जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, February 18, 2011

“मलाई पनि एड्स सल्काएपछि श्रीमानले छोरा मारेर आत्महत्या गरे हजुर !”

दैलेख राकम कर्णालीका कल बिष्टले भारतबाट एड्स बोकेर फर्के । उनले पत्नी मनसरा सिंजापतिलाई पनि एड्स सल्काए । एड्सपीडित बिष्टले छोराको हत्या गरे । र , आफूले आत्महत्या गरे । यसै सम्बन्धमा तयार पारिएको विशेष रिपोर्ट ।

“मलाई त एड्स सल्काए , सल्काए, छोरालाई समेत मारेर आफूले समेत आत्महत्या गरे हजुर मेरा श्रीमान्ले !” दैलेखको राकम कर्णालीकी मनसरा सिंजापतिले रुदै भनिन् ।
“एकाबिहानैदेखि छोरालाई आंखै अगाडि निकै पिटेको देखेकी थिएं, म मेलामा गएं, सांझ आउंदा त छोरालाई मारिसकेका रहेछन् । छोराको लाशमात्र थियो घरमा ।” मनसराका आंखा अझै ओबाएका छैनन् । छोराको लाश सम्झेर अहिले पनि भक्कानिएर रुन्छिन् उनी ।
आंखाबाट आंशुका भेल बगाउंदै उनले बेलिबिस्तार लगाइन् –“छोरालाई त मारे , मारे । आफूले पनि आत्महत्या गरे ।”
हो, भारतमा कमाई गर्न भनेर गएका मनसराका पति कल बिष्टले घर फर्कदा एड्स बोकेर फर्किए ।  अनि छोरा मनसरालाई पनि एड्स सल्काए । अन्तमा छोरालाई मारेर आफूले आत्महत्या गरे । मनसरा भन्छिन् –“ सुन्दर संसार होला, घरपरिवारमा रमाइलो गरी जिन्दगी काटौंला भनेको त अहिले रोएर दिन काट्नुपरेको छ ।”
श्रीमान्को मृत्युपछि शाशुले घरबाट लखेटेपछि अहिले मनसरा एचआईभी संक्रमित एकल महिला माइतीमा बसेकी छिन् । उनी भन्छिन् –“दुख सुनिदिने भगवानले त साथ दिएनन् भने अरु कस्ले साथ दिन्छ र ?”
मनसरामा एचआईभी संक्रमण भएको थाहा पाएपछि उनले खाएको थाल समेत अरुले छुन मान्दैनन् । उनले औषधी खाइरहेकी छिन् । तर मेलापात जांदा समेत साथीसंगीले रोग सर्छ जस्तो गर्दै पोई र छोरो टोकुवा भन्दै गाली गर्ने गरेको दुखेसो छ मनसराको ।
मन झसंग हुने यस्तो पीडा मनसराको मात्र होइन । दैलेखको राकम कर्णालीमा एड्सका  रोगका कारण धेरैले ज्यान गुमाएका छन त कसैले  बुढेस कालको सहारा गुमाएका छन् । भारतको मुम्बई जाने पुरुषहरु फर्कदा एड्स बोकेर फर्कन्छन् । राकम कर्णालीमा एड्सको नाम समेत बदलेर गाउँको भाषामा बम्बैको रोग भनिन्छ  ।
पैसा कमायो बम्बैमा, मोजसस्ती गर्यो , फर्कदा एड्स बोकेर फर्कन्छन् ।
राकमकर्णालीको जाक्सी गाउमा एकै वस्तीका ९ जना पुरुष एड्स रोगबाट मरिसकेका छन् ।  भगवानले श्राप दिएको भन्दै महिलाहरु कलिलो उमेरमा श्रीमान गुमाएर विधवा बनेर बस्न बाध्य छन्  ।
राकम कर्णालीमा एड्सबाट मर्नेहरुका घर घरमा दैलामा फोटो राखेर  माला चढाएको हेर्न पाइन्छ ।
मनसरा मात्र होइन,  सिगासैन ९ की खगीसराले समेत भारतमै एचआईची संक्रमित भई नेपाल पठाईएका आफ्ना पती नेपालगंज उपचार गर्दा गर्दै मृत्यु भएपछि मात्रै आफुलाई एचआईभी संक्रमण भएको थाहा पाइन् ।
पहिला पहिला गाउँमा निकै हेला गरेको उनको अनुभव छ ।
स्थानिय संस्था लघुउद्यमले दिएको सानो व्यापार गरेर १ छोरा र १ छोरी पालेर उनले आफ्नो जीवन काटिरहेकी छिन् ।  सिंहासैन( ९ की एचआइभी संक्रमित दुरी बिकको कथा पनि उस्तै छ । चिसो समय डाँडाको एक छेउमा एकान्त घर अनी आफुसँग रहेका दुई छोरा र बिरामी भएर ओछ्यानमा मृत्युसँग लडिरहेकी सासुलाई
पाल्ने जिम्मा लिएकी दुरी बिकलाई अहिले भोकै मरिने चिन्ताले सताएको छ ।
भारत कमाउन गएका उनका श्रीमान रामबहादुर बिकले गरेको कमाईले घर खर्च चलाएका उनका परिवारमा बिगत पाँच बर्ष अघि रामबहादुर बिकको एचआईभि एड्सका कारण मृत्यु भएपछि निकै ठूलो समस्या आएको छ ।
“श्रीमान सँधै भारत जानुहुन्थ्यो उहाँकै कमाईको  भर थियो, घर परिवार पाल्ने” दुरी बिकले रुँदै भनिन् ।  भारतमा गएको बेला गरेको असुरक्षित यौन सम्र्पकका कारण एड्स लागेछ । अलिअलि कमाएर ल्याएको रकम उपचारमा सकियो केहि गरे सन्चो भएन, अन्त्यमा मृत्यु भयो । दुरी भन्छिन् – आफुले रोग सार्नुभो ,आफु मर्नुभो , मलाई यो संसारमा पिडा भोग्नुपर्ने भो ।
आर्थिक अभावका कारण आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउन सदरमुकाम दैलेख बजारसम्म आउन नसकेका कैयन पीडितहरु त घरमै ज्यान गुमाउने गरेका छन् । पीडितहरुका लागि जिल्ला सदरमुकामबाटै एआरभी सेवा संचालनमा आएको भएपनि त्यसले प्रभावकारीता पाउन सकेको छैन् ।
दैलेखको पश्चिम पर्ने सिहासैन, राकम कर्णाली र अछामका दुई दर्जन बढि महिलाहरुले आफ्ना श्रीमानहरु एचआईभी एड्सका कारण गुमाईसकेपछि आफुहरुलाई समाजमा गरेको अपहेलनाका बिरुद्धमा लड्ने र चेतना फैलाउने उद्धेश्यले समुहमा आवद्ध भई काम गरिरहेको स्थानिय सामाजिक संस्थाका हिरासिंह थापाले जानकारी दिएका छन् ।
अहिले राकम कर्णाली, अछाम र सिहासैनका पिडित महिलाहरुले राकम कर्णाली एचआईभी प्लस समुहको स्थापना गरि १८ जना महिलाहरु आवद्ध भई आवाज  उठाउन तयार भएका छन् । तर बिडम्वना जिल्लामा एचआईभी एड्स रोकथामका लागी आएका सानोतिनो बजेट  पीडितहरुको हातमा पर्न सकेको छैन । नत पीडितले औषधी उपचार नै पाएका छन् ।

No comments:

Post a Comment