जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Sunday, February 20, 2011

श्रीमान् नफर्केपछि हलो जोतेरै गुजारा

दैलेख, ८ फागुन

रोजगारीका लागि तीन वर्षअघि भारत गएका श्रीमान् नफर्केपछि दैलेखकी एक महिलाले हलो जोतेर गुजारा चलाउँदै आएकी छिन् ।
पैसा कमाएर सुखी जीवन बाँच्ने सपना लिएर भारत पुगेका अवलपराजुल-५ सानो ओइरीका देवबहादुर पुनमगरको तीन वर्षदेखि कुनै खबर आएको छैन । देवबहादुर उतै हराएपछि ३८ वर्षीया श्रीमती सुशीला वृद्धा सासू, दुई छोरा तथा एक छोरीको लालनपालनका लागि हलो जोत्न बाध्य भएकी हुन् ।

कामका लागि १० कात्तिक ०६४ मा भारतको अल्मोडातर्फ हिँडेका श्रीमानले ६ महिनापछि नै आउने बताएको तर हालसम्म कुनै खबर नआएको सुशीलाले बताइन् । 'उहाँ गएदेखि केही
खबर आएको छैन,' उनले भनिन्, 'सँगै गएका साथीहरू उहिल्यै घर आइसके । उहाँको भने कुनै खबर छैन ।'
खेती गर्ने जग्गाजमिन थोरै भएकाले आफूलाई छोराछोरीको लालनपालनमै समस्या रहेको सुशीलाले बताइन् । 'आफ्नो जग्गाको उब्जनीले खानसमेत पुग्दैन,' उनले भनिन्, 'अनि आफ्नोबाहेक अरूको मेलापात नगई सुखै छैन ।'
आफ्नो जग्गा जोत्न अरूको सहयोग लियो भने खेतालालाई दिने ज्याला नहुने भएकाले आफैँ जोत्न बाध्य भएको सुशीलाले गुनासो गरिन् । 'खेतबारी जोत्ने काम अरूलाई लगाउ भने ज्याला दिने पैसा हुन्न,' उनले भनिन्, 'त्यसैले सकी-नसकी आफैँले जोत्ने गरेकी छु । कहिलेकाहीँ त छिमेकीले टिठ मानेर सहयोग गर्छन्, सधैँभरि उनीहरूले पनि सहयोग गर्ने कुरो भएन ।'
श्रीमान्को बाटो कुर्दाकुर्दै आफू थाकिसकेको सुशीलाले सुनाइन् । 'चाडपर्वको मौका पारेर आउनुहुन्छ कि भनेर बाटो हेर्छौँ । अल्मोडा पुग्ने गाउँलेलाई सोध्दा पनि थाहा छैन भन्छन्,' उनले भनिन्, 'आजभोलि त बाँचेका होलान्् भन्ने आशा पनि मरिसकेको छ ।' बाध्यताले गर्दा पुरुषले गर्ने काम आफैँले गर्नुपर्दा नराम्रो लागे पनि नगरी सुखै नपाएको उनले दुखेसो गरिन् ।
सुशीलाले हलो जोतेको देेखेर गाउँलेहरू पनि दंग छन् । 'बाँझो जोत्नुपरे पालैपालो हामीले सघाउँछौँ, अन्य खनजोत र बाली लगाउने
वेला उनी आफैँ जोत्छिन्,' उनका जेठाजु मानबहादुरले भने ।

No comments:

Post a Comment