जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Sunday, September 18, 2011

भूकम्पबाट देशभर क्षति, कहाँ के भयो ?

काठमाडौँ, असोज १- आइतबार साँझ आएको भूकम्पका क्रममा काठमाडौँमा भागदौड गर्ने क्रममा ३२ जना घाइते भएका छन्। गृह मन्त्रालयलाई हालसम्मको प्राप्त क्षतिको विवरणअनुसार विभिन्न स्थानका गरी छ वटा घर भत्किएको र तीनवटा चर्किएका छन्।
धनकुटा जिल्ला भेंडेटारमा पहिरो गई सडक यातायात अवरोध हुन गएको मन्त्रालयले जनाएको छ।
भूकम्पको धक्काबाट प्रभावित सर्वसाधारणलाई उद्धार तथा राहतको तत्कालै व्यवस्था गर्न तथा उच्च सतर्कता अपनाउन मन्त्रालयले सबै सुरक्षा निकाय र जिल्ला दैवीप्रकोप उद्धार समितिलाई आवश्यक निर्देशन
दिइसकेको छ। उद्धार तथा राहतमा सहयोग पुर्‍याउन सम्बन्धित सबैमा मन्त्रालयले अनुरोध गरेको छ।
भक्तपुर- यहाँ १४ वटा घर भत्किएको छ भने करिब २० जनाभन्दा बढी घाइते भएका छन्।
भूकम्पबाट भक्तपुरको गोल्मढीमा सर्वज्ञराज नागशाहीको, खौमामा कृष्णराम बाटीको, व्यासीमा लक्ष्मीनारायण वासुकला र बुद्धिकृष्ण लाखाजुको भर भत्किएको महानगरीय प्रहरी परिषरका प्रमुख एवम् प्रहरी उपरीक्षक नारायणसिंह खड्काले बताए।
यसैगरी थिमीमा एकवटा, नंखेलमा एकवटा र पिखेलमा एकवटा र विभिन्न स्थानमा गरी १४ वटा घर भत्किएको प्रहरीले जनाएको छ।
भूकम्प गएर घर भत्किएको देखेर भक्तपुरका सुजन लगू बेहोस भएर घाइते भएपछि भक्तपुर अस्पतालमा उपचार गरिएको छ।
यस्तै थिमी गठ्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालमा भूकम्पका कारण घाइते भएर १७ जना बिरामी उपचारका लागि ल्याइएको छ।
भूकम्प गएपछि घरको छतबाट हाम्फाल्ने, पर्खाल नाघ्ने, भागदौड गर्ने, सामान सार्नेक्रममा धेरै घाइते भएर अस्पताल ल्याइएको र घाइतेमध्ये अधिकांश महिला र बालबालिका रहेको अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले बताए।
धेरैजस्तो घाइतेको हातखुट्टा भाँच्चिएको, टाउको लगायतका विभिन्न अङ्गमा चोट लागेको बताउँदै उहाँले घाइतेको उपचार भइरहेको जानकारी दिए।
जिल्लाका विभिन्न स्थानमा थप घर भत्किएर घाइते भएकालाई अस्पताल लगिएको बताइएको छ।
फेरि पनि भूकम्प आउन सक्ने भन्दै राति अबेरसम्म सूर्यविनायक, जगाते, थिमीलगायतका सडक तथा टोलटोलको खुल्ला क्षेत्रमा जम्मा भएर बसेका छन्।
धनकुटा- विभिन्न ठाउँका घर चर्किनाका साथै भेडेटार-३ मा ठूलो पहिरो जाँदा कोसी राजमार्ग अवरुद्ध भएको छ।
भूकम्पका कारण धरान धनकुटा सडकखण्डको मालबासेस्थित भोजपुरे घुम्तीमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो।
पहिरो खसेपछि धरानबाट धनकुटातर्फ आउँदै गरेका र धनकुटाबाट धरानतर्फ जाँदै गरेका दर्जनौं सवारी साधन बीच बाटामा नै अलपत्र परेका छन्।
पहिरो हटाउनका लागि भेडेटारबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको भए पनि पहिरो ठूलो रहेकाले राति नै हटाउन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।
भूकम्पका कारण धनकुटाबजार लगायत जिल्लाको जितपुर, लेगुवा, मारेकटहरे, भिरगाउँ लगायतका विभिन्न गाविसका घर चर्किएको स्थानीयबासीले बताएका छन्।
भूकम्पका कारण केही समय टेलिफोनसमेत अवरुद्ध भई हालसम्म पनि पूर्णरूपमा सञ्चालनमा नआएकाले अन्य गाविसबाट क्षतिको विवरण आइनपुगेको जिल्ला प्रहरी कार्यालय धनुकटाले जनाएको छ।


