जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, October 19, 2010

गाउँघारको सुनसान दसैँ

यस वर्षको दसैँ घर-आँगनमा भित्रिसकेको छ । यो सम्पूर्ण नेपालीको कुनै न कुनै आस्थासित गाँसिएको पर्व हो । सहरबजारमा दसँैको रौनक प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ । सहरमा दसैँका नाममा आफ्नो आर्थिक हैसियत प्रदर्शन गर्ने, अनावश्यक तडकभडक देखाउने र सकीनसकी होडबाजीमा उत्रनेजस्ता विसंगति जन्मिएका छन् । जसले गर्दा हुनेखाने र हुँदा खानेबीचको खाडल व्यापक फराकिलो हुँदै गएको छ ।
तर, गाउँघरमा मनाइने दसैँमा भने विगतको जस्तो रौनक देखिन्न । अहिले हाम्रा गाउँघर सुनसान छन् । कामको खोजीमा बिदेसिएका युवा उतै छन् । गाउँघरमा पहिलेजस्तो युवायुवती भेटिँदैनन् । जसले गर्दा आफ्ना छोराछोरीको पर्खाइमा रहेका बाबुआमा दसैँ आए पनि उदास छन् । बिदेसिएका बाबु फर्किने आशामा तिनका छोराछोरी बाटातिर आँखा ओछ्याइरहेका भेटिन्छन् । परदेश लागेका आफ्ना पति दसैँमा टुप्लुक्क आइपुग्ने झिनो आशामा दिन काटिरहेका छन् कैयौँ महिला । त्यसैले गाउँघरको दसैँ निकै सुनसान लाग्न थालेको छ ।
पहिले-पहिले दसैँ आउनुभन्दा केहीअघिदेखि नै गाउँघरमा दसैँको रौनक सुरु भइसक्थ्यो । दसैँका लागि गाउँभरका युवायुवती भेला भएर आ-आफ्ना गौँडा-तगारा, बिग्रेभत्केका सार्वजनिक धारा, पाटी, पौवा, बाटोघाटो आदिको मरम्मत र सरसफाइमा बडो उत्साहसाथ जुट्थे । एकप्रकारको छुट्टै जोस, जाँगर र उमंगले भरिएका युवायुवती आ-आफ्नो टोलका सामूहिक काममा बडो उत्साहले जुट्थे । तर, अहिले गाउँघरका ती गौँडा-तगारा, बाटोघाटो, सार्वजनिक पँधेरा टुहुरा बनेका छन् । अधिकांश यस्ता संरचना भत्किसकेका छन् । बाटोघाटो झाडीमा परिणत भइसकेका छन् । अधिकांश सार्वजनिक पँधेराबाट पानी झर्दैन । किनकि, यिनले कम्तीमा पनि वर्षको एकपटक मात्रै भए दसैँका नाममा सरसफाइ र मरम्मत-सुधार गर्ने जोसिला युवा हात र जाँगर देख्न नपाएको नै वर्षौं भइसक्यो ।

गाउँघरमा मनाइने दसैँको मुख्य आकर्षण भनेको चौतारामा हालिने लठारेपिङ र खुला चौरमा हालिने लिंगेपिङ पनि हुन् । लिंगेपिङ हाल्न बाँसको लिंगा काट्ने र बोक्ने काम कम्ती रमाइलो हुन्नथ्यो । तर, अहिले बाँसका मोटा-मोटा लिंगा बोक्न
बलियाबांगा युवाको गाउँघरमा खडेरी छ । लिंगेपिङका लागि लठारो बाट्ने वेलामा सानोतिनो मेला नै लाग्थ्यो । गाउँभरिका युवायुवती, बालबालिका सबैले घरघरबाट बाबियो संकलन गरी बेलुका एकै ठाउँमा भेला भएर हाँसखेल गर्दै लठारो बाट्थे । तर, अहिले पिङ बाट्नुपर्‍यो भने लठारोका तीनवटा पयो समात्ने युवाको समेत अभाव हुन थालेको छ । अझ अहिले त दसैँमा खसी-बोका काट्दा समातिदिने सहयोगी हातको समेत अभाव हुन थालेको छ ।
विजयादशमीपछि निधारभरि रातो टीका लगाएर बाटैभरि ताँती लाग्ने बटुवा पनि हिजोआज घट्दै गएका छन् । दसैँको टीकाटालोका लागि आफन्तकहाँ गएर भेटघाट गरी आत्मीय साइनो नवीकरण गर्ने पर्व पनि हो दसैँ । तर, हिजोआज त्यसरी आत्मीयता साटासाट गरी आपसी सम्बन्धलाई कसिलो पार्ने क्रम पनि पातलिँदै गएको आभास हुन थालेको छ । जसले गर्दा पारिवारिक पुनर्मिलनको चाडका रुपमा समेत चिनिने दसैँको रौनक पनि फिका हुँदै जान थालेको छ ।
अहिले कुनै पनि चाडपर्व विकृतिबाट मुक्त छैनन् । प्रत्येक पर्वमा कुनै न कुनै रूपमा विकृति भित्रिएकै छन् । यस्तोमा दसैँ पनि त्यसबाट अछुतो रहने त सम्भावनै छैन । चाडपर्वका नाममा भित्रिएको सबैभन्दा डरलाग्दो विकृति त अनावश्यक तडकभडक र फजुल खर्च नै हो । यसले समाजमा हुनेखाने र हुँदा खाने वर्गबीच डरलाग्दो वर्गीय विभेद खडा गरेको छ । जसले गर्दा यस्ता चाडपर्वको सांस्कृतिक महत्त्व नै खुम्चिएको छ । चाडपर्वलाई विकृतिबाट टाढै राखी यसका राम्रा र सकारात्मक पक्षलाई जोगाएर हार्दिकता साटासाट गर्दै मनाउनुपर्नेमा त्यसो हुन सकिरहेको छैन । बहुसांस्कृतिक मुलुक भएकाले हाम्रा प्रत्येक चाडपर्वका आ-आफ्नै अर्थ र विशेषता रहेका छन् । त्यसलाई जोगाएर आ-आफ्नो मौलिक सांस्कृतिक चिनारी जोगाउनु हाम्रै दायित्व हो । त्यसैले दसैँका नाममा भित्रिएका तमाम विकृति पन्छाएर यसको सांस्कृतिक गरिमा जोगाउनु आजको पहिलो आवश्यकता बनेको छ ।

No comments:

Post a Comment