जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, March 26, 2013

यसरी भयो घटना मलेसिया घटना

मलेसिया, चैत्र १२ - मलेसियाको जोहोरस्थित पासिर गुडाङमा रहेको एक कम्पनीको होस्टलमा नेपालीमाथि आइतबार सांघातिक आक्रमण भएको छ । तामान चिन्तानामा रहेको नेपाली कामदार बस्ने होस्टलमा सामान्य विवादमा स्थानीय युवाको करिब डेढ सय जनाको समूहले धारिलो हतियारसहित आइतबार साँझ करिब ६ बजे आक्रमण गर्दा दुई नेपाली गम्भीर घाइते भएका छन् ।

सामरी-४ नुवाकोटका राजु विक र महमतपुर-४ रौतहटका रामलाल साह गम्भीर घाइते भएका हुन् । तीबाहेक अन्य केही सामान्य घाइते भएको दूतावासले जनाएको छ । घाइते साहका हातगोडाहरू भाँचिएका छन् । विकको बायाँ खुट्टा भाँचिएको छ । हाल उनीहरूको स्थानीय सुल्तान इस्माइल अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्न आरोपमा प्रहरीले ९ नेपाली, दुई म्यानमारी र दुई स्थानीय युवालाई हिरासतमा लिएको दूतावास स्रोतले बताएको छ । हिरासतमा रहेका नेपालीमा सन्तोष पौडेल, रमेशकुमार भुजेल, अमन गुप्ता, रगन राई, मनोज सुनार, नीलकण्ठ जैसी, दलबहादुर बयम्वु, पवन साह र राकेश राज छन् ।
घटनालगत्तै त्यहाँ रहेका नेपालीले सञ्चारकर्मी र दूतावासका प्रतिनिधिलाई टेलिफोनमार्फत जानकारी गराइएपछि सोमबार सबेरै यसबारे बुझ्न दूतावासको एक टोली घटनास्थल पुगेको थियो । टोलीले घाइते नेपाली, स्थानीय प्रहरी प्रशासन र घटनास्थलको स्थलगत अवलोकन गरेको थियो ।
'हामीले घाइते र स्थानीय प्रहरी प्रशासनलाई पनि भेट्यौं । घटनास्थलमा पनि अन्य नेपालीसँग बुझ्यौं,' सोमबार घटनास्थल पुगेका दूतावासका एक प्रतिनिधिले भने । उनका अनुसार इको बयल, क्रेट ब्रास, केएसएम र इभियाप सप नाम गरेका विभिन्न चार कम्पनीका कामदार उक्त होस्टलमा बस्दै आएका थिए । झगडाले उग्ररूप लिएपछि आइतबार रातभर त्यस क्षेत्रमा तनाव छाएको थियो । सोही होस्टलमा बस्ने नुवाकोटका सागर न्यौपानेका अनुसार घटनापछि विभिन्न दुई कम्पनीले सोमबारै आफ्ना कामदारलाई अन्यत्र सारेका छन् । हाल उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । कसैलाई पनि प्रवेश दिइएको छैन ।
'सुरुमा एक स्थानीय युवासँग सामान्य विवादपछि नेपालीमाथि फलामे रडलगायत धारिला हतियारसहित होस्टलमै प्रवेश गरी आक्रमण भएको थियो,' घटनास्थलका एक प्रत्यक्षदर्शी सुरज यादवले भने, 'कम्तीमा डेढ/दुई सय जना स्थानीय आएका थिए । हामी ग्राउन्ड फ्लोरमा भएर बाँच्यौं ।' दूतावासको टोली अझै थप जानकारी लिन मंगलबारसम्म उतै रहने बताइएको छ । घटनास्थल राजधानी क्वालालम्पुरबाट करिब ३ सय ४४ किमी पश्चिममा पर्छ ।
नेपालीको मृत्यु भएको छैन : दूतावास
दूतावासले नेपालीको मृत्यु भएको कुनै आधिकारिक निकायबाट पुष्टि नभएको जनाएको छ । दूतावासले सोमबार अपराह्न एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ । साथै संयमित रहन सबै नेपालीलाई आग्रहसमेत गरेको छ । घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दूतावासले नेपालीको सुरक्षा माग गर्दै मलेसियाली परराष्ट्र मन्त्रालयलाई सोमबारै एक पत्र पठाएको छ । 'परराष्ट्रको कन्सुलर शाखामार्फत घटना र सुरक्षा मागलगायत विषयमा ध्यानाकर्षण गराउँदै पत्राचार गरेका छौं ।' कार्यवाहक राजदूत लेखनाथ भट्टराईले सोमबार साँझ कान्तिपुरसित भने, 'घटनाबारे हामी दुखित छौं । सबै नेपालीलाई संयमित हुन हाम्रो आग्रह छ ।'
यसरी भयो घटना
सदाजस्तै हामी आइतबार पनि कम्पनीमा काममै थियौं । सबै आ-आफ्नै धुनमा थियौं । म कामबाट करिब ८ बजे होस्टल फर्किएको थिएँ । बेलुका करिब ६ बजेको थियो होला, होस्टलमा दुई जना नेपालीबीच सामान्य विवाद भएछ । विवाद गर्नेमध्ये एकजना अवैधानिक भएको पाइयो र उनी अर्कै कम्पनीमा काम गर्छन् । अन्तै बस्छन् । त्यसअघि पनि उनीहरूको सामान्य विवाद थियो रे । हामीले बुझेअनुसार हाम्रा होस्टलका नेपाली साथी र ती नेपाली साथी पसलमा किनमेल गर्ने क्रममा भेट भएपछि अझै विवाद बढेको रहेछ ।
 त्यसपछि करिब सवा ८ तिर दुई स्थानीय युवा बाइक लिएर आइपुगे र होस्टलभित्र प्रवेश गरी तिनै युवाको समर्थनमा नेपालीको अर्को पक्षलाई आक्रमण गर्न सुरु गरे । उनीहरूको आक्रमणको नेपालीले प्रतिकार गरे । त्यसपछि ती दुवै युवा त्यहाँबाट भागेछन् । अनि नेपाली पनि एकै ठाउँजस्तो जम्मा भए । अर्को पक्षका नेपाली पनि त्यतिबेलै भागे । हुल बढ्दै गयो तर केहीबेरपछि हुलका हुल स्थानीय युवा आए र होस्टल प्रवेश गरे । त्यतिबेलासम्म एकपक्ष झगडा नगरौं भन्ने पक्षमा थियो भने अर्को पक्ष हातपात गरिहाल्ने तयारीमा । तर पछि हानाहान सुरु भयो ।
होस्टल पाँच तलाको छ । ग्राउन्ड फ्लोरमा प्रायः केही पारिवारसहित बस्ने पनि छन् । तर सबै कामदार नै हुन् । त्यतिबेलासम्म म पनि बाहिरै उभिएर हेर्दै थिएँ । झगडासहित लुटपाट पनि भयो । ल्यापटप, फोन, कपडाको ब्याग, चुरोटसम्म लिएर गए । अकस्मात झडप बढ्दै गएपछि कुट्न आउँदै गरेका हुललाई यहाँ पारिवारिक मान्छे छन् भनें । त्यसपछि उनीहरू त्यतापट्टि पसेनन्, अनि मलगायत केही साथीहरू कोठाभित्र पस्यौं र झ्यालढोका थुनेर बाँच्यौं ।
(एकै होस्टल तर फरक कम्पनीमा कार्यरत घटनाका प्रत्यक्षदर्शी सागर न्यौपानेसँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित)

No comments:

Post a Comment