सङ्खुवासभा : भूकम्प जाँदा घाइते भएकाको जिल्ला अस्पतालमा भिड लागेको छ। डाक्टर नहुँदा घाइतेको उपचारमा समस्या परेको अस्पताल स्रोतले जनाएको छ।
खाँदबारी नगरपालिकामा अधिकांश पुरानो घर भत्केका छन्। जिल्लाकै तामाथोक गाविसको मुढे शनिश्चरे बजारका करिब ३० प्रतिशत घर भत्केका छन् भने मानवीय क्षतिको जानकारी नआए पनि भौतिक क्षति धेरै भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गणेश चन्दले बताए।
राससको समाचार तयार गर्दै गर्दा रासस प्रतिनिधि राजु थापालाई भूकम्प आई भाग्नेक्रममा हातखुट्टामा चोट लागेको छ र उनको हातमा १६ टाँका लगाइएको छ।
भद्रपुर- चन्द्रगढीस्थित रासस अञ्चल कार्यालयको पर्खाल र ढोका भत्केको छ।
यहाँका बिजुली र टेलिफोनका थुप्रै खम्बा लडेका छन्। टेलिफोन अवरोधका कारण क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
विराटनगर - विराटनगर उपमहानगरपालिकालगायत मोरङ जिल्लाको ग्रामीण जनजीवन त्रसित भएको छ।
उर्लाबारीस्थित एउटा मन्दिरको पर्खाल भत्केको छ भने विराटनगर बजारमा भागदौड हुँदा एकजना घाइते भएका छन्।
स्याङ्जा - दार्सिङ दहथुम गाविस-९ बयरघारीस्थित अर्जुन अधिकारीको घर भत्किएको छ।
प्रहरी चौकी दहथुम बयरघारीका अनुसार अधिकारीको दुईतले कच्ची घरको उत्तरतर्फको गारो भत्किएको छ भने पुरै घर चर्किएको छ।
गारो भत्किए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
भूकम्पको झट्का महसुस भएपछि मुख्य बजार क्षेत्रका सर्वसाधारण चिच्याउँदै घर बाहिर निस्केका थिए।
बनेपा - काभ्रेमा मानवीय क्षति नभए पनि भौतिक संरचनामा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीका अनुसार आधा दर्जनभन्दा बढी कच्ची घर भत्केको छ। सो अनुसार जैसीथोक गाविस-९ बस्ने भेषबहादुर खड्काको कच्ची घर पूर्णरुपमा क्षति भएको छ।
त्यस्तै, पाँचखाल गाविस-१ खावा बस्ने नारायण तामाङको जस्ताको छाप्रो भत्केको छ। त्यस्तै, कुचादेवी गाविस-३ बस्ने सत्यराम थापाको तीनतले कच्ची घर पूर्णरुपमा भत्केको छ।
यसैगरी, देउपुर गाविस-५ बस्ने विष्णु मैनालीको दुईतले कच्ची घरमा क्षति पुगेको छ। त्यस्तै, महेन्द्रज्योति गाविस-४ मा रेशम थापाको घर पनि भत्केको छ। यसैगरी, कानपुर गाविस-७ मा रहेको प्रहरीचौकी भवनमा समेत सामान्य क्षति पुगेको छ।
त्यस्तै, पनौती नगरपालिका-२ बस्ने केदार तिमिल्सिनाकी छोरी २४ वर्षीया वन्दना तिमिल्सिना भूकम्पका कारण बेहोस भएपछि बनेपास्थित सिर मेमोरियल अस्पताल बनेपामा लगेर उपचार गराइएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दोलखा - विभिन्न गाविसका घरमा क्षति पुगेको छ। काब्रे गाविस वडा नम्बर ९ कालथोकका उद्धव भट्टराईको घर भत्किएको छ।
यस्तै, ओराङ गाविसस्थित वडा नम्बर १ अम्बरबहादुर ठकुरीको घर पनि आधा भत्किएको त्यहाँबाट दीपक ठकुरीले जानकारी दिएका छन्।
यस्तै जिरी गाविस वडा नम्बर १ स्थित मानबहादुर कार्की लगायतका आसपासका चार वटा घर भत्कने अवस्थामा पुगेको स्थानीय तेन्जिङ शेर्पाले बताए।
कार्की परिवार छिमेकीको घरमा शरण लिएर बसेका छन्।
घ्याङसुकाठोकर गाविस वडा नम्बर ३ बाँसबोटेका हरिबहादुर बुढाथोकी, चन्द्रबहादुर बुढाथोकी, ओमबहादुर बुढाथोकी लगायतका घर चर्किएर भत्किने अवस्थामा पुगेको त्यहाँबाट प्रकाश बुढाथोकीले जानकारी दिए।
साथै नाम्दु गाविसको वडा नम्बर ९ स्थित धनलाल चौलागाईंको घर चर्किएको विष्णु चौलागाइंले जानकारी दिए।
नाम्दुकै वडा नम्बर ८ का ढालबहादुर खड्काको तीनतले घर र नाम्दु ५ मार्बुस्थित कान्छी विकको दुईतले घरमा भूकम्पका कारण क्षति पुगेको छ।
भूकम्प आएपछि सदरमुकाम चरिकोटमा मानिसको भागदौड मच्चिएको थियो।
दोलखाका विभिन्न सञ्चारमाध्ययममा कार्यरत सञ्चारकर्मी भूकम्प आएपछि कार्यथलो छाडेर बाहिर निस्किएका थिए।
रामेछापको डडुवा २ का शान्ति तामाङको घर पूर्णरुपमा भत्किएको छ भने सोही गाविस वडा नम्बर ३ का राङदाङ तामाङको घर पनि चर्किएको छ।
रामेछापकै फुलासी ४ का सलानसिंह तामाङको घर पनि चर्किएको खबर प्राप्त भएको छ।

No comments:

Post a Comment