जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, February 19, 2011

लेट्स मेक अ नाइट टुगेदर

तारा चाम्लिङ- केही घन्टाभित्रै काठमाडौंको रंगशाला खचाखच हुनेछ। देशका विभिन्न ठाउँबाट ब्रायन एडम्स हेर्न आएका दर्शक एकै थलोमा हुनेछन् र ब्रायनसँगै झुम्नेछन्। विश्वप्रसिद्ध रकस्टारसँग झुम्न दर्शकमात्र हैन नेपाली कलाकार पनि उत्तिकै उत्साहित छन्। एउटै मञ्चमा गाउने अवसर पाउँदा अभया सुब्बा दंग छिन्।
'आफूलाई साँच्चै भाग्यमानी ठान्छु। उनलाई प्रत्यक्ष देख्नु पाउनुमात्र पनि ठूलो कुरो हो,' अभया भन्छिन्, 'एकदमै उत्साहित छु। मलाई त सपनाजस्तो लागिरहेको छ।' स्कुलदेखि नै उनी ब्रायनका फ्यान हुन्। साथीभाइ र परिवारसँगको जमघटमा कहिलेकाहीँ ब्रायनका गीत गाउन चुक्दिनथिन्। तर स्टेजमा उनको गीत गाउने हिम्मत भने अभयालाई कहिल्यै आएन। बरु 'ह्याभ यु एभर रियली लभ्ड अ वुमन', 'लेट्स मेक अ नाइट टुगेदर', 'प्लिज फरगिभ मी' सुन्दा कसैले आफ्नो लागि यसरी नै गाइदिए हुन्थ्यो भन्ने चाहना जाग्थ्यो।
अभया ब्यान्डसँग मिलेर आफैँ गीत
रच्छिन्। रक भएपनि उनको हरेक गीतमा मिठास भेटिन्छ। जसको श्रेय उनी ब्रायनलाई नै दिन्छिन्। 'रक संगीतमा पनि मेलोडी भर्न सकिन्छ भन्ने उदाहरण ब्रायन आफैं हुन्,'अभया भन्छिन्, 'उनको गीत सुनेर भित्रैबाट एकप्रकारको तरंग उठ्छ जसको बयान शब्दले गर्न सकिन्न।' भारतमा ब्रायन थुप्रै पटक आए। तर दार्जिलिङमा हुर्केर मुम्बईमा पढेकी अभयाले आज पहिलो पटक ब्रायनलाई प्रत्यक्ष हेर्ने भएकी छन्। ब्रायनलाई भेट्ने भरपुर प्रयास रहे पनि सुरक्षाका कारण भेट्न नपाइने हो कि भन्ने पनि अभयालाई नलागेको हैन। जे होस् यसले अन्तर्राष्ट्रिय स्तरका अरू कलाकारलाई पनि नेपाल निम्त्याउने ढोका खोलिदिने उनको विश्वास छ।
ब्रायन एडम्ससँग एउटै स्टेजमा गाउने मौका पाएपछि राजु लामासमेत अमेरिकाबाट गत साता काठमाडौं आइपुगे। हप्तादिनको तयारीपछि उनी ब्रायन एडम्स हेर्न आएका दर्शक तताउन तयार छन्। 'खुसी लागेको छ,' उनी भन्छन्, 'सानो छँदा टिभीमा देखेको, अब एउटै स्टेजमा गाउने भइयो।'
लोकपप गायक भएपनि आफूले स्कुल छँदा साथीभाइसँग गिटारको तालमा ब्रायनका गीत गाएको राजु सुनाउँछन्। तर उनी ब्रायनकै जबर्जस्त फ्यान भने होइनन्। बरु पुरानै भएपनि बिटल्सले उनलाई खुबै तानेको थियो। 'बनजभी, स्करपियन पनि उत्तिकै सुनिन्थ्यो,' राजु सुनाउँछन्, 'त्यो बेला त ग्रुपमा अंग्रेजी गीत सुन्ने लहड नै थियो।'
