जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, January 29, 2011

९० प्रतिशतभन्दा बढी महिला यौनरोगी {स्वास्थ्य}

रासस
कन्चनपुर । कन्चनपुरको ग्रामिण क्षेत्रका ९० प्रतिशतभन्दा बढी महिला यौनरोगबाट पीडित भएका पाइएको छ । यौनाङ्गको नियमित सरसफाइमा कमी र असुरक्षित यौनसम्पर्कका कारण उनीहरू प्रभावित भएका उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
निर्धनवर्गका महिलाको प्रजनन स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफ र यूएनएफपीएको सहयोगमा यहाँका त्रिभुवनबस्ती र पिपलाडी स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क प्रजनन स्वास्थ्य शिविरमा उपचारका लागि पुगेका अधिकांश महिला यौनरोगबाट पीडित भएका शिविरका संयोजक जीवन घिमिरेले बताउनुभयो ।
शिविरमा उपचारका लागि आएका अधिकांश महिलामा योनीबाट सेता पानी बग्ने, तल्लो पेट दुख्ने, महिनावारीमा गडबडी हुने, यौनाङ्ग चिलाउने र जटिल प्रकृतिका यौनरोग देखापरेको उहाँले जानकारी दिनुभयो । संयोजक घिमिरेका अनुसार त्रिभुवनबस्तीमा नौ सय ४६ महिलाको र पिपलाडीमा एक हजार २१ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको छ ।
स्वास्थ्य परीक्षण गरिएकामध्ये त्रिभुवनबस्तीका २३ र पिपलाडीका २२ जना पाठेघर खसेका महिलाहरूलाई निःशुल्क शल्यक्रियाका लागि यातायात खर्च, खाना खर्चसहित बिरामी र कुरुवालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा पठाइने व्यवस्था मिलाइएको कार्यक्रम संयोजक घिमिरेले बताउनुभयो ।
यौनरोगसम्बन्धी समस्या भएका महिलाहरूलाई यौनाङ्गको सरसफाइ र रोग निदान गर्न निःशुल्क औषधि र परामर्श प्रदान गरिएको बताइएको छ ।
उक्त शिविर सुदूरपश्चिमका अछाम र कञ्चनपुरमा सम्पन्न भएका छन् भने बाजुरामा एक हप्तापछि सुरु हुनेछ । यसैगरी पूर्वाञ्चलको सिरहा, सप्तरी, महोत्तरी र मध्यमाञ्चलको धनुषामा समेत सञ्चालन गरिने छ । देशभरिका सातवटा जिल्लामा दुईवटाका दरले शिविर सञ्चालन गरिनेछ ।

No comments:

Post a Comment