जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, August 22, 2011

साताभित्र टेस्टट्युब बेवी सेवा सुरु हुने

प्रसूति गृह अस्पताल थापाथलीमा आगामी साताभित्र टेस्टट्युब बेवी सेवा सुरु हुने भएको छ। भदौ ४ अस्पतालको वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री झलनाथ खनालले उक्त सेवाको उद्‍घाटन गर्ने कार्यक्रम रहेको अस्पतालकी निर्देशक डा. लता बज्राचार्यले बताइन्। सेवा सञ्चालनका लागि अस्पतालले दुई चिकित्सकलाई तालिमका लागि भारत पठाएको तथा भारतकै ग्वालियर होप सेन्टरबाट चिकित्सक टोली आउने तयारी भएको बज्राचार्यले जनाइन्। ‘भारतबाट आएका डाक्टरले
पाँच डाक्टर र चार नर्सलाई तालिम दिनेछन्,’ उनले भनिन्। टेस्टट्युबमा भ्रुण विकास गरी महिलाको पाठेघरमा राखेर बच्चा जन्माउने प्रविधि (आइभिएफ) का लागि सरकारले १ करोड ८० लाख रकम छुट्याइसकेको छ।
अस्पतालले पाठेघरमा सिमेन राखेर बाँझोपना हटाउने उपचार सेवा दिदैँ आएको छ। यसअघि निजी अस्पतालले टेस्टट्युब सेवा सुरु गर्दा भारतबाटै विज्ञ ल्याइएको र नेपालमा यो सेवाका विज्ञ नभएकाले भारतबाट ल्याउन लागिएको अस्पतालले जनाएको छ। निजी क्षेत्रमा सीमित यो सेवा पहिलोपटक सरकारी अस्पतालमा सुरु हुन लागेकाले सर्वसाधारणको पहुँचमा पुग्ने गरी मूल्य निर्धारण गरिने अस्पतालले जनाएको छ। ‘सुरुमा १ लाख ५० हजारभित्रमा सेवा दिने तयारी छ, पछि यो मूल्य घटाएर सकेसम्म कममा सेवा दिनेछौं,’ बज्राचार्यले भनिन्। प्रसूति गृहमा आउने अधिकांश विपन्न महिला यो सेवाबाट लाभान्वित हुने वज्राचार्यले बताइन्। निजी अस्पतालमा टेस्टट्युब प्रविधिबाट एकपटक सन्तान जन्माउँदा महिलाको स्वास्थ्य स्थिति हेरी डेढ देखि ३ लाखसम्म खर्च लाग्ने गरेको छ। महिलाको स्वास्थ्य स्थितिअनुसार खर्च घटबढ हुने ओम अस्पतालका प्रबन्ध निर्देशक डा. हरिकिशोर श्रष्ठले बताए। अघिल्लो आर्थिक वर्षभित्र सेवा सुरु गरिने भनिएकोमा उपकरण खरिद विवादले ढिलाइ भएको अस्पताल स्रोतले बताएको छ। यसबारे अख्तियारमा उजुरी परे पनि रोक नलगाएकाले सेवा सञ्चालन गरिएको अस्पतालका एक कर्मचारीले बताए। यसअघि टेस्टट्युब बेबी सेवा ओम अस्पताल एन्ड रिसर्च सेन्टर, फर्टिलिटी सेन्टर, नयाँ बजार, ग्लोबल अस्पतालले सुरु गरिसकेका छन्। हालसम्म ओममा यो प्रविधिबाट तीन सय बच्चा जन्मिसकेका अस्पतालका प्रबन्ध निर्देशक श्रेष्ठले जनाए।

No comments:

Post a Comment