राजुको कुरो मान्ने हो भने ब्रायनका गीतबारे कुनै पनि नकारात्मक प्रतिक्रिया दिन मिल्दैन, किनभने उनी विश्वप्रसिद्ध रकस्टार हुन्। शब्दसंगीतका लागि ब्रायनलाई धेरैले रुचाउँछन् तर राजुलाई भने उनको स्वर मनपर्छ। 'अरूभन्दा भिन्न स्वर भएकाले उनले धेरैको मन जितेका हुन्,' राजु भन्छन्।
१९७४ एडीका एड्रियन प्रधान एकदमै उत्साहित छन्। 'ब्रायन एडम्ससँग एउटै मञ्चमा गाउनु ठूलो अवसर हो,' उनी भन्छन्, 'तर म उनको लिड गिटारिस्टलाई प्रत्यक्ष हेर्न लालायित छु।' एड्रियनलाई ज्यादै मनपरेको 'प्लिज फरगिभ मी' मा खेलेको लिडले उनी केथ स्कटका फ्यान भएका हुन्। अरूको चाहना ब्रायनलाई भेट्ने भएपनि एड्रियन स्कटलाई भेट्ने अवसरको पर्खाइमा छन्।
स्कुल छँदा हेभी मेटलमा रुचि भए पनि ब्रायनका गीतले उनलाई उत्तिकै तानेको थियो। 'समर अफ सिक्सिटी नाइन', 'एभ्र थिङ आइ डु', 'प्लिज फरगिभ मी'ले उनलाई अझै स्कुलका दिनको सम्झना दिलाउँछ। आफ्ना छोरो भने 'हेयर आइ एम' सुन्दा मख्ख पर्ने एड्रियन सुनाउँछन्। ब्रायन एडम्स र केथ स्कटलाई प्रत्यक्ष हेर्ने उत्साह त छँदैछ। तर हजारौंको संख्यामा उर्लिएको भीडलाई सुरक्षाकर्मीले नियन्त्रण गर्न नसक्ने हुन् कि भन्ने चिन्ता उनलाई छ। आठ वर्षअघि उही ठाउँमा 'रक यात्रा' गर्दा कयौं दर्शक घाइते भएको उनले भुलेका छैनन्। 'सुरक्षा कमजोर हुने हो भने यसले अन्तर्राष्ट्रियस्तरमै नेपालको छवि बिगार्छ,' उनी भन्छन्।
ब्रायन एडम्ससँग स्वर मिल्दो गायक सविन राई भने यसपटक आयोजकको छनोटमा परेनन्। रक पप संगीतमा लोकप्रियता कमाएका सविन दुर्भाग्यवश कन्सर्टमा समेत आउन नपाउने भए। 'भोलि इलाममा कन्सर्ट छ। उनलाई हेर्ने मौका फेरि मिल्ला नि!' उनी भन्छन्।
स्कुल छँदा स्वर मिल्ने भएकै कारण सबैले उनलाई ब्रायनका गीत गाउन हौस्याउँथे। उनी पनि के कम! मज्जाले गाइदिन्थे। धेरै वर्षपछि अघिल्लो साता प्रिब्यासमा उनले जमेर ब्रायनका गीत गाए। 'लेट्स मेक अ नाइट टुगेदर', 'समर अफ सिक्सटिनाइन' गाउँदा धेरैले उनलाई ब्रायन एडम्सलाई नै सुनेजस्तो लागेको प्रतिक्रिया दिए। ब्रायनसँग तुलना गरिदिँदा मख्ख परे पनि कताकता आफ्नो पहिचान गुम्ने हो कि भन्ने डर पनि छ उनलाई।
तर ब्रायनबाट आफूले सिकेको कुरा उनी नकार्दैनन्। खासगरी गीत लेख्ने कुरामा। 'एकदमै साधारण तर अर्थपूर्ण हुन्छ उनको शब्द,' सविन भन्छन्, 'मैले उनको त्यही विशेषता पछ्याएको हो।' उनको भनाइमा यो कन्सर्ट सफल भए नेपालका आयोजक र कलाकारमात्र हैन दर्शकले समेत धेरै कुरा सिक्ने अवसर पाउनेछन्।

No comments:

Post a Comment