जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, November 7, 2011

बहुमूल्य उपहार

कुरा बीसौँ वर्षअगाडिको हो । चैत–वैशाखको महिना, टन्टलापुर घाम लागिरहेको थियो । बाटोमा हिँड्नेहरू प्रायः छाता ओढेरै हिँडेका थिए । त्यो भीडमा ईशा पनि थिइन् । कसैले ‘नानी !’ भनेको सुनेर आफ्नै सुरमा हिँडेकी ईशा आवाज आएतिर फर्किन् ।
    वृद्ध महिलाले अलि डराएको स्वरमा भनिन्— ‘घाम खप्नै नसकेर आलसतालस परेँ, छाता देखेर बोलाएकी हुँ, भैगो जाऊ ।’
    ईशाले पछाडि सरेर वृद्धालाई छाता ओढाउँदै भनिन्— ‘हो आमा ! छाताभित्र त म यति धेरै बेचैन छु हजुरलाई झन् कति गाह्रो भयो होला ! दम पनि बढेजस्तो छ । एक्कैछिन सडकको छेउमा बसौँ, दम केही घटेपछि कहाँ जाने हो, म पु-याइदिन्छु नि !’
    वृद्धा चुपचाप स्वाँस्वाँ गर्दै बसिन् । ईशाले छाता वृद्धातिर बढाउँदै भनिन्— ‘आमा ! हजुरले छाता समाउनुहोस्, म कपीले हम्किदिन्छु । बूढीपाकी मान्छे, यो घाममा, फेरि दमको रोगी पनि हुनुहुँदो रहेछ ।’ भन्दै वृद्धालाई हम्किन थालिन् ।
    वृद्धा धेरैबेर मौन रहिन् । आँखाबाट बरबरी आँसु चुहाउँदै भनिन्— ‘नानू ! भगवान् सायद तिमीजस्तै होलान् । कसैले देख्न नपाएको भगवान्ले कहिल्यै यी आँखाका आँसु पुछेनन् । आज तिमीलाई भेट्दा भगवान् पनि मान्छेको रूपमा हिँड्दा रहेछन् जस्तो लाग्यो । पन्ध्रबीस वर्षको अन्तरालमा आजै हो मैले दोहोरो कुरा गर्न पाएको । गाउँ छोडेर सहरमा आईकन आफ्नोपन भएको मान्छे देख्नै पाएकी थिइनँ । यी मान्छेहरू मसँग बोल्न त परै जाओस् मेरो छाँयासम्म देखे पनि पन्छिँदै हिँड्छन् । अरू ठाउँको त कुरै छोड, स्वयं भगवान्को मन्दिरमा पनि गरिब र धनीलाई हेर्ने आँखा फरक हुन्छन् । तिम्रो यति शान्त र माया लाग्दो मुहार देख्ता मैले साक्षात् भगवान् नै पो भेटेँ कि ! लागिरहेछ । साँच्ची तिमी कताबाट आयौ, कहाँ जाँदै थियौ, मैले पो अल्मल्याएँ । जाऊ, म काम नभएकी मान्छे बिस्तारै आउँला ।’
    ईशाले वृद्धाको आँखाबाट आफ्नो आँखा अर्कातिर हटाउँदै भनिन्— ‘आमा ! म खासै ठूलो कामले हिँडेकी होइनँ । हजुर अझै एकछिन थकाइ मार्नास् अनि सँगै जाउँला । हजुर पुग्नुपर्ने चाहिँ कहाँ हो नि ?’
