जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, January 17, 2011

कर्तव्यले गाँजेको जिन्दगी

- सुशीला देउजा
 
लौ आयो हजुर ताजा ताजा तरकारी......प्रभात फेरी लगाए जस्तै हरेक विहानी सुनिने आवाज हो यो । उसको यो आवाजले मलाई खाना पकाउने समयको आभास हुन्छ । ठीक खाना पकाउने समयमा ऊ आई पुग्छ । उसको आवाज र आगमनसँग कुनै अदृश्य सम्बन्ध गाँसिएजस्तै कुनै दिनको अनुपस्थितिले मात्र पनि कताकता असजिलो र केके नपुगेको महसुस हुन्छ । तराई-मूलको एक बृद्ध सधैँजसो घरअगाडि आएर आवाज दिन्छ ।
उसको पाइलाले न जाडो भन्छ न गर्मी ..न हुरीबतास न दूरी । सोच्दछु निरन्तर चलिरहने, कहिले नथाक्ने ती सुकेका सिकुटे खुट्टा कुन उद्देश्य र शक्तिले क्रियाशील भइरहेछ । भोकप्यास थकाई केहीको पनि पर्वाह नगरी लामो समयदेखि पाइताला खियाउँदै आएका हुन् यिनले । प्रत्येक बिहान ठीक ५ बजे तरकारी बजार पुग्छन् । चाहिने जति तरकारी किनी साइकलको टोकरीमा राखी साइकल डोराउँदै जोडजोडले तरकारीको नाम लिँदै घरघर पुग्छन् । दिनभर कहाँकहाँ कति हिँड्छन् पत्तो हुँदैन उनलाई । साँझतिर खाली टोकरीकासाथ थकित शरीर लखतरान भई डेरा पुग्छन् । यो हो उनको दिनचर्या । धेरै वर्ष भइसक्यो यो परिचित आवाज सुन्दै आएको मैले ।
जहिलेदेखि मैले उसलाई देखेँ । त्यसबेलादेखि अहिलेसम्ममा उसको लवाइ र शरीरको प्राकृतिक बनोट उस्तै देखेको छु । त्यसमा कुनै बढोत्तरी या भनौँ मोटोघाटो देखेको छैन । बरु शरीर गल्दै गएको जस्तो लाग्छ । जस्तै जाडो गर्मीमा पनि उही एक सरो धोती कमिज खुट्टामा हिँड्दाहिँड्दा खिइसकेको प्लास्टिक चप्पल, सुकेनास लागेजस्तै शरीर, कपाल जिङ्गरिङ्ग, मुहार रसविहीन खङरङ्ग सुकेको । उमेर धेरै नभए पनि दुखपीर, परिश्रमको थप्पड सहँदा सहँदा होला समय अगावै वृद्धजस्तो लागेको । अब त एक दुई दाँत पनि झरिसकेछ । तै पनि घरघर हिँड्दै उत्तिकै खटेको देखिन्छ ।
एक दिन मैले यत्तिकै कुरैकुरामा भने "यस्तो बूढो भइसक्यौ कति दुख गरेको ? कति पैसा चाहिएको ?"
क्षणभरको मौनतापछि आहत मनबाट लामो सुस्केरा निकाल्दै उसले भन्यो " क्या करे हजुर घर मे बिना व्याही तीन लडकिया है । लडर्कियाका घर बसाना है । उनके शादीके लिए बहुत सारा पैसा चाहिए । बाप हँु ए सव मै नही करुँगा तो और कौन करेगा" सुकेर गालामा च्याप्प टाँसिएको छालाको पसिना पुछ्दै उसले भन्यो । दिक्क र खल्लो मन लिई म उसको कुरा एकोहोरो सुन्दै थिएँ । उसले तरकारी जोख्दै भन्यो "बिना तीलकका हमारे वीरादरीमे शादी नहि होती । अब तो लडकेका भाव भी इतना वढगयाहै कि पुछिए मत । बडी मुश्किल है । क्या करे हमारा अभाग करम जो हमारे घरमे तीन तीन वेटीया हुई "। उसको त्यो एकएक शव्द मेरो मनमा काँडा बिझेझैँ, सियोले घोचेजस्तै चसचस घोच्न थाल्यो । तरकारीको पैसा लिई ऊ जोडजोडले तरकारीको नाम लिँदै अघि वढ्यो । उथलपुथल मनमा कुरा खेलाउँदै म भान्सातिर लागेँ । ती दुखी पीडित बाबुको व्यथाको मर्म बुझ्ने कोसिस गर्दै ।
