जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, July 5, 2011

बस त्रिशूलीमा खस्दा १२ बेपत्ता, दुईको मृत्यु

धादिङ, २१ असार
मंगलबार बिहान त्रिशूलीमा बस खस्दा बेपत्ता भएका १२ भन्दा बढी यात्रुको अझै अत्तोपत्तो छैन । दिनभर नदीमा देखिएको बसलाई पनि बेलुका भेलले बगाएको छ ।
उदयपुरको कटारीबाट राजधानी जाँदै गरेको बस ना४ख ४४२९ नम्बरको बस मंगलबार बिहान करिब ४ बजे धादिङ बेनिघाटको सडकबाट त्रिशूली नदीमा खसेको थियो । बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ भने ३६ जना घाइते छन् । बसमा चालक, सहचालक र कन्डक्टरबाहेक ४२ जना यात्रुले टिकट काटेका थिए । बस कर्मचारीबाहेक ३३ जनाको उद्धार भएको छ भने दुईजनाको मृत्यु भएको छ । अरू सातजना नदीमा बगेका छन् ।
टिकट काटेकाबाहेक अरू पनि बीचमा चढेको जानकारीका आधारमा हराउने यात्रु धेरै भएको प्रहरीले बताएको छ ।छतभरी आँप र भित्र अटाई-नअटाई यात्रु थिए । 'बिहानपख भएकाले सबै यात्रु मस्त निदाएका थिए, चालक पनि वेलावेला निदाउँदै बस चलाउँदै थिए,' घाइते यात्रुले भने, 'चालक निदाएकै कारण दुर्घटना भएको हो ।' उदयपुर त्रिवेणी-६ घर भएका चालक हिमाल कार्की प्रहरीको नियन्त्रणमा छन् । उनले दुर्घटना कसरी भयो भन्नेमा आफूले समेत थाहा नपाएको बताएका छन् ।
राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरी सामुदायिक अस्पतालमा प्राथमिक  उपचारपछि घाइतेहरूलाई काठमाडौं पठाइएको छ । नेपाली सेना, राजमार्ग उद्धारकर्ता, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजी कार्य भइरहेको छ । तर, नदीमा पानीको बहाव बढी भएकाले बेपत्ताहरूको खोजीमा कठिनाइ भएकोे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक द्वारिका घिमिरेले  बताए ।