    ‘कहाँ हुन्थ्यो र बा ! त्यही लगनखेलको पाटीमा हो । त्यहाँ पनि सुखले निदाउन दिँदैनन् । लफङ्गाहरू पहिलेपहिले जिउ लुछ्न आउँथे तर हिजोआज भएको दुईचार पैसा लुट्न आउँछन् । सत्तरी वर्ष भइसक्दा पनि अधमहरूसँग अस्तित्वका लागि भीख माग्नुपर्छ । साह्रै कष्ट छ बा ! गरिबदुःखी भएर बाँच्न ।’ वृद्धाले अन्तर्हृदयको व्यथा पोखिन् ।
    ‘पन्ध्रबीस वर्षअगाडि कहाँ हुनुहुन्थ्यो ?’ ईशाले जिज्ञासा राखिन् ।
    ‘काठमाडौँमा आउनुअगाडि आफ्नै गाउँ तेह्रथुममा थिएँ । छोराबुहारी भनाउँदाहरू मरेपछि काठमान्डू झरेँ । साठी वर्षसम्म त अरूको जुठा भाँडा माझेर पेट पालेँ । अब तैँले काम गर्न सक्तिनस् भनेर घरबाट निकालिदिएपछि कतै बस्ने ठाउँ नपाएर पाटीमा बस्न आएकी हुँ । पाटीमै आएकै दिन अर्काको भाँडा माझेर जोगाएको दुईचार पैसा पनि राति नै लुटेर लगे पापीहरूले । दुईचार दिन त भोकै अलपत्र परेँ । एक दिन तेह्रथुमकै गोतामे दाइसँग भेट भयो । मलाई यस्तो अवस्था देखेर उनले सय रुपियाँ दिएर गएका थिए । माइतीमा गएर दाजुभाउजूलाई मेरो पीडा सुनाइदिएछन् । त्यसपछि दाजुभाउजूले केही पैसा पठाउन थाल्नुभयो । त्यही पैसाले नै दिन टार्दै आएकी छु । ठाउँ फेरिए पनि कर्म फेरिएन । व्यग्रवेदनाले छाती चिरिएकै छ बा ! नरोऊँ भन्छु, जति झरे पनि आँसु निख्रिँदै निख्रिँदैन ।’
    ‘हजुरका छोराबुहारी मरे पनि नाति–नातिना त थिए होलान् नि ! कहाँ छन् त अचेल उनीहरू ?’
    ईशाको प्रश्नले यतिखेर भने वृद्धा मुसुक्क हाँसिन् र भनिन्— ‘नानी ! उनीहरू मरेका त छैनन्, तर मेरा लागि भने मरेजस्तै भएका छन् । त्यसैले पो मरिसके भनेकी हुँ त, छोराबुहारी आफूले गरेको भुल कबुल्दै पश्चात्तापको आँसु झार्न यहाँ आएका थिए रे, मलाई निकै खोजी गर्दै थिए रे पछि यतै कतै घर बनाएर बसेका छन् रे, भन्नेसम्म सुनेकी हुँ । अब त मरी भनेर खोज्न पनि छाडे होलान् । म त खोजी पनि गर्दिनँ, भेटेँ भने पनि तिनीहरूको मुख हेर्दिनँ । जाऊ नानी, अब तिमीलाई धेरै बेर अल्मल्याएँ मैले । तिम्रो मन बिथोलेर आफू हलुङ्गो हुन खोजिछु कस्ती म पनि ।’
    ईशाले वृद्धाको हात समाउँदै अति मायालु पाराले भनिन्— ‘आमा ! आफूभित्रको प्रचण्ड राप ओकल्नुस् । साँच्चै मलाई केही हतार छैन । मैले राम्ररी बुझेँ । हजुरले भीषण आँधीबेहरीको सामना गर्नुभएको छ । हजुरको जीवनमा पक्कै पनि यस्ता वेगवान् छालहरू उर्लिएका छन् । किन उर्लिए ती छालहरू ? सुनाउनुहोस् !’