बारम्बार मेरो कानमा उसले भनेका एकएक शव्द गुन्जिरहृयो । छोरी पाउने जति सवै उसको नजरमा अभागीमा दरिए । छोरा पाउने भाग्यमानी ठहरिए । उसको छोरीहरूको ठाउँमा आफूलाई राखी सोचेँ ...आफूहरू छोरी भएकै कारण बाबुले गर्नु परेको दुखपीर, परिश्रम देख्दा ती छोरीहरूको मन कति दुख्दो हो । हीनतावोध भई बिना अपराध आफूलाई दोषी ठानी कति आत्माग्लानि र पश्चातापको आगोमा जल्दा होलान् । त्यस्तो बोझलिो वातावरणमा हुर्किएका छोरीले कहिले आफना इच्छा आकाङ्क्षा रहर बाबुआमा सामु खुलस्त व्यक्त गर्न सके होलान् । मनमा दबाउँदै लाचार मनको मनमै रहृयो होला । छोरीछोरी भएको घर भनी गाउँलेले पनि कति हेप्दा होलान् । कति घोचपेच गर्दा होलान् ।
अहो Û मानिस कतिसम्म अविवेकी र अबुझ वन्न सक्छ हगि । यही छोरी जात नभई दिए संसारको सृष्टि नै ठप्प हुन्छ । भगवान्ले कत्रो वरदान दिएका छन् छोरी जातलाई । पृथ्वीजस्तै शहनशील र मानव जन्मदातृ तर भगवान्का यी वरदान लत्याई छोरीलाई तुच्छ काम नलाग्ने निर्जीव वस्तुसरह ठान्दछन् । छोरीको भन्दा वरु गाईवस्तुको मान्यता र महìव राख्छन् होला । किनभने गाईवस्तु पैसा हालेर किनेको हुन्छ । छोरी, जसले जस्तै दुःख पीर सहेर पनि अर्काको घर धानेकी हुन्छे । उसको वंश चलाउन सन्तान जन्माउँछे । उसैलाई अपमान र तिरस्कृत गर्दै जलाउँछन् । कोही कुटिकुटी घरबाट निकाल्छन् । पैसासँग तुलना गर्दै मूल्यहीन ठान्दछन् । छोरीका बाबुआमाले मूल्यविहीन काम नलाग्ने वस्तु सुम्पेर बदलामा मनग्ये ज्याला नदिए जस्तो पो ठान्छन् । कस्तो विडम्बना अर्काको घर सम्हाल्न पालिपोसी सक्षम छोरी पनि दिनुछ । त्यसमाथि मागेजति पैसा पनि....कत्रो अत्याचार । छोरीका बाबुआमा समाजमा आफू निर्धो निचो भई अपमानित, अपहेलित ठानी सधैँ झुकिरहन्छन् । समाजले प्रहार गरेको वचन वाणका पीडा सही दिन्छन् । यी सब कुराले विचलित मेरो मन विद्रोही बन्छ ।
धेरै दिनपछि आज ती वृद्ध देखा परे । निक्कै खुसी देखिन्थे । प्रशन्नताले ती सुकेका गालामा पनि चमक र लालीमा छरिएको थियो । मैले पनि खुसी व्यक्त गर्दै भने "धेरै दिनपछि देखा पर्‍र्यौ नि Û के हो निकै खुसी पनि देखिन्छौ "? उसले हँसिलो मुहार पार्दै भन्यो-"हो हजुर मेरी बडी वेटी की शादी हो गई । भगवान् की दयासे एक वेटीका घर बस गया । अब और दो है उनका भी घर बस गया तो गङ्गा नहाउ " भनी खुसी व्यक्त गर्‍यो ।
उसलाई गहिरिएर नियालेँ र सोचेँ कठै विचराको जीवनको उद्देश्य र सपना भन्नु छ केवल छोरीहरूको बिहे । चौबीसै घण्टा त्यही छ । आफ्नो रहर सुख सुविधा भन्नु केही छैन । अर्जुनदृष्टि राखेका ती वृद्धले अर्जुनले घुमिरहेको माछाको आँखा मात्र देखेजस्तै तिनले पनि रातदिन खाइनखाई मिहिनेत दुख केवल छोरीहरूको बिहेका लागि गर्दै थिए । कत्रो मूल्य चुकाउँदै थिए, छोराको आशामा छोरीछोरी पाएर । यी सब कुराले दुखी बनाउँदै आत्मामा कति चोट पर्ला ती छोरीहरूको । विवश वैराग्य छुटी जीवन अभिशाप लाग्दो हो । यस्तै बाबुआमाको दुःख देख्न नसकी भारतको एउटा गाउँका चार छोरीहरूले एकैचोटी नदीमा हामफाली आत्म हत्या गरेका थिए रे बाबुआमालाई दुःख पीरबाट मुक्ति दिन । सानै उमेर भए पनि जीवनदेखि कति विरक्तिएका थिए होलान् त । यस्ता दुखद घटना कति सुनिन्छ । के मन आद्र हँुदैन ? मानवताका भावना के यस समाजबाट हराई सक्यो ? आत्मारहित मानव वस्ती हो त यो समाज ? एक दिन ती वृद्ध अलि आत्तिएजस्तो, डराएजस्तो लाग्यो र सोधँे "के भयो ?"
''मेरा दिन भरका कमाई लुट लिया" उसले भन्यो ।
''कसरी "? फेरि सोधेँ ।
"थोडा अँधेरा था कहा से तीन चार लडके आए और हमको धमकाके लुटके ले गए "। चिसो मन लिई सोचेँ कति
