जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, December 16, 2010

प्रेम र जीवन

प्रेम । यसको व्याख्यामा हजारौं कविता लेखिएका छन्, गीत गाइएका छन् र सिनेमा बनाइएका छन् । काव्य, कला र दर्शनमा प्रेमले जति अरू कुनै कुराले सायदै ठाउँ पाएको छ । कवि, लेखक, चित्रकार, साधु, योगी र नेतासम्म पनि प्रेमको महिमा गाएर कहिल्यै थाक्दैनन् । सबैको मुखमा ज्यादा आइरहने शब्द सायद प्रेमै हो । तर जति नै गफिए पनि संसारमा प्रेम प्रतिक्षण दुर्लभ हुँदै गएको छ । यो असाध्यै चर्चा गरिएको तर अनुभव कमले गरेको एउटा रहस्य हो ।

जीवन र प्रेम गहिरोगरी जोडिएका छन् । प्रेम छैन भने जीवन जीवनजस्तो हुँदैन । प्रेमहीन जीवन लहर विनाको सागरजस्तो कुरूप, गतिविनाको नदीजस्तो निष्प्राण, सुगन्धविनाको फूलजस्तो निरस र फलविनाको वृक्षजस्तो अनुर्वर हुन्छ, बाँच्नलायक हुँदैन ।
प्रेमको सम्बन्ध चेतनासँग छ । प्राणी जति चेतनशील हुन्छ, उति प्रेमपूर्ण । जति प्रेमपूर्ण हुन्छ, उति होशपूर्ण । जति होशपूर्ण हुन्छ, उति आनन्दित । वनस्पतिमा चेतना कम छ, त्यसैले तिनमा प्रेम पनि हामीले बुझ्ने स्तरको प्रस्ट छैन । पशुपन्छी वनस्पतिका तुलनामा अलि चेतपूर्ण छन्, तिनको प्रेमको आभास हामी सजिलै पाउँछौं । चेतनाको सीमितताका कारण मानवइतर प्राणीको प्रेमले शरीरको घेरा तोड्नसकेको छैन । तथापि कृत्रिमता नमिसिएकाले, मान्छेको जस्तो सभ्यताको आडम्बर प्रदर्शन गरिरहनुपर्ने झन्झट नभएकाले तिनको जीवनमा कृत्रिमता छैन ।
थाहा छ, मान्छे चेतनाका हिसाबले यो चराचर जगतको श्रेष्ठ प्राणी हो । उसको प्रेम फराकिलो र विराट हुनुपर्ने हो । तर यस्तो सायदै भएको छ । मान्छेको प्रेम पनि पशुको झैं शरीरकेन्द्री छ । भ्रमवश उसले यौनलाई प्रेम ठानेको छ । एक पश्चिमा विचारकले त भनेका पनि छन्, ‘प्रेम यौनको गलत उच्चारण हो ।’
व्यक्तिविषेशका प्रति, उसको कुनै खुबी या सौन्दर्यको वशिभूत उब्जिएको भाव प्रेम होइन, वासना हो । वासना सधैं बदलिरहन्छ । आफूलाई राम्रो लागेको मान्छे वा वस्तुभन्दा पनि राम्रो अर्काे व्यक्ति वा वस्तु देखेको क्षण मनमा त्यो प्राप्त भइदिए हुन्थ्यो भन्ने कामना उब्जिन्छ । यो मुच्र्छना हो, बेहोशी हो । बेहोशीले दुःख सिवाय केही दिँदैन ।