    वृद्धाले ओठमा मुस्कान ल्याइन् र धमिलो आँखाहरूले ईशाको अनुहारतिर हेर्दै भनिन्— ‘कति धीर छ्यौ तिमी ! वषौँदेखि चिनेझैँ यति घनिष्ट भएकी । तिम्रो मधुर वचन काट्नै नसक्ने भएँ ।’
‘म कसरी उत्रनै नसक्ने गरी दुःखको यो महासिन्धुमा डुबेँ, त्यो पनि सुन ।’ वृद्धा अतीतका पानाहरू एकएक गरी पल्टाउँदै जान्छिन् । ईशा वृद्धाको अतीतमा एकोहोरिन्छिन् ।
‘एक दिन गाउँमा मेरो विषयमा चर्चा चल्यो । चर्चाका पात्रहरू तीर्थ र विक्रम थिए । तीर्थ मतिर हेर्दै भन्छ—“ होइन विक्रम ! यो सुन्दरी चाहिँ को हो ? लाहुरबाट आएदेखि उँधोउँभो गर्दा दुईचार पटक देखिसकेँ, यसो कर्के नजरले पनि हेर्दिन । ’’
विक्रमले हाँस्दै भने— “ए लाउरे ! आँखा चिम्लेर हिँड् । तैँले सोचेझैँ लाहुरे भनेपछि भुतुक्कै हुने खालकी छैनन् यिनी । साहू जनार्दन काकाकी छोरी पद्मा हुन् । काकालाई बाथको रोग लाग्ये र तराई फापेन भनेर यहीँ बस्न आएको चार–छ महिना भयो । ’’
“ए, पद्मा पो ! सानैमा त कालीकाली भएझैँ लाग्थ्यो, अहिले त अप्सरा नै बिर्साउने भइछे ! अब चाहिँ लाउरेले जाल फ्याँक्यो–फ्याँक्यो—’’ भन्दै तीर्थले जुँगा मुसा-यो ।
विक्रमले दुःखित स्वरमा भने—“ ए गुइँठे ! जालसालको कुरा नगर् है । तैँले धेरैको भाग्य बिगारिस्, पद्माको भाग्य नबिगार् । बरु एउटी अर्कै केटी खोजेर बिहा गर्, अनि राम्रोसँग घर गरेर खा, नभए दुःख पाऊलास् बुझिस् ? तेरो जस्तो अर्कालाई बिगार्ने धेरैले दुःख पाएका छन् । ’’
तीर्थले आश्चर्य मान्दै भन्यो–“ होइन तँ अरूमाथि त त्यति चासो देखाउँथिनस्, आज एक्कासि के भयो हँ तँलाई ? यदि पद्मालाई माया नै गर्छस् भने पनि उनलाई पाउन तैँले जुनी फेर्नुपर्छ, बुझिस् ? कल्पना गर्दा पनि सफल हुने खालको कुरो पो कल्पना गर्नुपर्छ मोरा ! तैँले पद्मालाई पाउँछु भन्ने चिताउनु भनेको त मुसाले राजकुमारी ताक्नुसरह हो । त्यो शीत चुहिने छाप्रोमा पद्मालाई ल्याएर कहाँ राख्छस् ? के खान दिन्छस् ? प्रेम अन्धो हुन्छ भनेको यही हो । आफ्नो औकात–सौकात हेर्नुछैन, मलाई सिकाउने भएको । बरु जून टिप्ने गफ मुखले गर्न छोडेर आँ मेरो जस्तै धेरै कमा न । अनि पाऊलास् एकसे एक पद्माजस्ता राम्रा केटी, बडो सिकाउने भएको मूला ! ’’भन्दै तीर्थ बाटो लाग्यो ।