बुटो समातेछु, र बाचेँ
मेरो नाम देवीप्रसाद पराजुली हो । घर दुधौली­-८ सिन्धुलीमा पर्छ । पेसाले म शिक्षक हुँ । मेरो चारजना परिवारसहित काठमाडौं आउन उदयपुरको खोक्साबाट हामी बसमा चड्यौँ । त्यतिवेला बेलुकीको करिव साढे ४ बजेको थियो । उदयपुरको कटारीबाट आएको बसमा मेरो हजुरआमा मनमाया पराजुली 'बी' को ३ र छोरा भुवन पराजुली ४ नम्बर सिटमा बसेका थिए भने ४ र ५ नम्बरसिटमा म र मेरो श्रीमती मेनका पराजुली बसेका थियौँ । म बसमा चढ्दा यात्रु ३० देखि ३५ जनासम्म थिए ।
गाडी निकै तेज रफ्तारमा थियो । जब हामी मिर्चियाभन्दा तीन किलोमिटर उत्तरमा पुग्यौँ, त्यहाँ बस रोकियो । त्यतिवेला बसमा १८४ क्रेट आँप छत, डिक्की र सिटको तल राखियो । बसमा लोड धेरै भयो । त्यसपछि बसको गति सुस्त हुन थाल्यो । त्यसपछि हामी मिर्चिया चोकमा पुग्यौँ त्यहाँबाट १५/१६ जना यात्रु थपिए । बसमा क्षमताभन्दा बढी यात्रु र लगेज भयो । बसमा हेर्दा सबै परिवारसहित यात्रा गरिरहेका जस्ता देखिन्थे । मैले चिनेका १०/१२ जना नै परिवारसहित यात्रा गरिरहेका थिए । ती परिवारको अवस्था के छ अहिले मलाई थाहा छैन ।
करिब १२ बजेतिर हामी हेटौँडा पुग्यौँ, त्यहाँको वैशाली होटलमा खाना खायौँ । गाडीका ड्राइभर क्षेत्री थरका रहेछन्, त्यहीँ सामान्य कुराकानी पनि भयो । खाना खाएपछि हामी त्यहाँबाट हिड्यौँ । गाडीमा लोड बढी भएका कारण रफ्तार बिस्तारै थियो । धेरै सबै यात्रु निदाएका थिए । बिहान, ३ या ४ बजेतिर हामी मलेखु आसपासमा आइपुगेका वेला गाडीले एक्कासी लिग बाहिर गयो र त्यसपछि तल नदीमा खस्यौँ । बसको रफ्तार बिस्तारै भएका कारण १२/१३ घन्टासम्म लगातार गाडी चलाएका ड्राइभर पनि निदाएको हुनसक्ने मेरो अनुमान छ । दुर्घटना त्यही भएर भएजस्तो लाग्छ ।
म एक सय मिटर तल बुटो समातेर बसेँ । त्यतिवेला सपना जस्तो लाग्यो । त्यो बुटो मैले कसरी समाते मलाई थाहा छैन । त्यही बुटो मेरो बाँच्न सहारा बन्यो । करिब आधा घन्टापछि एकजना मानिस आएर मलाई माथि सडकमा ल्याए अनिमात्र परिवारको याद आयो, त्यसपछि मेरो शरीरमा लागेका चोट पनि बिर्सेर छोराको नाम लिई कराउन थाले । करिब डेढ घन्टापछि छोरा र श्रीमती आइपुगे उनीहरू गाडीसँगै नदीमा खसेछन् । छोराले उद्धार गरेर आमालाई बचाए पनि मेरो हजुरआमा भने अहिलेसम्म फेलापर्नु भएको छैन । छोरालाई सामान्य चोट लागेछ, मेरा चार करङ भाँचिएका छन् भने श्रीमतीका पनि तीन करङ भाँचिएका छन् ।

साडी समातेर बाहिर निस्के
मेनका पराजुली  
बस नदीमा खसेपछि अगाडिको भाग पानीको सतहभन्दा माथि थियो । म त्यतैतिर परेछु । पछाडि बसेका मानिसहरू केही अगाडिपट्टी आए, भने केही त्यहीबाट नदीमा बगे । हामी एक घन्टाजति त्यही आपत्विपत गरिरह्यौँ । कतिपय विवाहमा जान भनि आएका रहेछन् । कोही रुन कराउन थाले, कोही भगवान्को नाम जप्न थाले, कतिपय शरीरभर रक्ताम्य भएर लडेका थिए ।
एक घन्टापछि लामा/लामा लठ्ठी बसमा बाहिरबाट प्रहरीले छिराए । त्यसकै आडमा ताकत भएका जति गए । तर हामी भने जान सकेनौँ । मेरो कान्छो छोरा भुवनले मम्मी-मम्मी भनेर कराएकोे सुने त्यसपछि बाँच्ने आशा जाग्यो त्योभन्दा अगाडि बाँच्ने आशा हामीले गरेका थिएनौँ ।
गाडीमा भएका मबाहेक कसै महिलाले साडी लगाएका रहेनछन् । त्यही साडी फुकाली बाहिर फाल्न छोराले भनेपछि त्यसैगरे र साडीको सहायतामा छोराले बाहिर निकाल्यो । गाडीभित्र चोट लागेका मानिसहरू धेरै थिए । ति कसरी बाहिर आए होलान् म सोच्न पनि सक्दिनँ ।
घरबाट हिँडेका हाम्रो परिवारका मुख्य व्यक्तिलाई हामीले हराएका छौँ । उहाँले काठमाडौं पुगेपछि के-के गर्ने भन्नु भएको थियो । तर, अहिले अस्पतालको बेडमा घाउभन्दा त्यो बढी बल्झेको छ । उहाँको काठमाडौं धेरै ठाउँमा जाने सपना अब खै ।

No comments:

Post a Comment