जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Sunday, January 30, 2011

अन्धो चील


एक भिखारीले इब्राहिम आदमसँग केही पैसा भीख माग्यो । इब्राहिमले भिखारीलाई भने, 'तिमी मसँग हिँड, म तिमीलाई खानपिनको राम्रो व्यवस्था गरिदिउँला ।'
इब्राहिमले उसलाई एउटा दोकानदारकहाँ लगे र दोकानदारलाई कुनै सानोतिनो काम दिन भने । त्यसपछि भिखारी स्वयम् रोजीरोटी गर्नसक्छ भन्ने उनको विश्वास थियो । दोकानदार इब्राहिमको खुब सम्मान गर्दथ्यो । त्यसैले उसले थप केही नसोधी भिखारीलाई रोजीरोटी दियो । उसले भिखारीलाई नजिकैको सहरमा गएर सामान बेच्ने काम दियो ।
केही दिनपछि भिखारी पहिलेजस्तै सडकमा भीख मागिरहेको थियो । यस्तो देखेर इब्राहिमले उसलाई सोधे, 'तिमीलाई दोकानदारले सामान बेच्ने काम दिएको थियो, तिमी फेरि किन भीख माग्दै छौ ?' भिखारीले भन्यो, 'एकदिन यात्राको क्रममा मैले मरुभूमिमा दुवै आँखा अन्धो भएको चील देखेँ । मलाई आश्चर्य लाग्यो अन्धो चीलले आफ्नो गुजारा कसरी चलाइरहेको होला ? मैले केही समय उसको दिनचर्या ध्यानले हेरेँ । मैले छिटै थाहा पाएँ कि एउटा अर्कै चीलले उसको खानपिनको बन्दोबस्त गर्दो रहेछ । मलाई लाग्यो, अल्लाहले नै त्यो अन्धो चीलको रेखदेखका लागि यस्तो बन्दोबस्त गर्नुभएको रहेछ । त्यसैले अल्लाहले नै मेरो पनि रेखदेख गरिहाल्नुहुन्छ । अनि त मैले दोकानदारको सामान फिर्ता गरिदिएँ र म भीख माग्न थालेँ । मलाई यसैगरी अल्लाहको आशीर्वाद प्राप्त भइरहेको छ ।'
इब्राहिम छक्क परे, केहीबेर सोचे र उसलाई भने, 'तिमीले त अन्धो चीलको बारेमा सोच्यौ त्यो अन्धो चीलको साटो तिमीले त्यो चीलजस्तो बाँच्ने बारेमा किन सोचेनौ, जो उड्छ र अरूको पनि हेरचाह गर्छ ।'

आदर्श आचरण

सुफी गुरु इब्न-अल-हुसैनले एक चेलालाई सोधे, 'दुनियाँमा शान्ति र पवित्रता कसरी आउँछ ?'
हुसैनले भने, 'दमिस्क भन्ने ठाउँमा अबु मुसा अल-कुमासी नामको एक शेख थिए । उसको कर्मशीलता र असल चरित्रको सबै उदाहरण दिन्थे । तर वास्तवमै ऊ असल थियो कि थिएन कसैलाई थाहा थिएन । एक दिन कुनै कारणले शेखको घर ढल्यो शेख र उसकी श्रीमती भग्नावशेषमा पुरिए । आत्तिएका छिमेकीहरूले शेखको खोजीमा भग्नावशेष खन्न थाले ।'
हुसेन भन्दैगए, 'उनीहरूले शेखकी श्रीमतीलाई भग्नावशेषबाट बाहिर निकाले । भग्नावशेषबाट निस्कनासाथ उसकी श्रीमतीले छिमेकीहरूलाई भनिन्, 'मेरो चिन्ता लिनुपर्दैन । मेरो लोग्नेलाई बचाउनुस् । वहाँ त्यहीँ कुनामा बस्नुभएको थियो ।' छिमेकीहरूले शेखकी श्रीमतीले देखाएको स्थानबाट भत्केका चिजबिज हटाए । शेख काठको दलिनले थिचिएको थियो । छिमेकीहरूलाई देख्नासाथ शेख चिच्यायो, 'म त ठीक छु ! तर मेरी श्रीमतीलाई बचाऊ, ऊ त्यहीँ कुनामा दबिएकी होली ।' जब कोही यिनै पतिपत्नीले जस्तो आचरण गर्दछन् तब दुनियाँमा शान्ति र पवित्रताको वृद्धि नै हुनेछ ।'

No comments:

Post a Comment