संवेदनाहीन बनेका आजका पिढी । भोकप्यास दुखकष्ट केही नभनी कमाएको यस्तो दुखी बूढाको पैसा चोर्न सक्ने । कति पाप लाग्ला । हुन त आज पापधर्मको कसलाई हेक्का छ र ? अर्काले कति दुःख मिहिनेत गरेको छ भन्नेसँग के मतलव ? मरेका मानिसलाई त लुट्न पछि नपर्ने आजको समाज छ ।
''अलि उज्यालैमा डेरामा जानु नि'' मैले भनँे । उसले टाउको हल्लाउँदै "अब त्यस्तै गर्छु " भन्यो ।
छोरीको बिहे गर्न तिलक दिनु पर्ने कुपर्था कुरीतिले गर्दा यी बूढाजस्तै कति मानिसहरू यस्तो दुःखको जाँतोमा पिसिएका होलान् । छोरीका बाबु मरीमरी कमाउने, छोरा पाउनेले सित्तैमा खाने कत्रो अन्याय । के यस प्रथालाई समाजवाट निर्मूल पार्न सकिँदैन ? सबैले बहिस्कार गरे असम्भव भन्ने के छ र ?
निकै दिनपछि ती वृद्ध फेरि देखा परे । सार्‍है दुखी विक्षिप्तजस्तो लाग्यो । आँखा पनि रातोरातो, अमिलो निचोरेजस्तै फुङ्ग फुस्रो अनुहार थियो । मैले चिन्तित हुँदै सोधेँ "के भो ? सन्चो भएन की क्या हो ? '' उसले निकै वेर आफूलाई सम्हाल्ने कोसिस गर्‍यो तर सफल भएन । नयन सरोवरमा अटाइनअटाई भरिएका आँशु बहन हतारिएझैँ उसको भक्कानो छुट्यो । दुःखले थिलथिलो मन कसैको सहानुभूतिका दुई शब्दले मात्र पनि पग्लि हाल्दो रहेछ । आँसु झार्दै भन्यो "मेरे बडी वेटी जिसकी अभिअभि शादी हुई थि जल कर मर गई "। स्तब्ध भए म । मनमा राँको बलेझैँ औडाहा भयो । उसले मृत्युको कारण नभने पनि मेरो मनले लख काट्यो पक्कै मृत्युको कारण "तिलक" हुनु पर्छ । मागे जति यी गरिब बाबुले दिन सकेनन् होला । रिसले मेरो मुटु जोडजोडले ढुकढुक गर्दै थियो । ती वृद्धलाई सान्त्वना दिने मैले कुनै शब्द पाइँन । मैले सान्त्वना दिँदैमा उसको दुःख कम हुने पनि हैन । रसाएका नयन लिई निःशव्द दुखी मनले उसलाई हेरिरहेँ । गम्छाले मुख छोपी निकै बेर ऊ रोयो । उसको मनमा कत्रो चोट लागेको छ भन्ने अरूलाई के थाहा । विस्तारै उसलाई सम्झाउँदै भने "हिम्मत राख तिमीले नै हिम्मत हारे घर कसले सम्हाल्छ । सायद उसको भाग्यमा यस्तै थियो होला "।
सहानुभूतिका शब्दले उसको घाउमा मलहम लगाउने कोसिस गरे । सम्झाउँदै भने "अब छोरीहरूलाई बिहे गर्ने हतार नगर । त्यो बिहेमा लाग्ने पैसा बैङ्कमा राख र छोरीहरूल्ााई पढाउ । छोरीले पढेर आफ्नो खुट्टामा उभ्भिएको भए आज यो दिन आउँदैनथ्यो होला । अरूको भरमा बाच्न पर्दैनथ्यो । राम्रोनराम्रो छुट्याउन सक्थे । न्यायका लागि लड्न सक्थे । तिमीलाई यति पीडा पनि हुँदैनथ्यो ।
त्यसपछि मैले वृद्धलाई यताउता कहीँ कहिल्यै देखिनँ । त्यो वृद्ध कहाँ गयो केही भयो कि भनी मनमा खलबली भइरहन्थ्यो । लामो समयपछि एक दिन ती वृद्धका परिचित तरकारी बेच्दै हिँडेको भेटेँ र सोधँे "त्यो बूढो कहाँ गयो ? हिजोआज देखा पर्दैन नि ?" उसले लामो सुस्केरा हाल्दै भन्यो "दुखसे मुक्ति पाया, बडा दुखीयारा था वेचारा । दिमागमे ज्यादा जोड पड्नेसे लगताहै उसका दिमागका सन्तुलन विगड गया और पागल हो गया । अब गावँमे ही घुमता रहता है । कभि जोड जोडसे हँसता है कभि रोता रहता है । वहुत दयनीय अबस्था है " । मैले त्यसभन्दा अगाडि उसको वारेमा सोध्न सकिनँ । सोचँे भगवान् पनि कति निर्दयी बन्न सक्छ ? दुखपीरको भारी वोकाएर नपुगी पागलसम्म बनाई दिए । अहो...अब आमाछोरीको के हाल भयो होला ? सम्झदैँ मन एक तमासले खल्लो भयो ।

No comments:

Post a Comment