जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, March 30, 2011

लठ्याएर दुई किशोरीलाई सिलिगुडी पुर्‍याइयो

काठमाडौं, चैत्र १७ - अपरिचितले घनिष्ठझैं व्यवहार गर्लान्, तपाईंका सबै आन्तरिक कुरा गर्लान् र केही खान अनुरोध गर्लान् । होसियार रहनुस् त्यस्ताले तपाईंलाई लठ्याएर फन्दामा पार्न सक्छन् । यस्तै फन्दामा परेका छन् राजधानीको एम्बिसन कलेजमा ११ कक्षा पढ्ने नेपालगन्जका दुई किशोरी । नजिकबाट चिनेको बहाना गर्ने एक महिलाले दिएको जुस खाँदा उनीहरू अचेत भएर सिलिगुडी पुगे । जतिबेला होस् आयो उनीहरू आत्तिए, स्थानीय सहयोगीका कारण नेपाल फर्किन सफल भए ।
घटना कुनै चलचित्रको जस्तो घट्यो । पुरानो बानेश्वरको रोहिणी गल्र्स होस्टेलमा बस्ने सिर्जना पोख्रेल र चन्द्रमा शाही चैत ७ गते दिउँसो बानेश्वरको घरआँगन रेस्टुरेन्टमा खाजा खाँदै थिए । चन्द्रमाको आँखा जाँच गर्न होस्टलबाट निस्केका उनीहरू चाउमिन अर्डर गरेर बसेका मात्रै के थिए एक युवती उनीहरूकै छेउमा आइन् ।
तिनले दुवैको नाम लिएर हालचाल सोधिन् । चाउमिन अर्डर गरिन् । 'हामी पढेको स्कुल, एसएलसीमा ल्याएको प्रतिशत मात्र होइन, बुबा-आमाको नाम र अहिले पढ्ने गरेको क्याम्पस र होस्टेलका बारेमा समेत बताइ्न्' सिर्जनाले भनिन्, 'सबै कुरा बताएपछि हामीले पनि उनी माथि विश्वसा गर्‍यांै । हामीलाई चिन्ने मान्छे नै होला भन्ने ठान्यौं ।'
सिर्जनाका अनुसार उनले एम्बिसन कलेजका पि्रन्सिपल विष्णु घिमिरे र बायोलोजी पढाउने शिक्षकको समेत नाम लिएकी थिइन् । ती महिलाले सिर्जना र चन्द्रमालाई आफ्नो नाम रोशनी बताएकी थिइन् । ३०/३१ उमेरकी देखिने ती युवतीले एउटै टेबलमा चाउमिन खाने क्रममा झोलाबाट फेन्टा निकालेर खान दिइन् । 'निकैबेर गफ गरेर खान दिएपछि हामीले पनि नाइ भन्न सकेनांै, खायौं' सिर्जनाले भनिन्, 'काउन्टरमा चाउमिनको पैसा तिर्दासम्म याद छ त्यसपछि हामीले उनले जे भन्यो त्यही मान्न थालेका थियौं ।'
ती युवतीले उनीहरूलाई ट्याक्सीमा राखेर नयाँ बसपार्क पुर्‍याइन् । 'चन्द्रमासँग २ हजार रुपैयाँ मागेर नयाँ बसपार्कमा टिकट काटेको पनि हामीलाई थाहा छ तर केही भन्न सकेनौं' सिर्जनाले भनिन्, 'बसमा बसेपछि केही थाहा छैन, एकै पटक सिलगुढी पुग्दा सम्झना आयो । म अर्को गाडीमा आउँछु भन्दै उनी बसपार्कमै बसिन्, हामी गाडीमा पनि कोहीसँग नबोली त्यहाँ पुग्यौं ।'
 'सीमा पारि जाने भन्दै ट्याक्सीमा राखेकोसम्म याद छ' चन्द्रमाले भनिन्, 'त्यसपछि भोलिपल्ट मात्रै ब्युँझिएको हो ।' बिहान उठ्दा ओछ्यान र कोठाको स्वरूप फरक देखिएपछि उनीहरू झस्किएका थिए ।
होटलको कोठाबाट ब्रस किन्ने बहानामा आफूहरू भागेको चन्द्रमाले बताइन् । 'कोठाबाट बाहिर आएपछि होटलको नाम सकुन्तला लेखिएको थियो, हामी भागेर अलि टाढा आयौं । त्यसपछि एउटा नेपालीलाई काँकडभिट्टा जाने बाटो सोधेर भाग्यौं ।'
उनीहरू काँकडभिट्टा आएर साना हातहरू भन्ने गैरसरकारी संस्थामा पुगेका थिए । 'हामीलाई लिएर जाने सँगै मिलेको छ कि भनेर त्यो संस्थामा पनि सुरुमा नक्कली नाम बतायौं तर पछि सहयोगी भन्ने थाहा पाएपछि उहाँहरूले क्याम्पसमा खबर गरिदिनुभयो,' उनले भनिन् ।
चन्द्रमा र सिर्जनाका आफन्तले होस्टल र क्याम्पसले आफ्ना छोरीहरूको चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । सिर्जनाका बुबा जनक शर्माले छोरीहरू हराएको विषयलाई उनीहरूको चरित्रसँग जोडेको दाबी गरे । 'सम्पर्कविहीन बनेपछि खोजतलास नगरी गैरजिम्मेवार भएर उत्तर दिए, फोन गर्दा प्रेमी वा कसैसँग हिंडेको भन्दै चरित्र हत्या गर्न खोजे' उनले भने, 'छोरीहरूको सम्पूर्ण विवरण क्याम्पससँग छ, कसरी बाहिरको मान्छेले थाहा पाएर फकायो, त्यसमाथि अनुसन्धान हुनुपर्छ ।'
होस्टल सञ्चालक तुलसीराम भट्टराईले होस्टलको कुनै गल्ती नभएको दाबी गरे । 'आखाँ जाँच गराउन गएका उनीहरू साँझ ७ बजेसम्म नअाएपछि स्थानीय अभिभावक बोलाएर खोजी गर्ने काम भएको हो' उनले भने, 'लापबाही गरेको छैन ।'
उनीहरूले महानगरीय प्रहरी वृत्त बानेश्वरमा कलेज र होस्टलविरुद्ध उजुरी दिएका छन् । बानेश्वरका डिएसपी चक्रबहादुर सिंहले लठ््याएर लैजाने महिलाको खोजी भइरहेको बताए । उनले गम्भीर प्रकृतिको घटना भन्दै खोजी गर्न सिलगुढीमा किशोरीहरूलाई राखेको होटलमा समेत पुग्ने बताए ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी नवराज ढकालले यस्तो प्रकारको घटना पहिलो भएको बताउँदै नचिनेका व्यक्तिले दिएको खानेकुरा नखान र विश्वास नगर्न आग्रह गरे । लठ्याएर लुटिएका घटना त भइरहेका छन्' उनले भने, 'तर विदेशसम्म लैजाने गरी भएको यस्तो घटना पहिलो हो, लैजानेको खोजी तीव्र रूपमा हुनेछ ।'

No comments:

Post a Comment