मायाको जाल फ्याँक्तै युवतीलाई फँसाउने र स्वार्थ पूरा गरेपछि भुमरीमा पार्दै अलपत्र छोड्ने तीर्थको बानी सम्झँदा विक्रमलाई फनफनी पृथ्वी नै घुमेझैँ लाग्यो । आफूले पद्मालाई नपाए पनि पद्माको जीवनमा अँध्यारो फैलिएको हेर्न चाहेनन् विक्रमले । रात रहे अग्राख पलाउँछ भन्ने उखान सम्झँदै बसेको ठाउँबाट जुरुक्कै उठेर उनी हाम्रो घरमा आए । बुबा फलैँचामा बसेर चिया पिउँदै हुनुहुन्थ्यो । नमस्कार गरेर विक्रम टुसुक्क पिँडीमा बसे । बुबाले विक्रमलाई हेर्दै—“ तिमी त्रिलोचनको छोरा हौ ? यो गोधुली साँझमा यहाँसम्म किन आयौ बाबु ! आमालाई त सन्चै छ ? ठ्याक्कै बाबुको अनुहारका रहेछौ । उनको मृत्यु भयो भन्ने सुन्दा दुःख लाग्यो । तिमी किन उदास देखिन्छौ, गाथमा सन्चो छैन कि ?’’ बुबाले पहिले नै चिनेझैँ गरी विक्रमसँग धेरैवटा प्रश्न एकैपटक सोध्नुभयो ।
विक्रमले गहभरि आँसु पार्दै भने—“ काका ! मनको पीर खप्नै नसकेर यहाँ आएको हुँ । ’’    बुबाले सान्त्वना दिँदै भन्नुभयो— “कस्तो पीर प-यो, स्पष्ट भन न बाबु ! सक्ने भए सहयोग गरौँला । ’’
विक्रमले सङ्कोच मान्दै कुरा बढाए— “काका ! त्यो तीर्थले गर्दा अतालिँदै यहाँ आएको हुँ । ऊ पद्मालाई बिहे गर्छु भन्थ्यो । पद्माको विवाह अरूसँग गरिदिए पनि त्यो तीर्थसँग नगरिदिनुहोला । उसले थुप्रै केटीहरूलाई बिगारेको छ । बिहा गर्छु भनेर घर न घाटको बनाउँछ । फेरि पद्माको जिन्दगी पनि त्यस्तै अलपत्र भयो भने... ।’’
मैले बुबा र विक्रमबीचको कुरा अगेनामा बसेर सुनिरहेकी थिएँ । बुबाले हाँस्दै भन्नुभयो— “को तीर्थ बाबु ? मैले त अहिलेका केटाहरूलाई के चिन्थेँ र ? अनि उसले के भन्यो र तिमी भयग्रस्त भयौ ?’’
विक्रमले लामो श्वास फेरेर भने— “त्यो पापीले पद्मालाई जसरी भए पनि आफ्नी बनाइछाड्छु भन्थ्यो । तिर्थे पल्टने रत्ने काकाको छोरो हो । ऊ पनि पल्टनमै छ । उसको बानी राम्रो भएको भए आजसम्म घरजम गरिसक्थ्यो । फेरि पद्माको र तीर्थको नै पनि जोडी राम्रै मिल्थ्यो । ’’
बुबाले मायालु पाराले भन्नुभयो—“ तिमी पद्माको खुसी हेर्न चाहन्छौ होइन ? पद्माले भोलि दुःख पाउलिन् भन्ने पीरले निसास्सिँदै यहाँसम्म आएका छौ । पद्मालाई त्यति धेरै माया गर्ने युवकलाई म कसरी रित्तो हात पठाऊँ ! के चाहिन्छ, माग ।’’
विक्रमले हात जोड्दै भने—“ पद्मालाई राम्रो घर परिवार खोजेर बिहा गरिदिनुहोस्, भन्न खोजेको । उनले सुख पाए मलाई केही चाहिँदैन । ’’
विक्रमको कुराले मेरो आँखा रसायो । बुबा पनि एकैछिन मौन हुनुभयो । विक्रम यति भनेर आँसु पुछेदै उठेर हिँड्न लागेका थिए । बुबाले विक्रमलाई एक छिन बस्न आग्रह गर्दै भन्नुभयो—“ बाबु ! तिमीले आफ्ना लागि पद्माको हात मागेको भए हुन्थ्यो नि !’’
