जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, January 10, 2011

मरेको मान्छेको समेत पैसा खाने राजदूत

एउटा राजदूतको काम के हो ?
देशको प्रतिनिधित्व गर्दै विदेशमा आफ्नो राष्ट्रको र आफ्ना नागरिकहरुको बढीभन्दा बढी हितका लागि सदैव क्रियाशील रहनु।
तर साउदी अरबका राजदूत हमिद अन्सारीका बारेमा जस्तो समाचार आइरहेको छ, त्यो सुन्दा त राजदूतको परिभाषा नै परिवर्तन गर्नुपर्ने झैँ लाग्छ। राजदूतको काम ‘एनी हाउ पैसा कमाउ’ जस्तो पो देखियो त। हुँदाहुँदा मरेको मान्छेका लागि त्यहाँको कम्पनीले दिएको क्षतिपूर्ति रकमसमेत आफ्नो निजी खातामा राखेर पीडितको परिवारलाई दिनै मान्दैनन् रे डेढ वर्ष भइसक्यो।
कस्तो लाज नभएको हेर्नुस् त। साउदीमा दुर्घटनामा परी मृत्यु भएका रमेश
सुवेदी र सन्तलाल तामाङको परिवारले पाउनु पर्ने बीमा रकम पाउँला कि भनेर परराष्ट्र मन्त्रालय धाइरहेका रहेछन्। कम्पनीको त के दोष र। अदालतको निर्णयपछि सुवेदी परिवारलाई बीमा कम्पनीले २० लाख रुपैयाँ बराबरको चेक गत साउन मै दिएको रे। यी राजदूतले आफैले साइन गरेर चेक चैँ बुझेछन् तर लगेर जम्मा गरेछन् पैसा जम्मै आफ्नै खातामा। परराष्ट्र मन्त्रालयमा ताकेता गर्न जाँदा बिचरा परिवारका सदस्यहरुले कर्मचारीहरुबाट हप्कीदप्की खानु पर्दो रहेछ।
धन्न, यो खबर ‘नागरिक’मा छापियो। राजदूत पदको भागवण्डा गर्दा एमालेको कोटामा परेको भाग खान साउदी पुगेका अन्सारीको यस्तो खबर आएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिले उनका सम्बन्धमा छानविन गरी दोषी ठहर भएमा फिर्ता गर्न सरकारलाई निर्देशन दिइसकेको छ। तर छानबिन प्रक्रिया कसरी अघि बढ्ने हो, हेर्न बाँकी नै छ।
राजदूत अन्सारीको चर्तिकला यति मै सकिन्न। अस्ति नेपाल भ्रमणमा आएका साउदी राजकुमारलाई नेपालमा तक्मा दिइन्छ भनेर झुठ बोल्ने पनि यिनै थिए। उनले त्यसरी झुठ बोलेकाले भ्रमणका क्रममा काठमाडौँमा ठूलै समस्या परेको थियो। हतारहतार उनका लागि तक्मा बनाउनु परेको थियो। परराष्ट्र मन्त्रीले समेत साउदी राजदूतले तक्मा दिइन्छ भनेर झुठो बोलेकोले यस्तो समस्या आएको बताएकी थिइन्।
पाप-धर्मको त के वास्ता भो र उनलाई। त्यसैले आफ्नै मुसलमान दाजुभाइहरु हज गर्नका लागि गएका बेला २०६५ सालमा हवाई टिकट किन्दा प्रति टिकट एक सय ३९ डलर पच पार्ने काममा यिनी पनि संलग्न थिए। संसदको सार्वजनिक लेखा समितिले छानबिन गर्दा उनी लगायतका व्यक्ति यो प्रकरणमा दोषी ठहरिएका थिए।
साउदी अरबमा रहेका माइसंसारका पाठकहरु, तपाईँहरु पनि त्यहाँ यी राजदूतबाट पीडित हुनुहुन्छ कि ? त्यसो हो भने तल कमेन्टमा लेखिहाल्नुस्। संसदीय समितिको निर्देशन अनुसार छानबिन अघि बढिरहेको छ, तपाईँका गुनासोको पनि सुनुवाई हुनसक्छ यही बेलामा।

No comments:

Post a Comment