन गर्न गत वर्ष जेठ १४ मा अनुमति पाएको थियो। यसै गरी फिस्टेल भ्युले कास्की सराङकोटमा केबुलकार चलाउन गत चैत १ मा अनुमति पाएको थियो।
सुनसरी धरानबाट धनकुटाको महाभारत गाविसमा पर्ने डाँडाँसम्म केबुलकार सञ्चालन प्रस्ताव गर्ने जय धरानले भने यही असार ३ मा विभागबाट अनुमति पाएको हो। सञ्चालन अनुमति पाएकामध्ये यो सबैभन्दा ठूलो लगानीको केबुलकार उद्योग हो।
'मनकामना केबुलकार राम्ररी सञ्चालन भएको देखेर अरू केही कम्पनीले पनि केबुलकारमा लगानी गर्ने प्रस्ताव गरेका हुन्,' विभागका महानिर्देशक ढुण्डीराज पोखरेलले नागरिकसँग भने, 'कानुनी प्रावधान पूरा गरी अनुमति दिएका हौं।' देशको भौगोलिक अवस्था केबुलकारका लागि उपयुक्त भएका कारण पछिल्लो समय निजी क्षेत्रले चासो देखाउन थालेको उनले बताए।
गत जेठमा अनुमति पाएको जय धरान केबुलकारले १ अर्ब २ करोड ३८ लाख लगानी गर्ने प्रस्ताव गरेको छ। अन्य केबुलकारले भने २५ करोडभन्दा कम लगानी गर्ने प्रस्ताव गरेका छन्। जय धरानले एक पटकमा १ सय ६० यात्रु चढाउने गरी केबुलकार सञ्चालनको अनुमति पाएको हो।
त्यसै गरी सिद्धबाबाले एक पटकमा १ सय २० जना र काठमाडौं फन पार्कले ६० जना चढाउन मिल्ने गरी केबुलकार सञ्चालन गर्ने प्रस्ताव गरेका छन्। फन पार्कले भने केबुलकार सञ्चालन गर्ने स्थान स्पष्ट खुलाएको छैन।
फन पार्कले २४ करोड, सिद्धबाबाले १९ करोड ४८ लाख ३६ हजार ४ सय ६२ र फिस्टेल भ्युले २३ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका छन्। यी कम्पनीले गरेको लगानी प्रस्तावले केबुलकार पूर्णरूपमा निर्माण हुन नसके पनि निर्माण सुरु गरेपछि लगानी थप गर्न सक्नेछन्।
सबैभन्दा ठूलो लगानी प्रस्ताव गर्ने जय धरान केबुलकार साना जलविद्युतमा लगानी गरिरहेका हरि वैरागी दाहालको समूहको कम्पनी हो। यसै गरी सिद्धबाबा सञ्चालकमा शंकरनाथ शर्मा अधिकारीसहित ११ जना छन्। फिस्टेलका सञ्चालक शरदमान श्रेष्ठ हुन्।
मनकामना केबुलकारका सञ्चालक लक्ष्मणबाबु श्रेष्ठले पर्यटक ल्याउनका लागि पनि नयाँ-नयाँ स्थानमा केबुलकार सञ्चालनमा आउनुपर्ने बताए। 'नयाँ कम्पनीले केबुलकार चलाउन खोज्नु राम्रो हो,' उनले भने, 'दर्ता भएका कम्पनीले चलाउने हुन् कि होइनन् भन्ने चाहीँ हेर्नुपर्छ।'
यो क्षेत्रमा पनि अनुमति लिएर बस्ने तर काम नगर्ने प्रवृत्तिका मानिस प्रवेश गर्न सक्ने भन्दै उनले सञ्चालन गर्ने खालकालाई मात्र अनुमति दिनुपर्ने बताए। अहिले सबै सामग्रीको मूल्य वृद्धि र बैंक ब्याजसमेत बढेकाले केबुलकार निर्माणमा लागत बढी लाग्ने श्रेष्ठले बताए। 'हामीले ५२ करोडमा बनाएको केबुलकार अहिले बनाउनु परे सवा अर्बभन्दा बढी लाग्ने भइसक्यो,' उनले भने।
कम्पनी कूल लगानी प्रस्ताव
काठमाडौं फन पार्क २४ करोड
सिद्धबाबा दर्शन केबुलकार १९ करोड ४८ लाख
फिस्टेल भ्यु केबुलकार २३ करोड
जय धरान केबुलकार १ अर्ब २ करोड ३८ लाख

No comments:

Post a Comment