विक्रमले अप्ठ्यारो मान्दै भने—“ उनी सुखसयलमा हुर्केकी मान्छे । उनले दुःख पाउलिन् भन्ने पीर लागेको छ, म धनबिनाको मान्छे, कसरी सुख दिन सकूँला र भन्ने लागेकोले मैले आफ्नो लागि नमागेको हुँ । म गएँ, नसोधीकन आएको, छोरो कहाँ गयो भनेर आमाले पीर मान्नुहुन्छ ।’’
बुबाले प्रसन्न स्वरमा भन्नुभयो— “बाबु ! पद्माले धनको लालचा गर्दिन । तिमीलाई छोडेर पद्माका लागि अरू केटो खोज्नु भनेको सूर्यको अगाडि बत्ती खोज्नुसरह हो । जाऊ, घरसल्लाह गरेर आऊ, पद्मा तिम्रै भइन् । तिम्रो घरमा कुरो मिलायौ भने म विवाहको दिन तोक्न आउँला । ’’
बुबाको कुराले विक्रमको हराएको मुस्कान फर्कियो । उनी हर्षका आँसु झार्दै हाम्रो घरबाट निस्के ।
मेरो र विक्रमको विवाह हुँदै छ भन्ने सुनेपछि तिर्थे ईष्र्याले जल्यो । देख्नमा राम्रो, हट्टाकट्टा जवान, धनले सम्पन्न, भारतको देहरादुन पल्टनले पत्याएको मान्छेलाई जनार्दनले वास्ता गरेन र एउटा गोठालोलाई छोरी दियो भनेर तीर्थे हाम्रो डाहाडले भुतुक्क हुँदै प्रतिशोध लिन खोज्थ्यो ।
हाम्रो विवाह धुमधामका साथ सम्पन्न भयो । यता घरमा पनि हाम्रा दिनहरू हर्षाल्लासमै बित्दै गए । उता बुबाआमा पनि विक्रमजस्तो सुशील ज्वाइँ र ठूलीजस्ती मायालु सम्धिनी पाएकोमा ज्यादै खुसी हुनुहुन्थ्यो । समय बाँधिएन दुई वर्षपछि मैले विनयलाई जन्माएँ । खुसीमाथि अर्को खुसी थपियो । दुई महिनाको छुट्टीमा घर फर्केको तिर्थेले हाम्रो खुसी सहन सकेन । एक दिन गोठालो गएको बेलामा विक्रमलाई तिर्थेले ठूलो भीरबाट धकेलेर मा-यो । उनी मरेपछि केही समयसम्म त मैले आफूलाई संहाल्न सकिनँ । छोरो विनयले तातातुतु गर्न थालेपछि बिस्तारै आफूलाई संहाल्न थालेँ । विक्रमको सम्झनामा झर्ने आँसु नसुकीकन विनयको विवाहको कुरा चल्यो ।’
ईशाले बीचमै कुरा काट्तै भनिन्— ‘हजूरले किन पुनर्विवाह गर्नुभएन ? त्यो अधर्मी तीर्थलाई जेल सजाय भयो या भएन ?’
पद्माले आँखामा उर्लेको आँसु पुछ्दै भनिन्— ‘नानी ! मलाई बाँच्न त विक्रमको मायालु सम्झना नै काफी थियो । स्वयं मेरी सासूले बीस वर्षे बैँसलाई खेर नफाले, बुढेसकालमा गाह्रो हुन्छ भन्नुभएको थियो । आमाबुबा र छिमेकीहरू पनि त्यसै भन्थे । विक्रम मरे पनि सम्झनामा उनी जिउँदै थिए । म उनको जिउँदो सम्झना कसरी फ्याँक्न सक्थेँ र ? त्यसैले पुनर्विवाह गरिनँ । त्यो दुष्ट तिर्थे बीस वर्षको लागि कैदमा प-यो । विनयको विवाहपछि म झनै खण्डित हुन पुगेँ । मेरो पीडा बिसाउने चौतारीहरू सासू र आमाबाबु नै थिए । मानिस सधैँ बाँचिरहने त होइन, ती सबैको एकएक गरी पालो आयो, आफ्नो बाटो लागे । उनीहरूलाई एकएक गरी गुमाएकीले म नितान्त एक्ली भएँ । छोराबुहारी स्कुल पढाउन जान्थे । म घरको र बाहिरको काम गर्दागर्दै टुसुक्क बस्न पाउँदिनथेँ । उनीहरूको भातभान्छा र चियानास्ताको जिम्मा मेरै टाउकोमा थियो । सकीनसकी दिन घिसारेकै थिएँ । विनयले छोरो पाएपछि ममाथि नातिको बोझ पनि थपियो । झिसमिसमै उठेर बाहिरको काम गर्थें । दिउँसो नाति हेर्दै घरको काम गर्थें । एक दिन समात्तासमात्तै अचानक नाति मेरो हातबाट फुत्कियो । उसको कलिलो टाउकोमा सानो टुटुल्को उठ्यो । त्यो टुटुल्को देखेपछि छोराबुहारीले तथानाम गरेर मेरो सातो खाउँलाझैँ गरे । बुहारी चन्दाले घचेट्दै आँगनमा बजारेर भनी— “जाबो एउटा नातिको स्याहार गर्न नसक्ने हातलाई अगुल्टाले पोल्नुपर्ने हो । लाजसरम नभएपछि कसको के लाग्छ ? टन्न घिच्न दिएकै छ क्यारे !’’
