-सुरज बस्न्यात/न्युजिल्यान्ड-

यहाँ भैरहेको उद्धार कार्य हेर्दा यस्तो लाग्छ- न्युजिल्यान्ड भरका मान्छे उद्धारमा व्यस्त छन्। खानेपानीदेखि खाने, बस्ने व्यवस्था, औषधोपचार, यातायात, सबै मामिलामा युद्ध स्तरमा काम भइरहेको छ। पुरिएकाको ज्यान बचाउन आफ्नो प्राण फालेर लागिपरेका छन् सबै। छिन-छिनमा सोही ठाउँबाट प्रधानमन्त्रीले के के भैरहेको छ, के गर्दैछौं र के गर्न सकिन्छ बोलिरहेका छन्।
भर्खरै क्राइस्टचर्चका मेयर काठमाडौँ गएर भूकम्प सम्मेलनमा भाग लिएर फर्केका थिए। एक हप्ताअघि उनले नेपालमा भूकम्प गयो भने के के गर्न सकिन्छ भनी आफ्नो अनुभव बताएर फर्केका थिए। गत सेप्टेम्बरमा क्राइस्टचर्चमा गएको भूकम्पको उद्धारमा उनले निकै अनुभव हासिल गरेका थिए।
यतिबेला क्राइस्टचर्चको सहरी क्षेत्रमा ठूलाठूला भवन भत्किएर छरपस्ट छन्। ठाउँ-ठाउँमा जमिनमुनिबाट पानी निक्लिएर छ्यालब्याल छ। भत्किएको भवनमुनि कति अझै किचिएका छन्, तिनको मोबाइलबाट मेसेज आइरहेको छ। अस्ट्रेलिया, जापान, ताइवान, यु.केबाट उद्धार टोलीहरु आइसके। अध्ययनको लागि जापानबाट आएका विद्यार्थीहरु निकै परेको अनुमान छ। ठूलाठूला मेसिनरी ल्याइएको छ बाहिरबाट। जिउँदो मान्छे पनि अझै झिक्दै छन्। टेलिभिजनले लाइभ दिएको दियै छ।
विद्यार्थीहरुले आफ्नो इन्टरनेट सञ्जालबाट झन्डै दस हजार स्वयंसेवी जम्मा गरिसकेका छन्। त्यस्तै चन्दाको ओइरो लाग्न थालेको छ राहतको लागि।
अकल्याण्डका साथीहरुले संचालन गरेको नेपाली रेडियो कार्यक्रम हाम्रो चौतारी शुक्रबार साँझ प्रसारण हुन्छ www.planetaudio.org.nz/haamrochautari मा गएर अनलाइन पनि सुन्न सकिन्छ।
नेपाली सुरक्षित छन्
-इन्दु काफ्ले/क्राइस्टचर्च, न्युजिल्यान्ड-
मंगलबार दिउँसो १२ बजेर ५१ मिनेट जाँदा छ दशमलव ३ रेक्टर स्केलको महाभूकम्पको धक्का महसूस भयो। भूकम्पको केन्द्रबिन्दू क्राइस्टचर्च सहरबाट ५ देखि १० किलोमिटर मात्रै टाढा थियो। मर्नेहरुको संख्या निकै धेरै हुनसक्छ। यहाँको सहरी इलाकाका होटल, रेस्टुँरा, अफिस, पुराना चर्च, भवन सबै सबै भत्किएका छन्।
सहरका मेयरले पाँच दिनको संकटकाल घोषणा गरेका छन्। स्कूल, कार्यालय र पसलहरु अर्को सूचना नभएसम्मका लागि बन्द गरिएका छन्। यहाँका सबै नेपाली सुरक्षित छन्। कसैलाई पनि केही भएको खबर पाइएको छैन। सिटी काउन्सिल र सरकार अनि रेडक्रस र अन्य समुदायले भूकम्पपीडितका लागि खानेकुरा र बस्ने ठाउँको व्यवस्था गरेका छन्।
************************
[क्राइस्टचर्च वा वरपर बस्नुहुन्छ र आफू सुरक्षित रहेको खबर घरपरिवार र साथीभाइलाई दिन चाहनुहुन्छ भने तलको कमेन्ट बाकसको प्रयोग गर्न सक्नुहुन्छ।]
No comments:
Post a Comment