मान्छेलाई अक्सर यही बेहोशीले पछयाएको छ । र नै त यतिका दुःखी छन्, रोगी हृदयका रुग्ण मानिसहरू छन्, अपराध र युद्ध छन् । प्रेम र घृणा दुई विपरीत शब्दका रूपमा लिइन्छ । तर मलाई लाग्छ, यसमा विपरीत केही पनि छैन । प्रेमको मात्रा साह्रै कम, लगभग शून्यको स्थितिमा घृणाको जन्म हुन्छ, अहंकारको जन्म हुन्छ । घृणाको अनन्त जालोले जेलिएको मान्छेले जे पनि गर्न सक्छ, हत्या पनि, युद्ध पनि । घृणाको मात्रा शून्य भएको अवस्थामा जे बाँकी रहन्छ, त्यही प्रेम हो, जीवन हो । प्रेमले पूर्ण जीवन बाँचिरहेको मानिस अरूलाई दुःख दिन सक्दैन । लुट, हत्या र बलात्कार प्रेमकै अनुपस्थितिमा लाग्ने सरुवा रोग हो । युद्धपिपासु रोमन सम्राट क्लाउडिअसले विवाहमा उसै प्रतिबन्ध लगाएका थिएनन् । उनी देशका सबै युवालाई भर्ती गरेर युद्धमा पठाउन चाहन्थे । तर विवाह गरेका र प्रेममा परेकाहरू गएनन्, जान चाहेनन् । प्रेमपूर्ण जीवन छाडेर मारकाटमा को जान्छ ? सन्त भ्यालेन्टाइनले युवायुवतीको गोप्य रूपमा विवाह गरिदिन थाले । क्लाउडिअसले उनको ज्यानै लिए । उनै सन्तको सम्झनामा १४ फेब्रुअरी ‘प्रेम दिवस’का रूपमा मनाइन थालेको हो ।
बिहा गर्ने अनुमति पाए पनि आजपर्यन्त संसारभरका सिपाही ब्यारेकमा राखिन्छन् । यसको गहिरो अर्थ छ । लामो समय महिलाको सम्पर्कमा नआएको पुरुषको हृदय प्रेमशून्य हुन्छ । प्रेमशून्य हृदयले मात्रै युद्ध लड्न सक्छ, मान्छे मार्न सक्छ ।
अक्सर सिपाहीले सामूहिक बलात्कार गरेको समाचार सुन्नमा आइरहन्छन् । प्रेमको अलिकति पनि अनुभव भएको मान्छेले बलात्कार गर्न सक्दैन, त्यो पनि सामूहिक । प्रेमिका वा पत्नीभन्दा पर लामो समय बस्दा सैनिकलाई हिंसा स्वाभाविक लाग्दै जान्छ । उनीहरू तत्काल आक्रमणमा उत्रने स्वभावका हुन्छन् । प्रेमको संसर्गमा बाँचिरहेको मान्छेमा हिंसाप्रतिको यो तत्परता पटक्कै हुन्न ।
विश्वभर बढिरहेको अपराध, युद्ध र कलहसँग कतै न कतै प्रेमको सम्बन्ध छ । प्रेमको जीवनदायिनी धारा कतै पक्कै टुटेको छ । नत्र किन दुव्र्यसनी बढिरहेका छन्, किन झगडाको आगो सल्किरहेको छ, किन वेश्यावृत्ति फस्टाइरहेको छ ? किन ?
अधिकांशले प्रेमलाई यौवनको आवेग ठान्छन् । सहवासलाई यसको प्राप्ति मान्छन् । यौन र प्रेम छुट्टाछुट्टै कुरा हुन् । जसरी प्रेम प्राणीको स्वभाव हो, यौन पनि आवश्यकता हो । तर पशुलाई झैं यौन स्वच्छन्दता मान्छेलाई नभएकाले, तथाकथित सभ्यताले यसको प्राकृतिक वेग रोकिदिएकाले मान्छेको मनमा यौनको गहिरो तृष्णा छ । त्यो तृप्त नभएसम्म प्रेमको टुसा पलाउन सक्दैन ।
सन्तहरू भन्छन्, साँचो प्रेमको अनुभव भएपछि मात्रै सत्यको बोध हुन्छ । सत्यको बोध भएपछि मात्रै मान्छे जाति, देश, भाषा, सभ्यता र आफ्नो-पराइको साँघुरो घेराबाट माथि उठ्न सक्छ । उसको हृदयमा संसारका सबै प्राणीप्रति करुणा जाग्छ । जीवनमा झगडा गर्नुपर्ने कारणै कहाँ छ र ?

No comments:

Post a Comment