विनयले कुरा थप्यो— “तिमीलाई देख्ता पनि उदेक लाग्छ । स्कुलमा कराउँदा कराउँदै थाकेर घर आयो । घरमा पनि शान्ति छैन । अहिले यो छोराको हात खुट्टा भाँचिएको भए, टाउको फुटेको भए के हुन्थ्यो हँ ?’’
मैले ती छुद्र वचनहरू सहन नसकेर भनेँ—“ हेर मलाई पनि नातिको माया लाग्छ, के मैले जानेर लडाएकी हुँला त ?’’
“थाहा छ, थाहा छ तिमी को हौ भन्ने ! तिम्रो कुचरित्रको कारण मलाई टुहुरो हुनुप-यो । तीर्थ काकाले जेलबाट आएपछि मलाई सबै कुरा राम्ररी बुझाएर भनिसके । आमा भनेर पो चुप लागेको थिएँ । आज मुख खोल्न बाध्य गरायौ ।’
वृद्धा पद्माले हिक्कहिक्क गर्दै रुँदै भनिन्— ‘नानी ! विनयले हानेको त्यो वज्रको चोटले म अहिले पनि रन्थनिएकै छु । अरू जे भनेको भए पनि सहन्थेँ । त्यो पापीले त मेरो आदर्शमा खोट देखायो । मैले यति मात्र भनेँ— हेर् पाजी ! सत्यलाई कसैले पनि भस्म गराउन सक्तैन । सत्य चन्द्रसूर्यलाई थाहा छ । कुनै दिन सत्य थाहा पाइस् भने माफ माग्न नआउनू । यो सारा सम्पत्ति मेरो दाइजो र पेवा हो तर पनि तँलाई छोडेर जाँदै छु । हो नानी ! त्यसपछि म काठमाडौँ चिप्लिएँ । काठमाडौँ आएपछिका कुरा त तिमीलाई भनिहालेँ । नानी ! वास्तवमै आज मन चङ्गाजस्तो हलुङ्गो भयो । भनिहालेँ, तिमीसँगको भेट भगवान्सँगको भेटझैँ लागिरहेछ । तिमी रोयौ ? नरोऊ नानू ! शीतल पनि भयो म बाटो लाग्छु । अनुहार देखाउन कहिलेकाहीँ बाटो हिँड्दा पाटीमा आऊ है, मलाई धेरै राम्रो लाग्छ तिमीलाई भेट्दा ।’
ईशाले आफ्नो आँखा ओभानो पार्दै भनिन्— ‘आमा ! तपाईंले मलाई थुप्रैपल्ट भगवान् भन्नुभयो । मलाई भने भगवान्प्रति घृणा लाग्छ । यदि साँच्चै भगवान्ले भलो गर्ने भए किन सधैँ तपाईंजस्ता निर्धाको मात्र घाँटी निमोठ्छ भगवान् ? तपाईंको छाती भतभती पोल्दा कहिले मलम बन्यो भगवान् ?’
ईशालाई हेरेर वृद्धा पद्मा अति मीठो गरी हाँसिन् र भनिन्— ‘नानी ! विक्रमसँगको क्षणिक भेटमा मैले सात जन्मको खुसी पाएँ । त्यो विक्रम मलाई भगवान्ले दियो । आज अति गाह्रो हुँदा तिमीले जस्तै मैले पनि भगवान्लाई सरापिरहेकी थिएँ । तिमी टुप्लुक्क देखा प-यौ र सारा पीर पखाल्यौ । म मानौँ स्वर्ग पाएजस्तै भएँ । मभित्र भएको विश्वासको सूर्यलाई  भगवान्ले निभ्न दिएन । अनि कसरी भगवान् छैन भनौँ ?’
ईशालाई तर्कवितर्क गरेर वृद्धा पद्माको आस्थालाई च्यात्न मन लागेन । पद्माले लिन नमाने पनि आफूसँग भएको केही पैसा छोडेर ईशा घर फर्किन् । यता ईशालाई पद्माको अनौठो सम्झनाले सताइरह्यो । ईशाको सधैँको हसिँलो अनुहारमा एक किसिमको गम्भीरता छाएको निकै दिनदेखि आमाले ठम्याएकी थिइन् । हुर्केबढेकी छोरी कसैलाई मन पराउन थालिछ कि अथवा उसले मन पराएको केटाले अर्कैलाई मन पराएर पो हो कि भनेर सोधिहेरिन् पनि । तर ईशा ‘त्यस्तो केही छैन’ भनेर चुप लाग्थिन् ।
आखिर आफूलाई थाम्न नसकेर पद्मासँग भेट भएको केही दिनपछि ईशा लगनखेलको पाटीमा पुगेर पद्मा आमा कहाँ बस्नुहुन्छ ? भनेर सोधिन् । त्यहीँ बसेका एक वृद्धले पैसा ईशातिर बढाउँदै भने— ‘तपाईं ईशा होइन ?’ ईशाले हो भनेर टाउको हल्लाइन् ।
वृद्धले दर्दनाक स्वरमा भने— ‘पद्मा बजै अस्ति बित्नुभयो । तपाईंको विवाहमा उपहार दिन छुट्याएको रे यो पैसा, लिनुस् । पद्मा बजैले मर्ने बेलामा दिनुभएको हो ।’ यथार्थ बुझेपछि ईशालाई मुटु फुटेझैँ भयो । पद्मा आमाको सम्झनामा धेरै आँसु झ-यो । विवाहका लागि छुट्याएको पाँच रुपैयाँ उपहार लिएर ईशा फर्किइन् ।
विवाहको कुरो चल्यो, ईशाले कुनै नाइँनास्ति गरिनन् । एउटी कुलीन घरकी छोरीको विवाह जसरी हुनुपर्ने हो, त्यसरी नै भयो । छोरीका मनको पीडा प्रेमको होइन भन्ने त थाहा भयो तर केको पीडा हो भन्ने आमाबाबुले अझै बुझेनन् । आफ्नो विवाहको दिन सबैले दिएको उपहारभन्दा पद्मा आमाले दिएको पचास रुपैयाँको नोट ब्यागबाट झिकेर हेरिन् । त्यही पाँच रुपियाँ नै बहुमूल्य उपहार लाग्यो ईशालाई । विवाहपछि माइतमा बस्न आउँदासमेत छोरीको अनुहार उस्तै दुःखमा डुबेकै देखेर । अब भने बाबुआमालाई खपिनसक्नु भयो । निकै केरकार गरेर ईशालाई आमाले दुःखिद हुनुको कारण सोधिन् । ईशाले पनि ‘सुख बाँड्दा बढ्छ र दुःख बाँड्दा घट्छ’ भन्ने लागेर नै होला पद्मा बज्यैसँग भेट भएदेखिको सबै कुरा सुनाइन् । छोरीको कुराले ईशाकी आमा मनमनै भक्कानिँन् । बेलुकी  त्यही कुरो जस्ताकोतस्तै लाग्नेलाई सुनाइन् । त्यसबेला विनय आमाप्रति गरेको अत्याचारपूर्ण व्यवहार सम्झेर अबोध बालकझैँ डाँको छोडरै रोए । ईशाले आफ्नो साथमा राखेको बहुमूल्य उपहार पुनः ओल्टाईपल्टाई हेरिन्, त्यही पचास रुपैयाँ... ।

No comments:

Post a Comment